प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालवीच वान टु वान वार्ता भएको छ । करिब डेढ घण्टा लामो वार्तापछि होटल मेरियटबाट दुवै जना बाहिरिएका छन्। असन्तुष्ट नेता नेपालसँग सहमति खोज्न पार्टी अध्यक्षसमेत रहेका ओली बालुवाटारबाट नागपोखरीस्थित होटल मेरियट पुगेका थिए।

वार्तामा के भयो भन्ने वारेमा दुवैजनाले कुनै प्रतिक्रिया दिन चाहेनन् । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए ।त्यहाँ दुई नेताबीच वार्ताको वातावरण मिलाउन अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल पुगेका थिए। दुई नेतालाई वान टु वान वार्तामा राखेपछि नेता पौडेल मेरियटबाट निस्किएका थिए।

दुई नेताबीच वार्ता चलिरहँदा होटलका हरेक तलामा कम्तीमा १० देखि १५ जना सुरक्षाकर्मी तैनाथ गरिएको थियो। होटलमा खटिएका सुरक्षाकर्मीले सञ्चारकर्मीलाई त्यहाँको दृश्य तथा तस्बिर खिच्न पनि कडाइ गरेका थिए।

एमालेमा देखिएको विभाजनतर्फको विवाद मिलाउने अन्तिम प्रयासस्वरुप यो वार्ता भएको हो। एमाले नेता योगेश भट्टराईले बुधबार दिउँसो बालुवाटार पुगेर प्रम ओलीलाई पार्टी एकता बचाउन तत्कालै संवाद थाल्न भनेका थिए।

यसअघि चैत २ गते एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा वार्तामा बसेयता दुई नेताबीच संवाद टुटेको थियो। त्यसयता नेता नेपाल बरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाक्लो भेटघाटमा थिए। तर ओलीसँग पानी बाराबारको अवस्था थियो। दुई नेतालाई दोस्रो तहका नेताले मिल्न बारम्बार दबाब बढाएपछि वार्ता सम्भव भएको हो।

तपाईको प्रतिक्रिया