स्वास्थ्य अधिकार सूर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल भोजपुर गठन

भोजपुर । स्वास्थ्य अधिकार र सूर्तिजन्य पदार्थ नियन्त्रण अभियानलाई भोजपुरमा विस्तार गर्न विभिन्न गैरसरकारी संस्था र सञ्चारकर्मीहरुको उपस्थितिमा आज एक कार्यक्रमका बीच स्वास्थ्य अधिकार सूर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल भोजपुर गठन भएको छ ।

सञ्जालको संयोजकमा न्यायशील असल शासन क्लबका अध्यक्ष फविन्द्र प्रधान चयन हुनुभएको छ । सञ्जाल सदस्यहरुमा मितेरी नेपालका सुवास विभाष श्रेष्ठ, रेडियो उन्नतीका रविन शिवा, समाज सुधार संस्थाका मनोज खनाल, रेडियो चोमोलुङ्गमाका सन्देश वान्तवा, सामुहिक अभियानका सविना श्रेष्ठ, रेडियो भोजपुरका गोकुल भुजेल, महिला ग्रामिण विकास संस्थाका सावित्रा तामाङ्ग,सगरमाथा विकास संस्थाका शान्तिकला राई, हिहल्ड नेपालका सिता विश्वकर्मा, न्यायशील असल शासन क्लबका लक्ष्मी प्रधान सदस्य रहनुभएको छ ।

एक दर्जन संघसंस्था र सञ्चार माध्यमहरुको प्रतिनिधित्व रहेको सो कार्यक्रममा भोजपुर बहुमुखी क्याम्पसका सूचना अधिकारी एवं धुम्रपानविरुद्धका अभियन्ता नोदनाथ त्रितालले कार्यक्रमको महत्व, सञ्जालको औचित्य र विगतमा गरिएका अभियानबारे जानकारी प्रस्तुत गर्नुभएको न्यायशील असल शासन क्लबका सूचना अधिकारी लक्ष्मी प्रधानले जानकारी दिनुभयो ।