भोजपुरको सुदुर उत्तरी विकट गाउँपालिका हो साल्पासिलिछो गाउँपालिका । यो पािलका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिले भरिपूर्ण छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने प्रचुर सम्भावना रहेको पालिका हो । ६ ओटा वडा रहेको यस गाउँपालिका १ सय ९३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने १३ हजार १ सय ११ मानिस यहाँ वसोवास गर्दछन् । विदुशी योगमाया न्यौपानेको तपोभुमि गौडेनि देखि जिल्लाकै सवैभन्दा (४,१५३) मिटर अग्लो सिलिचुंग टाकुरा समेत यसै गाउँपालिकामा पर्दछन् ।

देशैभरका अधिकांस पालिकामा भ्रष्टाचार र अनियमितताका समाचार आईरहदा यस पालिकाले भने यस्ता गतिविधिको नियन्त्रणको लागि अभियानकै रुपमा अगाडि वढाएको छ । अभियानकै कारण पालिकामा सुशासन कायम गर्न सफल समेत भएको दावि गाउँपालिकाले गर्दै आएको छ ।

प्रस्तुत छ गाउँपालिकाका सुशासनका साथै कृषि, खेलकुद, शिक्षा, पर्यटन लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष महेश राईसँग खवरट्वीट डटकमका सम्पादक श्री कृष्ण बोगटीले गरेको कुराकानीको सम्पादित अंश ।

सर्व प्रथम सुशासनकै कुरा गरौं, सुशासनका लागि पालिकाले के कस्ता प्रयासहरु गर्दै आएको छ ?

हामी निर्वाचित भएर आएपछि विशेष गरि सुशासनमा ध्यान दिंदै आएका छौं । सुशासन कायम गर्न शुक्ष्म ढंगले लागि परेका छौं । पालिका भ्रष्टाचार मुक्त भएपछि मात्र विकास सम्भव हुन्छ भन्ने मुलमन्त्र लिएर अगाडि वढेका छौ । प्रत्येक महिना प्रगति विवरण वडाध्यक्ष, सचिव, प्राविधिकले वुझाउनुपर्ने , ज्येष्ठ भरिमा योजना सम्पन्न गरिनुपर्ने नियम वनाएका छौं । पार्टीको होस वा गाँउपालिकाको मिटिंगमा सर्धै सुशासनको निमित्त निर्देशन दिंदै आएको छु । भ्रष्टाचार नियन्त्रणलाई अभियानको रुपमा अगाडि वढाएको छु ।अनियमितता भेटिएको अवस्थामा कसैलाई क्षमा दिईएको छैन । पार्टी वा नाताको कुनै सम्वन्ध नराखि असुल उपर पनि गरिएको छ ।

सुशासन कायम गर्न गाँउपालिका अध्यक्षको अध्यक्षतामा , प्रमुख प्रशासकिय अधिकृत, लेखा र योजना शाखा प्रमुख सदस्य रहने गरि उच्चस्तरीय विशेष अनुगमन समिति गठन गरिएको छ । केहि योजनाहरुको शंका लागेकोले निकासा रोकिएको छ । जिम्मेवारी पुरा नगर्ने कर्मचारीको तलव काटिदिने गरिएको छ । कर्मचारीलाई पाउने विदा भन्दा वढि विदा नदिने गरिएको छ ।

गाउँपालिकाले कृषि विकासका लागि के कस्ता काम गर्दै आएको छ ?

हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भर भूमी हो । यहाँका अधिकांस नागरिकहरूले कृषि पेशा नै अँगाल्दै आएका छन् । भूगोल अनुसारको पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । वडा नं. १ लाई फलफूल पकेट क्षेत्र र २ नं वडालाई तरकारी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । ३ नं वडालाई तरकारी जोनको रूपमा छुट्याएका छौं । ५ र ६ नं वडामा किवी खेतीको सुरुवात हुन थालेको छ । गाउँपालिकामा कृषक समुहहरुको पनि गठन भएको छ ।

गाउँपालिकामा अनुदानको पनि कार्यक्रम रहेको छ । भेडीगोठ दुर्लभ हुँदै गएको कारण संरक्षण गर्नको लागि जोड दिएका छौं । आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । कृषि विकासको लागि हामीले बजेट पनि छुट्याएका छौं । कृषकलाई कृषि सम्बन्धि तालिमको पनि व्यवस्था मिलाएका छौं ।

यस पालिकालाई जिल्लाकै पर्यटकीय पालिकाको रुपमा पनि हेरिन्छ, पर्यटन प्रवर्धनमा कसरी लागि रहनु भएको छ ?

हो साच्चै हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन हामीले जोड दिइरहेका छौं । पर्यटकीयस्थलको रुपमा साल्पा पोखरी तथा सिलिछो पहाड रहेका छन् । धेरै पर्यटकहरु ट्रेकिङको रुपमा पनि घुम्न आउने गरेका छन् ।

देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी पर्यटकहरु पनि साल्पा हुँदै सगरमाथा समेत जाने गर्छन । पर्यटकीय स्थलसम्म पुग्नको लागि सडक निर्माणको काम पनि अगाडी बढाइरहेका छौं । धार्मिक हिसावले पनि हाम्रो गाउँपालिका निक्कै महत्वपूर्ण रहेको छ । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ट्रायल मार्ग अवधारणा पनि अगाडि सारेका छौं । यसको विकासको लागि गुरुयोजना निर्माण कार्य अन्तीम चरणमा पुगेको छ ।

शिक्षाको क्षेत्रका पालिकाले के कस्ता काम गर्दै आइरहेको छ ?

हाम्रो गाउँपालिकामा ४२ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । शिक्षाको गुणस्तर वृद्धि गर्न ८ कक्षा सम्मको परीक्षा प्रभावकारी ढंगले गाँउपालिकाले गराईरहेको छ । शिक्षाको गुणस्तरलाई उकास्न तल्लो कक्षावाटनै गुणस्तर सुधार अभियान चलाएका छौं । ईसीडि कक्षा नभएका विद्यालयहरुमा गाउँपालिकाले व्यवस्था गरिदिएका छौ. । माध्यमिक विद्यालयहरुमा विद्युतीय हाजिरीको व्यवस्था गरिदिएका छौं त्यो एकदमै प्रभावकारी भईरहेको । हामीले शिक्षा क्षेत्रमा अनुगमनको अभ्यास पनि गरेका छौं । विद्यालयमा विना जानकारी उपस्थित हुने शिक्षकको वेतलवी गरिदिएका छौं ।शैक्षिक विकासको लागि हामीले १ करोड ५० लाख रुपैयाँ बजेट छट्याएका छौं ।

गाउँपालिकाको अनुदानबाट हामीले विद्यालयमा केही शिक्षक पनि राखेका छौं । पहिलेको तुलनामा त गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । गाउँपालिकामा केही विद्यालयका भवनहरु निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिइरहेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल गरेर अघि वढि रहेका छौं ।

खेलकुदको क्षेत्रमा गाउँपालिकाले कस्ता कार्यहरु गर्दै आएको छ ?

विद्यालय स्तरवाटै खेलकुदको विकास हुनुपर्छ भन्ने उद्देश्यले विद्यालय स्तरीय राष्ट्रपटि रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता नियमित आयोजना गरिदै आएको छ । हामीले वडा स्तर र गाउँपालिकास्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छौं । खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् ।

गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल तथा फुटबल, व्याडमिण्टन लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि निर्माण गरिरहेका छौं ।

यो दुर्गम क्षेत्रमा स्वास्थ्य क्षेत्रमा विभिद समस्या छ भन्ने सुनिन्छ , स्वास्थ्य सेवाको विस्तारको लागि के के प्रयास गर्नु भएको छ ?

स्थानियवासीमा सिटामोलनै खान नपाउने समस्या आएपछि थुम्लुंग, खाटाम्मामा , ठोटनेरीमा गाँउपालिकाको योजनामा सामुदायिक स्वास्थ्य चौकि स्थापना गरिएको छ । कुलुंग स्वास्थ्यचौकीमा एमविविएस डा. को व्यवस्था गरिएको छ उहाँले सेवा दिईरहनुभएको छ ।

दुर्गम ठाँउ भएकोले स्वास्थ्यको क्षेत्रमा समस्या भएकोले आधारभुत स्वास्थ्य सेवा नपाएर अकालमा मृत्युहुने समस्या भएको अवस्थामा राष्ट्रिय योजना आयोग सँगको सहकार्यमा ५०० वेडको केन्द्रीय सरकारको ७ करोड र गाँउपालिकाको ३ करोडमा हस्पिटल निर्माण हुँदैछ । शिलान्यास भईसकेको छ भने टेण्डर प्रक्रियामा रहेको छ ।

गाउँपालिकाले अहिले सम्म गरेका मुख्य मुख्य कामहरु के-के हुन ?

हाम्रो गाउँपालिका भोजपुरको सदरमुकामबाट १८ कोष टाढा पर्छ । स्थानीय निकाय आउनु अघि यहाँका मानिसहरूले सामान बोकेर ओसारपसार गर्नुपथ्र्यो । गाउँपालिकाको प्रत्येक वडामा सडक पुगे पनि उचित व्यवस्था हुन सकेको छैन । गाउँपालिकाका धेरै नागरिकको माग अनुरुप सडकमै विशेष लगानी गरिरहेका छौं ।

नागरिकको चाहना नै सडक निर्माण रहेको हुनाले गाउँपालिकाले पनि सडक निर्माणलाई नै प्राथमिकतामा राखेको छ । ठुलो बजेट सडक निर्माणमा नै छुट्याएका छौं । सडक निर्माणमा ३ करोड बरबरको बजेट रहेको छ । गाउँपालिकामा कच्चि सडकहरु धेरै रहेका छन् । पहाडी भूभाग भएको कारण गाउँपालिकाको सडकहरु १२ महिनानै सञ्चालन हुन सक्दैन । हाम्रो गाउँपालिकामा केन्द्रीय लाइन रहेको छैन । जल लघुवित्त गाउँपालिकामा सञ्चालन गरेर बिजुली बालिरहेका छौं । केन्द्रीय लाइनको पनि हामीले माग गरिरहेका छौं । यो २ महिनामा गाउँपालिकाको १ र २ नं. वडामा केन्द्रीय लाइन बाल्ने कुरा भइरहेको छ । ६० लाख लगानिमा गाँउपालिका र ५५ लाखमा कर्मचारी आवास भवन निर्माण गरिएको छ ।


अब तपाईंको बाँकी रहेको कार्यकालका लागि के कस्ता योजनाहरु वनाउनु भएको छ ?

हामीले पालिकास्तरको गुरुयोजना निर्माण गरिरहेका छौं । यो अन्तिम चरणमा पुगेको छ । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । कृषि, उद्योग, शिक्षा, खेलकुद, आर्थिक विकास, पर्यटन विकास पुर्वाधार विकास लगायतका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढिरहेका छौं ।

तपाईको प्रतिक्रिया