- एस.वी.बान्तावा रुङ्माहाङ्ग

भाषाको सम्बन्धमा कुरा गर्दा, भाषा अभिव्यक्ति र बुझाईको माध्यम हो । विचार आदान–प्रदान गर्ने माध्यम हो । विचार विनिमयको माध्यम हो । यस्तै यस्तै तरिकाले भाषाविद्हरुले भाषाको परिभाषा दिएको पाईन्छ । सामान्यतः यहि हो, भाषाको परिभाषा । यो अपुरो परिभाषा हो । यो सङ्कुचित परिभाषा मात्र हो ।

भाषाको वास्तविक परिभाषा त जीवनजाति, जनजाति, समुदाय, धर्म, संस्कृतिसँग जोडिएको हुन्छ । यसर्थमा भाषा विचार विनिमयको माध्यम अलिकति हो भने धेरै चाहिँ भाषा सम्बन्धित जाति, जनजाति, समुदायको पहिचान हो ।
यहाँ भाषाको अर्थहरुले कसैलाई अलमलमा पनि खोज्दछ, तर कुरा स्पष्ट नै छ । कुनै दुविधामा पर्नुपर्ने जरुरी छैन । उदाहरणको लागि एक जना शेर्पा जातिले बोल्ने शेर्पा भाषा भनेको अर्को चिनारी हो । आत्मा गौरब हो । एक अर्कामा बोल्दा आत्मसम्मान पैदा हुने भाषा हो । आफ्नोपन महसुस गराउने आफ्नो भाषा हो । उहि मानिसले कोरियन, हिन्दी वा अङ्ग्रेजी भाषा कसैसँग बोल्दा विनिमयको माध्यम मात्र हो । यसरी भाषाको अर्थमा दुई परिभाषाहरु मध्ये धेरै नै फरक छ ।

यस्तो परिपे्रक्ष्यमा आफ्नो गहकिलो पहिचान बोकेको मातृ वा पितृभाषालाई लोप गराउने दुष प्रयत्न गरेर अन्य भाषाप्रति लालायित हुनु हामी नेपाली जाति, जनजाति, भाषाभाषी, समुदायको महान कमजोरी देखिएको छ । भाषा बोलाई र बुझाईको माध्यम मात्र होईन । बरु भाषा भनेको त संसारमा आफुलाई चिनाउने शसक्त माध्यम हो । भाषा जीवन हो ।

आफ्नो भुमिका सुगन्ध हो, पहिचान हो । प्राण हो । आफ्नो भाषा विना कुनै पनि जातिको जीवन निरर्थक हुन्छ । उ कुनै पनि ठाउँमा अपरिचित हुन्छ । त्यसकारण, मातृभाषा वा पितृभाषा विनाको जीवन सार्थक हुन सकेको हुदैन । बाँच्नुको कुनै अर्थ हुदैन । जब भाषा लोप हुन्छ, त्यो भाषी, जातिको समुदायमा कुनै चिनारी रहँदैन । अधिकार माग गर्ने आधार हुदैन । त्यसो भएकोले भाषाको महत्व धेरै छ ।
भाषासँग धर्म, संस्कृति स्वभावैले जोडिएको हुन्छ । यिनीहरु पृथक रहन सक्दैनन् । सँस्कारमा बोलेको हुन्छ । धर्ममा भाषा बोलेको हुन्छ । सँस्कृतिमा भाषा नभई हुदैन ।

यसकारण एकजना व्यक्तिले आफ्नो सनातन धर्म छाड्नु वित्तिक्कै उसको सर्वस्व गुम्दछ । यसरी भाषाको महत्वलाई गम्भिर रुपले मनन गर्दै हरेक नेपाली जाति, जनजाति, वर्ग, समुदायले भाषाको प्रयोग, विकास, विस्तार गर्नु नितान्त जरुरी छ । आ–आफ्नो मौलिक भाषालाई संरक्षण सम्बद्र्धन गर्नु एकअर्का पुस्ताको बढि जिम्मेवारी बढ्दै गएको छ । यसखाले गम्भिर कुरालाई चानचुने ठान्नु ठुलो भुल हुनेछ । हुन त हामी नेपालीको एउटा विवशता छ । अहिलेको विश्वव्यापीकरणको विस्तार र विकासको कारण राजनीतिक, आर्थिक रुपले सम्पन्न राष्ट्रहरुले नेपाल जस्तो प्राकृतिक स्रोत साधनमा ज्यादै धनी तर आर्थिक हिसाबले गरिब राष्ट्रलाई प्रभाव पारिरहेको नै छ ।

उद्योग, कलकारखाना, सञ्चालन गर्ने धनी राष्ट्रहरुको भाषाबाट उपभोग्य सामान देखि विद्युतीय प्राविधिक सामाग्रीहरु छापिएका हुन्छन् । नामाकरण हुन्छन् । विज्ञान र प्रविधिको विकासले नेपालका साना समुदायका तर महत्वका भाषाहरु झन साँघुरिदै गईरहेको तितो यथार्थ छ । यसो भईरहेछ भन्दैमा हामीले आफ्नो जिवन भन्दा प्यारो भाषा लोप हुन दिनुहुदैन ।
यस्तो परिप्रेक्ष्यमा विज्ञानले उत्पादन गरेको सेवा र सुविधा उपभोग नगर्ने भन्ने होईन । तर ती चिज साधन मात्र हुन्, साध्य होईन । यस्तो कुरा बुझेर, मनन गरेर आफुले आफुलाई कदापी भुल्नु हुदैन । विज्ञान र प्रविधिको उपभोग गर्ने तर आफुलाई पनि नविर्सने, आफुले आफुलाई हत्या नगर्ने, नहराउने हो । किनभने विज्ञान र प्रविधि भनेको आवश्यकता र उपभोग मात्र हो ।

एक पुस्तासम्म प्रयोगमा आउला त्यसपछि कोर्स परिवर्तन हुन सक्दछ । तर भाषा सँस्कृति भनेको त परिवर्तनशिल हुन सक्दैन । विज्ञान र प्रविधि क्षणिक आवश्यकता मात्र हो । आफ्नो पहिचान भनेको त युग–युगसम्म अमर अजर रहने ज्यादै महत्वपूर्ण चिज हो । पूर्खाहरुको नासो हो । त्यसकारण हाम्रो भाषा जस्तो पहिचान ईतिहास देखि प्रयोग भयो ।, वर्तमानमा गतिशिल र प्रभावकारी बनाउनु पर्दछ । भविष्यमा अझ मजबुत र व्यवस्थित बनाउँदै सम्पन्न बनाउनु हामी र हाम्रा भावी सन्ततिहरुको ठुलो कर्तव्य हो ।
जसले आफ्नो पहिचानको माया गर्छ, उसले आफ्नो भाषालाई महत्व दिन्छ । उसले आफ्नो मातृभुमिको लागि योगदान दिन तत्पर हुन्छ । उसले मात्र आफ्नो सँस्कृति, सँस्कार, धर्मप्रति आफुलाई जिम्मेवार ठान्दछ । कर्तव्य पुरा गरी आफु र आफ्नो समुदाय, जातिलाई शक्ति सम्पन्न बनाउन सक्दछ । उसले मात्र आत्मसम्मानमा बाँच्न सिक्दछ । आफुलाई आत्म गौरब महसुस गर्दछ । एकल धार्मिक, भाषिक, आर्थिक, राजनीतिक साम्राज्यबादी निरङ्कुश चिन्तनलाई तोड्न सक्दछ ।

त्यसो भएकाले अहिलेको युवा पिँढीले पराधिनतामा जीउन सिक्नु पर्दछ । रमाउन सिक्नुपर्दछ । देशलाई माया गर्न सिक्नुपर्दछ । पूर्खाहरुको बलिदानपूर्ण योगदानलाई आत्मसाथ गरेर ईट्टा थप्ने काम गर्नु पर्दछ । हामी विचका आ–आफ्ना पहिचानहरुलाई पूर्खाहरुले निर्माण गरि निरन्तर रुपमा बचाएर यहाँसम्म ल्याई पु¥याएका छन् । यस विषयमा वर्तमान युवापुस्ताहरुले बढि गम्भिरतापूर्वक लागिपर्नु पर्ने जरुरी छ ।

तपाईको प्रतिक्रिया