काठमाडौं । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले अल्ट्रा धाविका मीरा राईलाई सम्मान गरेको छ । यस्तै, वरिष्ठ कवि मञ्जुललाई पुरस्कृत गरिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा सोमबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले मञ्जुललाई १० हजार र ताम्रपत्र तथा मीरालाई ३० हजार रुपैयाँ र तामपत्रसहित सम्मान गरे ।
रसिकले मञ्जुल स्कूलदेखिकै साथी भएको उल्लेख गर्दै उनकै कारण आफू सङ्गीतमा लागेर अहिलेको अवस्थामा आइपुगेको बताए ।
भोजपुरमा जन्मी हुर्की साहित्य, कला, संस्कृति, खेलकुद लगायत क्षेत्रमा योगदान पुर्याउने प्रतिभाहरुलाई सम्मान गर्दै आएको संस्थाका अध्यक्ष दयाकृष्ण राईले बताए ।
सम्मानपछि भावुक बनेका मञ्जुलले गला अवरुद्ध भएपछि सम्बोधन गर्न सकेनन् । मीराले दौडबाट देशको नाम राख्न सकिने उल्लेख गर्दै पुरस्कारले हौसला मिल्ने गरेको सुनाइन् ।
कार्यक्रममा कवि एवं प्राज्ञ श्रवण मुकारुङ, शशी लुमुम्बू, गीतकार श्याम तमोट, संस्थाका सचिव काङमाङ नरेश राई लगायतले बोलेका थिए ।