संखुवासभामा नगरपालिका, गाउँपालिकामा काे–काे छन् आकाक्षी उमेद्वार

संखुवासभा । संखुवासभा मुलुकको भविष्य जोडिएको जिल्ला हो । अरुण तेस्रो, किमाथांका नाका, विश्वको पाँचौ अग्लो हिमाल मकालु, अलैंची, रुद्राक्ष र जडीबुटीको प्रचुर सम्भावना भएको जिल्ला हो । पुरानो संरचनाअनुसार ३४ गाविस र एक नगरपालिका रहेको संखुवासभा जिल्लामा पाँचवटा नगरपालिका र पाँचवटा गाउँपालिका छन् । नयाँ संरचनाअनुसार नगरपालिका र गाउँपालिकाको जम्मा वडा संख्या ७६ रहेको छ । संखुवासभामा चुनावी रौनक तातिएको छ । जिल्ला भर यहाँको मतदाता संख्या झण्डै ९० हजार छ । १० वटा प्रमुख पदका लागि आकांक्षी धेरै देखिएकाछन् ।
खाँदबारी नगरपालिका
खाँदबारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा महेश थपलिया, शेरबहादुर वन, हरिश्वर थापामगर, अनन्तकुमार गौली, उमेश चौहान लगायतका नाम चर्चामा छ । थपलिया महासमिति सदस्य, वन पूर्व महाधिबेशन प्रतिनिधि, थापामगर पूर्व क्षेत्रीय सभापति, गौली संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष र चौहान क्षेत्रीय सभापति हुन् ।
कांग्रेस श्रोतका अनुसार यी नामहरु मध्येबाटै एकजना प्रमुख पदका लागि उम्मेदवार हुने संभावना बलियो छ । उपमेयरमा चित्ररेखा अधिकारी र नीरु बस्नेतको नाम नाम चर्चामा छ ।
नेकपा एमाले तर्फबाट पूर्व नगर उपप्रमुख समेत रहेका जेवी घिमिरे, भरतकुमार घिमिरे, सुमन शाक्य, किरणकुमार शाक्य, लेखनाथ बुढाथोकी, देबेन्द्र घिमिरे,सुजनकुमार श्रेष्ठ, नारायण कटुवाल लगायतका नेताहरुको नाम चर्चामा छ । घिमिरे खेलकुद विकास समितिका अध्यक्ष, शाक्य व्यापारी, अर्का शाक्य बरुण बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख, बुढाथोकी नेकपा एमालेका क्षेत्रीय अध्यक्ष, कटुवाल गैससका पूर्व अध्यक्ष, देबेन्द्र घिमिरे नेकपा एमाले खाँदबारी नगर कमिटिको उपाध्यक्ष र श्रेष्ठ मनराम प्रतिष्ठानका अध्यक्ष हुन् ।त्यस्तै एमालेमा उपमेयरमा लक्ष्मी ढुंगाना, लक्ष्मी चापागाई,डेगेश्वरी श्रेष्ठ,केशकुमारी कार्कीको नाम चर्चामा छ । नेकपा माओबादी केन्द्रबाट मेयरमा वीरबहादुर लिम्बु उपमेयरमा शुशिला घिमिरेको उमेद्धवारी टुंगो लागिसेको छ ।

चैनपुर नगरपालिका

चैनपुर नगरपालिकामा कांग्रेसका तर्फबाट दीपेन्द्रमान शाक्य, ज्ञानबहादुर कार्की, कुमारबाबु अधिकारी, शंकरमान कडेल, दीपक लिम्बु लगायतका नेताहरुको नाम चर्चामा छ । एमालेका तर्फबाट चैनपुर नगरपालिकामा आशिष शाक्य, गोपाल श्रेष्ठ, उमेश डागी, कृष्ण तामाङ, भरत खत्री लगायतका नेताहरुको नाम चर्चामा छ । नेकपा माओबादी केन्द्रका तर्फबाट लाखमान तामाङ, डम्बर अधिकारी र सुमन डागी चर्चामा छन् ।

मादी नगरपालिकामा

त्यस्तै, मादी नगरपालिकामा काग्रेशबाट शुशिलराज दाहाल, रामकुमार जिमी, दीलकुमार गुरुङ, डम्बर बस्नेत लगायतका नेताहरुको नाम चर्चामा छ । एमालेबाट मादी नगरपालिकामा जीवन लिंथेप, जीवन गुरुङ र विदुर सुव्वा चर्चामा छन् । नेकपा माओबादी केन्द्रका तर्फबाट दावा लामा सर्वसम्मत जस्तै देखिएका छन् ।
पाँचखपन नगरपालिका

पाँचखपन नगरपालिकामा कांग्रेसका तर्फबाट विपिन राईको नाम मात्रै चर्चामा छ । एमालेका तर्फबाट पाँचखपनका लागि हिन्दुकुमार राई, सरीता खड्का र मानसिं पोख्रेल,प्रेम व श्रेष्ठ लगायतका नाम चर्चामा छन् । माओवादी केन्द्रका तर्फबाट चन्द्र न्यौपाने र हिमाल बोगटीको नाम चर्चामा चलेको छ ।

धर्मदेवी नगरपालिका

धर्मदेवी नगरपालिकाका लागि कांग्रेसका तर्फबाट देवराज सुबेदी, भक्तबहादुर गुरुङ, रमेश जिमी र रत्न कटुवालको नाम चर्चामा छ । एमालेका तफएबाट ऋषिकेशव चापागाई, भीम लिंखा र पदम गुरुङको चर्चा छ । माओवादीका तर्फबाट कुलबहादुर कार्की, दोर्ची शेर्पा, छिरीङ भोटे र भुपालसिं तामाङको नाम चर्चामा छ

गाउँपालिकाका आकाक्षी उमेद्वार

चिचिला, सिलिचोङ, मकालु, सभापोखरी र भोटखोला गाउँपालिकामा पनि आकांक्षीहरु बढेका छन् । त्यसमा पनि कांग्रेस, एमाले र एमाओबादी बीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । राप्रपा,संघिय समाजवादी फोरम,जनमोर्चा , र खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र जनमुक्ति पार्टिले पनि आफ्नो उल्लेख्य उपस्थिति रहेको बताउँदै आएका छन् ।
सभापोखरी गाउँपालिका
सरकारले पुरानो संरचना अनुसार कायम रहेका धुपु, बाह्रविसे र सभापोखरी गाविस समावेश गरेर सभापोखरी गाउँपालिका घोषणा गरेको हो । दुई सय २२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपलिकामा साढे १० हजार मानिस बसोवास गर्छन । छ वडामा विभाजित सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रविसे बजारमा तोकिएको छ । सभापोखरी गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिश्पर्धा हुँने कार्यकर्ताहरुको आकलन छ ।
धुपुमा कांग्रेसको संगठन मजभूत भए पनि सभापोखरी र बाह्रविसेमा एमालेको बलियो पकड भएकोले चुनावी परिणाम आफ्नो पक्षमा आउँने एमालेको दाबी छ । तर, विगतमा भन्दा त्यस क्षेत्रमा कांग्रेसको संगठन सुदृढ बन्दै गएकोले एमालेलाई सहज भने छैन । यस गाउँपालिकामा कांग्रेसका महासमिति सदस्य तथा पूर्व पार्टी सचिव मुक्तिशिंह राई र पूर्व महाधिवेशन प्रतिनिधि भानु कालाखेतीलगायतका नेताहरुको प्रभाव राम्रो छ । गाउँपालिको अध्यक्षमा कांग्रेसका मणि राई,भिम सिंखा लिम्बू, जिल्ला सदस्य सुवास कालाखेती, मदन मादेन र सुजन राइले आफ्नो चर्चा चलाएका छन् । यसै गरि कांग्रेसका जिल्ला सदस्य राजकुमारी घिमिरे र लीला राईको उपाध्यक्षमा चर्चा छ । एमालेका यादव अधिकारी, बद्रि सापकोटा, रामकुमार तामाङ,सोमनाथ बाह्रकोटी अध्यक्षका आकांक्षी छन् । माओवादीका विपिन तामाङ र कृतिमान तामाङले पनि आफ्नो नाम चर्चामा ल्यएका छन् । यस गाउँपालिकामा जनजातिहरुको बहुल्यता छ ।
भोटखोला गाउँपालिका
चीन प्रवेशद्वारको रूपमा रहेको भोटखोला गाउँपालिकाको किमाथांका व्यापारिक रूपमा उच्च सम्भावना बोकेको क्षेत्र हो । भारत र चीनबीचको सबैभन्दा छोटो व्यापारिक नाकाको रुपमा किमाथांका लाई मानिन्छ । भोटखोला गाउँपालिकामा किमाथांका, चेपुवा, हटिया र पावाखोला गाविस समावेश भएका छन् । ६ सय ३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भोटखोलाको जनसंख्या साढे ६ हजार छ । पाँचवटा वडामा विभाजित यस गाउँपालिकाको केन्द्र हटिया तोकिएको छ । भोटखोला गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने भएकाले चुनावी परिणाम कसको पक्षमा आउँछ भनेर आंकलन गर्ने अवस्था छैन । कांग्रेसका डुक्पा भोटे, पासाङ खम्बा, ठिलेन भोटे र नुर्वु लामाले अध्यक्षका आकांक्षी हुन् । एमालेले पूर्वगाविस अध्यक्ष ओङ्दावी भोटेलाई अघि सार्ने प्रायःनिश्चित छ । यस गाउँपालिकामा भोटे समुदायको बाहुल्यता छ ।
सिलिचोङ गाउँपालिका
सिसुवाखोला, बाला, ताम्कु, मांतेवा र याफु गाविसका १–४ र ९ वडा मिलाएर सिलिचोङ गाउँपालिमा परिणत गरिएको हो । २९३.२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा १२ हजार मानिस बसोवास गर्छन् । पाँच वडामा विभाजित गाउँपालिकाको केन्द्र ताम्कुमा तोकिएको छ । यो गाउँपालिकामा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने कार्यकर्ताहरू बताउँछन् । सिलिचुङमा कांग्रेसका रामबहादुर कुलुङ, सन्तोष कुलुङ, देवेन्द्र कटुवाल, हेमराज राई र मोहन राईले अध्यक्षमा चर्चा चलाएका छन् । माओवादी केन्द्रका मञ्जिल कुलुङ र एमालेका दुर्गा्किरण राईको नाम चर्चामा छ । कुलुङहरूको बाहुल्यता रहेको गाउँपालिका हो ।
चिचिला गाउँपालिका
पुरानो संरचनाअनुसार विद्यमान रहेका मत्स्यपोखरी र दिदिङ गाविसलाई मिलाएर चिचिला गाउँपालिकामा परिणत गरिएको हो । सात हजार जनसंख्या रहेको गाउँपालिकाको क्षेत्रफल ८८.६३ वर्ग किलोमिटर छ । पाँच वडामा विभाजित यस गाउँपालिकाको केन्द्र दिदिङ तोकिएको छ । जसमा काग्रेशका तर्फाबाट तरुण दलका जिल्ला सभापति टकमान घले, महाधिवेशन प्रतिनिधि राजेन्द्र घले, दिनेश गुरुङ, पासाङ शेर्पा, महेन्द्र राई र टेकबहादुर गुरुङले अध्यक्षको चर्चा चलाएका छन् । उपाध्यक्षमा कांग्रेसकी धनकुमारी राईको चर्चा छ । एमालेका नइन्द्र राई, सन्तोष राई र नारदमणि भट्टराई अध्यक्षका दावेदार छन् ।त्यस्तै खम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य कुल ब राईले पनि अध्यक्षमा दावि गरेका छन ।
मकालु गाउँपालिका
मकालु गाउँपालिकामा मकालु, नुम, पाथिभरा, याफूका ५–८ वडा र पावाखोलाका ४–९ वडाहरू समावेश छन् । ५१९.५४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको मकालुमा साढे १३ हजार मानिस बसोवास गर्छन् । ६ वडामा विभाजित गाउँपालिकाको केन्द्र नुममा तोकिएको छ ।वर्तमान स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका संखुवासभा कांग्रेसका पूर्वसभापति तारामान गुरुङको गाउँपालिका क्षेत्र हो। त्यसैले यस गाउँपालिकामा कांग्रेसको संगठन निकै उत्साहजनक छ । कांग्रेसका राईमान राई, देउमान राई, काजीमान गुरुङ, वाङ्दा छिरिङ शेर्पा, हरिभक्त राई र बालकुमार राई अध्यक्षका आकांक्षी हुन् । कोपिला पराजुली उपाध्यक्षकी आकांक्षी छन् । एमालेमा खड्ग कटुवाल, सुरेश राई, ताराकुमार गुरुङको नाम चर्चामा छ ।