भोजपुर- कात्तिक २७ गतेदिखि सिन्धुपाल्चोकबाट हराएका भोजपुरका पुजन राईको खोजीका लागि उनका बाबु आमाले सहयोगको याचना गरेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीय पुजन कात्तिक २७ गतेदेखि सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ।

पुजन १० महिनादेखि नेत्र सहायकको रूपमा कार्यरत थिए। कात्तिक २७ गते राति साढे ८ बजे आफ्नी दिदीको फोन उठाएका पुजनले त्यसपछि फोन नउठाएको उनका बाबु लालकुमार राईले बताए। ‘मंसिर २ गतेदेखि निरन्तर खोजी गर्दा समेत छोराको अवस्थाबारे जानकारी पाएका छैनौं’, पत्रकार सम्मेलनमा बुवा लालकुमारले भने।

प्रहरी र प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीसँग बुझ्दा पुजनले आफ्ना साथी भेट्न गएको तर त्यसपछि नफर्किएको जानकारी पाएको परिवारले जनाएको छ। घटनाका शंकास्पद व्यक्तिहरूलाई किटानी जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको परिवारको गुनासो छ।खोजीका लागि बाह्रबिसे नगरपालिकाका मेयर नेम फेन्जु शेर्पाले समेत बेवास्ता गरेको परिवारको भनाइ छ।

पुजनसँगै उनले प्रयोग गर्ने गरेको को २१ प ५७९९ नम्बरको चकलेटी रंगको बुलेट मोटरसाइकल समेत भेटिएको छैन। पुजनको खोजीका लागि पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रहरी कार्यालय चौतारामा निवेदन समेत दिएको छ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया