विराटनगर,२ माघ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् ।

‘विवाहको मिति लगभग तय भएको छ’ उनले भने ‘दुलहीको नाम अहिलेनै मिडियामा नखोलौं, पछि एकै पटक भन्दा सरप्राइज हुन्छ नि ।’ काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए ।

पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएनन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए ।

उनले प्रदेश राजधानीको टुङगो लगाएका छन् । तर नाम तोक्न ढिलो भएपछि मुख्यमन्त्री राईले केही दिन अघि विवाहपछि मात्रै नाम तोकिने बताएका थिए । अनलाइनखबरसँगको सम्पर्कमा मुख्यमन्त्री राईले भनेका थिए ‘सायद अब नाम भन्दा चाडो मेरो विवाह हुने सम्भावना एकदमै नजिक छ ।’

आउँदो अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्ने पनि उनले बताए । ‘त्यो नाम टुङ्ग्याउने बेला भन्दा अगाडि नै मेरो विवाह सम्पन्न भइसकेको हुनेछ’ मुख्यमन्त्री राईले भने ।

दुई तिहाइ बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेका राई नेकपा विभाजन पछि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावमा छलफलका लागि ७ माघमा प्रदेश १ को हिउँदे अधिवेशन आह्वान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया