भोजपुर- भोजपुरको षडानन्द नगरपालिका ९ किमालुङ्गका निर्माण व्यावसायी विरु तमाङ्गलाई आफ्नो निर्माण कम्पनीको कर चुक्ताकोलागि असोजको पहिलो साता जिल्ला सदरमुकाम जानुपर्ने भयो । बर्षातको समय भएकोले उनले भोजपुर जानकोलागि वाटोको अवस्था वारेमा सोधपुछ गरे । उनको घरवाट सदरमुकाम पुग्न जम्मा २५ किलोमिटर लामो सिधावाटो मोटरसाईकलमा जान असम्भव भएको बुझेपछि किमालुङ्गवाट दिङ्गला बजार – संखुवासभाको तुम्लींगटार – धनकुटाको लेगुवा हुँदै १२५ किलोमिटर लामोवाटो घुमेर कष्टपूर्ण यात्रा गर्नुपर्यो । एकै दिनमा समयमै सकिने कामकोलागि ३ दिनको समय खर्चिनु परेको तमाङ्गको गुनासो छ ।

निर्माण व्यावसायी विरु तमाङ्ग प्रतिनिधि पात्रमात्र हुन । भोजपुर सदरमुकाम र उत्तरी भेग जोड्ने भोजपुर दिङ्ला सडकखण्ड बर्षेनि बिग्रिँदा यात्रुले चरम सास्ती व्यहोर्नुपर्छ । वर्षायाम सुरु भएसँगै दिङ्ला क्षेत्र, उत्तरी साल्पासिलिछो क्षेत्रका बासिन्दा संखुवासभाको तुम्लीङ्गटारदेखि धनकुटाको लेगुवाहुँदै दुई जिल्ला घुमेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

त्यस्तै दक्षिणी भेगका स्थानीय सदरमुकाम आउन र अरुण तरेर धरान विराटनगर जान समस्या परेको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामाग्री ढुवानीमा समस्या भएको व्यावसायी सचिन उदासले बताए । वर्षाले जताततै सडक बिग्रिएपछि ढुवानीका सवारीसाधन बाटोमै फस्ने र ग्राहकको माग अनुसार पसलमा सामान पु¥याउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ ।

चैत्र देखिकोे निरन्तरको वर्षाले भोजपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाले जिल्ला भित्रका अधिकांस सडकखण्डमा हिलाम्मे हुनुका साथै पहिरो खसेपछि यातायातका साधन प्रायः ठप्प भएका हुन् । वर्षाले भोजपुर-दिङ्ला,दिङ्ला-कुलुंग , भोजपुर-घोरेटार, दिंला-झ्याउँपोखरी, दिंला-नेपालेडाँडा, कात्तिकेघाट-दोभाने, आमचोक राङ्चास्थित बालंखा–रानीटार, घोडेटार–मचुवाटार सडकखण्ड लगायतका दर्जनौं मुख्य तथा शाखा ग्रामीण सडक बिग्रिएका छन् ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको उद्योग वाणिज्य संघ दिङ्गका अध्यक्ष रमेश श्रेष्ठले बताए । वर्षाले जताततै सडक बिग्रिएपछि ढुवानीका सवारीसाधन बाटोमै फस्ने र ग्राहकको माग अनुसार पसलमा सामान पु¥याउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य वढाउन् व्यावसायीहरु वाध्यभएको उनको भनाई छ ।

घोरेटार, दिङला बजार क्षेत्रमा सामान ढुवानी गर्न समस्या थपिएको व्यापारीहरुले वताएकाछन् । ग्रामीण सडकको अवरुद्ध भएपछि वृद्ध र विरामीलाई बढी सास्ती पुग्ने गर्छ । सदरमुकामदेखि तीनतलेसम्म १३ किलोमिटर सडकखण्ड र षडानन्द नगरपालिकाको बैदारभन्ज्याङ हुँदै दिङ्ला बजारसम्मकोे सडकखण्डमा हिलाम्मे र खाल्डा खुल्डी बनेपछि सवारी साधन चल्ने अवस्था छैन । ‘बिरामीलाई अस्पताल पु¥याउनै गाह्रो छ । सडकको दुर्दशाले अकालमै बिरामीको ज्यान जाने स्थिति छ’, षडानन्द नगरपालिका ६ का स्थानीय सुमन खँडकाले भने ।

तपाईको प्रतिक्रिया