भोजपुर- भोजपुरको टेम्केमैयुङ गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलेसोमबार एक औपचारिक कार्यक्रमका विच गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरेका हुन् ।गाउँपालिका, प्रदेश सरकार, संघिय सरकार रविद्युत् प्राधिकरणको आर्थिक लगानीमा गाउँपालिका भरी विद्युत् विस्तार सम्पन्न भएपछि गाँउपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाको ६ करोड ६० लाख, नेपाल विद्युत् प्राधिकरणको ६ करोड २० लाख, संघिय सरकारको ५० लाख र प्रदेश सरकारको ५० लाख लागतमा गाउँपालिका भरी विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । गाउँपालिकाभर तीन हजार ७ सय ३८ घरपरिवार रहेका छन् ।

मुख्यमन्त्री राईले भोजपुरको टेम्केडाँडामा ‘टेम्के भ्यू टावर’ को पनि शिलान्यास गरेकाछन् । मुख्यमन्त्री राईले सोमबार नै एक कार्यक्रमका बीच टावरको शिलान्यास गरेकाहुन्। तीन हजार १सय मिटर उचाइ रहेको सो डाँडामा प्रदेश सरकारको १३ करोड ६२ लाख ८१ हजार रुपैंया लागतमा भ्यू टावर निर्माण गर्न लागिएको हो ।

कुन्सालिङ कन्ट्रसन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले किराँत राईहरुको सस्कृतिको उजागर गर्ने तबरबाट टावरको निर्माण गरिने जानकारी दिनुभयो । यसले भोजपुरको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने समेत बताए ।

मुख्यमन्त्री राईले भने,‘‘यो टावर किराँत राईहरुको सस्कृति झल्कने गरी चिण्डो आकारमा निर्माण हुनेछ, यो प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको पहिलो टावर हो, यो विशेष महत्वका साथ निर्माण गरिने छ ।’’ टावर २० मिटर अग्लो रहने पनि राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया