काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्माओली पार्टीमा उठेका विषयहरुबारे बैठक राखेर समाधान खोज्न अझै तयार नभएपछि नेकपाको विवादले कस्तो रुप लिने हो भन्ने अनिश्चित बनेको छ ।

५ दिनपछि बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्वादमा ओली पार्टी कमिटीको बैठक राख्न सहमत नभएका हुन् । श्रोतका अनुसार बिहीबारको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्ति के हो ? भनेर प्रश्न गरेका थिए । ‘तपाईले राजीनामा मागियो भनेर बेप्रशांगिक कुरा गर्नुभएछ बुधबार । तर अहिले कसैले राजीनामा नै मागेको छैन’, ओलीसँगको संवादपछि प्रचण्डले आफु निकट एक स्थायी समिति सदस्यसँग बताएका छन् ।

‘स्थायी समिति बैठकका निर्णय नै कार्यन्वयन गरौं भनेर मैले बारम्बार भन्दै आएको छु । साथीहरुको भनाई पनि त्यही छ । तर तपाईले त राजीनामा मागियो भनेर जुन प्रचार गर्नुभएछ त्यो ठिक होइन’, प्रचण्डको भनाई थियो । प्रचण्डले पुनः स्थायी समितिको निर्णय कार्यन्वयन गरे समस्या समाधान हुने भन्दै यस्ता बकम्फुसे कुरा नगर्न ओलीको ध्यानाकर्षण समेत गराएका थिए ।

‘यस्ता बकम्फुसे कुरा नगर्नुस् । यदि तपाईंको कसैले राजीनामा मागे भनेपनि पार्टी कमिटीको बैठकमा छलफल गरौं, त्यही राखेर त्यही छलफल गर्दै अगाडि बढौं’, प्रचण्डको भनाई थियो । त्यसैगरी एक नम्बर प्रदेशका नेताहरुलाई जुम भेलामा ओलीले जवजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि भेटमा प्रचण्डले आपत्ति जनाएका थिए ।

‘एक नम्बर प्रदेशको जो भेला गर्नुभयो, त्यो पनि तपाइको पार्टी एकता विरोधी काम भयो । पार्टी एकता घोषणा गर्दा हामीले जे कार्यक्रम तय गरेका छौं,त्यसविरुद्ध भयो । यसले राम्रो गर्दैन’, प्रचण्डले ओलीको ध्यानाकर्षण गराएका थिए । प्रचण्डले आफ्ना कुरा राखेपनि ओलीले भने कुनै जवाफ नदिएको ओलीनिकट श्रोतले जनाएको छ ।

‘कार्यकारी अध्यक्षले आफुलाई मनमा लागेको कुरा प्रधानमन्त्री समेत रहनुभएका ओलीसँग राख्नुभयो । उहाँको जोड बैठक राख्न नै थियो । तर प्रधानमन्त्रीज्युले कुनै जवाफ दिनु भएन’, ओली निकट स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया