भोजपुर,२१ मंसिर– भोजपुरको षडानन्द नगरपालिका ३, खार्ताम्छाका राम बहादुर राईको निधन भएको छ । राईलाई उद्धार गरि उपचार र हेरचाहको लागि मानवसेवा आश्रम विराटनगर लाने क्रममा शनिवार राती धनकुटामा मृत्यु भएको मानव सेवा आश्रम विराटनगरका नवराज केसीले जानकारी दिए ।

एक महिना अघि देखि विरामी परेका राईको दयनिय तस्विर स्थानिय खार्ताम्छा स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी लक्ष्मी राईले सामाजिक सञ्जालमा पोष्ट गरिदिएपछि देश विदेशमा तस्वीरको वारेमा चर्चा परिचर्चा भएको थियो । राईलाई सामाजिक सञ्जालमा भाईरल भएपछि प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको नेतृत्वमा, मानव सेवा आश्रमका प्रतिनिधि सहित शनिवार विहान उद्धार गरिएकोमा राती उनको मृत्यु भएको हो । राईलाई गाह्रो महशुुस भएपछि धनकुटा जिल्ला अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो।

राईको शवलाई धनकुटा अस्पतालमा राखिएको छ । स्थानिय निकायसँग समन्वय गरेर यनको शवको अन्त्योष्ठी गरिने मानव सेवा आश्रम विराटनगरले जनाएको छ । राईका छोरालाई भने मानव सेवा आश्रममा लगिएको आश्रमले जनाएको छ ।

तपाईको प्रतिक्रिया