भोजपुर । आगामी बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनलाई केन्द्रीत गर्दै माओवादी केन्द्र र माओवादी क्रान्तिकारी बीच पार्टी एकीकरण भएको घोषणा गरेका छन् । अघिल्ला चुनावको हार र पार्टीको शक्तिमा क्रमश क्षयीकरण हुर्दै गएपछि स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै पार्टी एकीकरण गरेका हुन् ।
दशक लामो द्धन्द्धमा होमिएका माओवादीहरु शान्ति प्रक्रियापछि पार्टीभित्र अन्तरविरोध र बिचलन आएपछि टुक्राटुक्रा भएको थियो । पहिलो संविधानसभाको निर्वाचनमा पहिलो शक्तिको रुपमा उदय भएको माओवादी पार्टीभित्र आन्तरिक किचलो, व्यक्तिवादी प्रवृति र स्वार्थको घेरामा रुमालिएपछि पार्टी चिराचिरा भएका थिए । राज्य व्यवस्था परिवर्तन, वैचारिक र सैद्धान्तिक सुसंगठनलाई बलियो बनाउनका लागि पार्टी एकिकरण गरिएको माओवादी केन्द्रका संयोजक विमल खड्काले बताए ।
उनीहरुले विहिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी एकीकरणको घोषणा गरेका थिए । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वैद्यको जडता, संङ्किर्णता र नेतृत्वका कारण पार्टी अगाडी बढन नसक्ने भएका कारणले पार्टी एकीकरण गर्नुपरेको माओवादी क्रान्तिकारीका सेक्रेटरी डिल्लीराम अधिकारीले बताए । राष्ट्रव्यापीरुपमा फुटेका माओवादी पार्टीलाई भोजपुरमा भएको एकीकरणले सबै जिल्लाको एकीककरणको उदय भएको क्रान्तिकारीका सेक्रेटरी अधिकारीले बताए ।