मैयुङ महोत्सवको तयारी अन्तिम चरणमा

भोजपुर । पर्यटन प्रवद्र्धनको लागि आयेजना गरिएको मैयुङ हाँस पोखरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

वैशाख १ देखि ३ गतेसम्म खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल मैयुङ डाँडामा हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक तिम्मा सरोकार समाजले जनाएको हो ।

महोत्सवमा परम्परागत सिपको प्रदर्शन, भोजपुरको टुँडिखेलबाट स्काइ रनिङ म्याराथुन, राष्ट्रिय तथा स्थानीय कविबाट खुल्ला कविता वाचन तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रमसहित तयारी तीव्र पारिएको आयोजक संस्थाका सचिव श्याम साङसोङले जानकारी दिए ।

“मैयुुङ क्षेत्रका जैविक विविधताको संरक्षण गरौं”, “मैयुुङ लाँलीगुराँस पदमार्गको घोषणा गरौँ”, “भिलेज टुरिजमको लागि होमस्टे सञ्चालन गरौँ” भन्ने तीनबुँदे घोषणापत्र यसअघि सार्वजनिक गरिएको थियो ।