काठमाडौं- नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘तानाशाही’ भएको आरोप लगाइरहेका बेला अध्यक्ष ओली थप शक्तिशाली हुने देखिएको छ ।

नेपाल पक्षको सहभागिताविनै शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको एजेन्डामार्फत अध्यक्ष ओलीलाई अरु अधिकार थपेर शक्तिशाली बनाएको हो ।

ओली पक्षको दाबी अनुसार १२ औं बैठकले अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकको एजेण्डा पारित गरेसँगै देशभरका समानुपातिक सांसद हटाउन र राख्न सक्ने अधिकार अव दलका नेतासमेत रहेका ओलीमा पुगेको छ ।

‘यो व्यवस्थापछि संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ,’ एक नेताले भने, ‘अव अराजकता मच्चाउनेहरु तत्काल कारवाहीमा पर्छन् । जिम्मेवारी पनि खोसिन्छ ।’

बैठकपछि ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवाली पनि सोही कुराको पुष्टि गरे । उनले भने, ‘अव पार्टीलाई अनुशासित, जन आधारित,चुस्त र राष्ट्रिय राजनीतिलाई अझ सशक्त गुडाउन सक्ने संकल्प गरेको छ ।’

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई नै दिइएको छ । जसअनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्ष ओलीमा निहित गरिएको छ ।

यसका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि अध्यक्ष ओलीलाई दिइएको छ । शनिबारकै बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।

नेता नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णयपछि कसरी अघि बढ्ने भन्ने विषयमा माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । नेता ठाकुर गैरेले अहिले कुनै निर्णय भइनसकेको भन्दै आन्तरिक रुपमा छलफलमै रहेको प्रतिक्रिया दिए ।

 

तपाईको प्रतिक्रिया