भोजपुर- चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खोटाङ भगवतीले धरान फुट्वल क्लवलाई पराजित गरेको छ ।   खोटाङले ट्राईवेकरमा धरानलाई ३-० गोलले हराउँदै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । ९० मिनेटको खेलमा १-१ गोलको वरावरी भएपछि थपिएको ६ मिनेटको समयमा पनि कुनै गोल नभएपछि ट्राईबेकरमा खेलको निर्णय गरिएको थियो ।

भोजपुर सदरमुकाममा रहेको टुडिखेलमा आजवाट शुरु भएको खेलमा अन्तराष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उदघाटन प्रमुख अतिथि नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्माछिरङ शेर्पा, भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले लगायतले निर्णायक टोलिलाई फुटबल हस्तान्तरण गरेर गरेर उद्धघाटन गरेका थिए । प्रतियोगिता जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजनमा गोल्डकप भइरहेको हो । गोल्डकप विजेताले ५ लाख उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् ।

चौधरी ग्रुपको सह प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा क्यामरुनको अफ्रिकन रुटस एसोसिएसन सहित ८ वटा टिम सहभागिता रहेको छ । भोली दोस्रो खेल ६ गते सगरमाथा यूथ क्लब मोरङ र आयोजक भोजपुर फुटबल क्लबका बिच हुने छ ।

तेस्रो खेल अफ्रिकन रुटस एसोसिएसन क्यामरुन र धनकुटा फुटबल क्लबका बिचमा ७ गते र चौथो खेल रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रुपन्देहीका बिच वैशाख ८ गते हुने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ ।

करिब ३४ लाखको लागतमा हुने फुटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटबल सङ्घबाट ५ लाख र चौधरी ग्रुपले १ लाख सहयोग गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया