काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले उपाधि थ्री नेसन्स कप जितेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलको नतिजामा पराजित गर्‍यो ।

पछिल्ला सात खेलमा गोल गर्न असफल रहेको नेपाली राष्ट्रिय टोलीका लागि संजोग राईले १८ महिनापछि गोल गरेका थिए । कर्नरमार्फत रिबाउन्डमा आएको बललाई १८औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै संजोगले नेपाललाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा विशाल राईले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । उनले संजोग राईको पासमार्फत् पेनाल्टी एरिया भित्रबाट बंगलादेशका गोलकिपरलाई बिट गर्दै शानदार गोल गरेका थिए ।

दोस्रो हाफको सुरुआतदेखि नै खेलमा फर्किन निरन्तर प्रयासरत बंगलादेशका लागि सब्स्टिच्युट खेलाडी महबुबुर रहमानले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।कर्नरमार्फत आएको क्रसलाई रहमानले हेडरमार्फत जाली चुमाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

प्रतियोगिताको च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर तथा उपविजेता बंगलादेशले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

विश्व कप तथा एएफसी एसियन कपको छनोटका खेलहरू स्थगित भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले थ्री नेसन्स कपको आयोजना गरेको थियो । नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणको फाइनलमा नेपालले बंगलादेशलाई नै ४-२ गोलको नतिजामा पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।

त्यसपछि १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपाल बंगलादेशसँग नै १-० को नतिजामा पराजित भएको थियो । १९९९ को फाइनलमा खेलाडीको रूपमा पराजित भएका बाल गोपाल महर्जनले प्रशिक्षकको रूपमा त्यो हारको बदला लिएका छन् ।

सन् २००५ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेको बंगलादेश पुनस् एक पटक उपविजेतामा सीमित भएको छ ।

 

तपाईको प्रतिक्रिया