धनकुटाकामा को–को छन् नगरपालिका र गाउँपालिको मेयरको आकांक्षी (हेर्नुहोस सुचिसहित )

धनकुटा । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा चुनावी सरगर्मी बढेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले निर्वाचनका कार्यक्रमलाई तीव्र पारेका छन् । जिल्ला, नगर, वडामा र दलहरूले सञ्चालन गरेका चुनावी गतिविधिले माहोल निर्वाचनमय बनाएको छ । उम्मेदवार बन्न चाहने आकांक्षीको चर्चा पनि बढ्दै गएको छ । आकांक्षीको संख्या धेरै भएकाले दलहरूलाई उम्मेदवार चयन गर्न भने सकस परेको छ ।
धनकुटा नगरपालिका
तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा एमालेमा उम्मेदवारका आकांक्षी बढी देखिएका छन् । धनकुटा नगरपालिकाको मेयरमा जिल्ला कमिटी सचिवालय सदस्य चिन्तन तामाङ, अर्जुन राई, नरेन्द्र पोख्रेल, उमेश घिमिरे, नगर कमिटी अध्यक्ष अर्जुन छाराले आकांक्षा देखाएका छन् । यस्तै, प्रदेश संगठन कमिटी सदस्य शकुन्तला बस्नेतले आकांक्षा देखाएका छन् । उपमेयरमा पूर्व जिल्ला कमिटी उपसचिव हिमादेवी भट्टराई, निर्वाचन कमिटी सदस्य गीता अधिकारी, जिल्ला कमिटी वैकल्पिक सदस्य तारा तितुङले उपमेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

कांग्रेसबाट जिल्ला उपसभापति नवीनकिशोर शाक्य, कोषाध्यक्ष दिनेश राईले मेयरको उम्मेदवारमा दाबेदारी प्रस्तुत गरेका छन् भने उपमेयरमा सावित्री श्रेष्ठ र ज्योति प्रधानको नाम चर्चामा छ ।

माओवादी केन्द्रमा गणेश विष्ट र सीताराम श्रेष्ठको नाम मेयरको उम्मेदवारका रूपमा तथा कुसुम श्रेष्ठ जुलीको उपमेयरको उम्मेदवारमा चर्चा छ । राप्रपामा बालान्नद भुर्तेल, यज्ञबहादुर कार्की र तेजबहादुर विष्टको नाम मेयरका लागि चर्चा भइरहेको छ ।

पाख्रिबास नगरपालिका
पाख्रिबास नगरपालिकामा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य भीम राई, वैकल्पिक सदस्य बिर्ख राई ‘राजन’, महेन्द्र भट्टराई, डागम राई, नगर कमिटी अध्यक्ष शान्तिराम गौतमलाई मेयरका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । यस्तै, उपमेयरमा जिल्ला कमिटी सदस्य नम्रता देउजा, वैकल्पिक सदस्य देवकला पौडेल तिम्सिना आकांक्षी छन् ।

कांग्रेसमा क्षेत्रीय सभापति इन्दिरा थापा र जिल्ला सदस्य ज्ञानु गुरुङको नाम मेयर र उपमेयरमा चर्चा छ । राप्रपामा ज्ञानबहादुर गुरुङ र सिद्धार्थ थापाको नाम चर्चामा छ ।

महालक्ष्मी नगरपालिका
एमालेका जिल्ला सचिव सुरेन्द्र पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य टंक चौहान, खगेन्द्र सुवेदी, वैकल्पिक जिल्ला कमिटी सदस्य पर्शुराम नेपालले मेयरको उम्मेदवार बन्न दौडधुप गरिरहेका छन् । उपमेयरमा जिल्ला कमिटी सदस्य मधुमालती श्रेष्ठ र मञ्जु अधिकारीले आकांक्षा देखाएका छन् ।

कांग्रेसमा जिल्ला सभापति अग्नि पौडेल, लेखनाथ पौडेल, सुमना तिम्सिनाको नाम मेयरको चर्चामा छ । राप्रपामा गोपालचन्द्र पौडेलले आकांक्षा देखाएका छन् ।

चौबिसे गाउँपालिका
चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका जिल्ला सचिवालय सदस्य एंव प्रचार विभाग प्रमुख नैन विश्वकर्मा, सचिवालय सदस्य मानबहादुर लिम्बू, प्रदेश कमिटी सल्लाहकार सदस्य दिलीप सुब्बा, जिल्ला कमिटी वैकल्पिक सदस्य पदम देवान, जिल्ला कमिटी सदस्य सोविस चेम्जोङ, गाउँ संगठन कमिटी चौबिसे गाँउपालिका सचिव खजिन्द्र राईले आकांक्षा देखाएका छन् । उपाध्यक्षमा सचिवालय सदस्य यज्ञकुमारी रुचाल, विना राई र जिल्ला कमिटी सदस्य सीता राईको नाम चर्चामा छ ।

कांग्रेसबाट अध्यक्षमा हर्क चेम्जोङ, उपाध्यक्षमा दुर्गा सुवेदी र जुना आचार्यको नाम चर्चामा आएको छ भने राप्रपामा चक्र बुढाथोकी र चन्द्र याख्याको नाम चर्चामा रहेको छ ।

साँगुरीगढी गाउँपालिका
नेकपा एमालेमा जिल्ला कमिटी सचिवालय सदस्य हरिकुमार राई, जिल्ला सदस्य देवमान राई, कुमारजंग याख्या, अनेमा संघ जिल्ला नेता पशुपति याख्या र तुलसा सुब्बाले अध्यक्ष र उपाध्यक्षमा आकांक्षा देखाएको प्रचार विभाग प्रमुख नैन विश्वकर्माले बताए । कांग्रेसबाट क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राई र खेमकुमारी राईले अध्यक्ष तथा उपाध्यक्षमा उम्मेदवारी दिन खोजेका छन् । राप्रपामा अध्यक्षको उम्मेदवारमा धर्मध्वज राईको नाम चर्चामा छ ।

खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका
यहा“ नेकपा एमालेमा प्रदेश कमिटी सल्लाहाकार सदस्य रूपलाल राई, सचिवालय सदस्य वंगला राई, जिल्ला कमिटी सदस्य मनोज राई, जिल्ला कमिटी सदस्य योगेन्द्र राई, वैकल्पिक जिल्ला कमिटी सदस्य जेबी राईको जिल्ला निर्वाचन कमिटी अध्यक्ष लोकेन्द्र खड्का, जिल्ला कमिटी सदस्य घुममाया राई ‘सीमा’ र सावित्रा राईको नाम चर्चामा रहेको छ ।

कांग्रेसबाट शिव राई, तीर्थ राई, लाखमान राई, कमलकुमारी राई, टीका भण्डारी, गीता प्रधान राईले आकांक्षा देखाएका छन् । राप्रपाबाट रेवत भण्डारीको नाम चर्चामा रहेको छ ।

छथर जोरपाटी गाउँपालिका
नेकपा एमालेमा जिल्ला कमिटी सचिवालय सदस्य शिव आंगला, वैकल्पिक सदस्य शेरबहादुर लिम्बू र वैकल्पिक जिल्ला कमिटी सदस्य भीमकला श्रेष्ठ, कांग्रेसमा निर्मल ओझा, छत्र लिम्बू, विष्णु पौडेल, इन्दिरा थापाको नाम चर्चामा छ । राप्रपाबाट माधवबहादुर भट्टराईले आकांक्षा देखाएका छन् ।

यता, माओवादी केन्द्र धनकुटाले भने उम्मेदवारको चर्चाका बारेमा केही बताउन चाहेनन् । पार्टीले तीन नगरपालिका र चार गाउँपालिकामा सञ्चालन गरेको अभियान आइतबार सम्पन्न भएको र अब गाउँ, वडा तथा नगरमा नै गएर छलफल गरेपछि मात्र उम्मेदवारको नाम बताउन सकिने नेकपा माओवादी केन्द्र केन्द्रीय अधिवेशन आयोजक समिति सदस्य तथा नेकपा माओवादी केन्द्र धनकुटाका कार्यालय सचिव तिलकप्रसाद राईले बताए ।

आकांक्षी धेरै देखिएपछि राजनीतिक दलहरू आन्तरिक छलफल गरिरहेका छन् । वडा कमिटी, गाउँ कमिटी र नगर कमिटीको सिफारिस र सुझाबका आधारमा निर्वाचनको मापदण्डअनुसार ९ वैशाखसम्ममा उम्मेदवारको टुंगो लगाउने एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताए । कांग्रेस धनकुटाले ५ वैशाखभित्र उम्मेदवारको टुंगो लगाउने भएको छ ।

तथ्यांकमा धनकुटा

स्थानीय तहको संख्याः ७
नगरपालिकाः ३
गाउँपालिकाः ४
मतदाताः ९५, ३६७
महिलाः ४८,७८०
पुरुषः ४६,४८७
दर्ता गरिएका दलः १७

मतदाता (नगरपालिका)
धनकुटाः १८,१२८
महालक्ष्मीः १५,७८३
पाख्रिबासः १३,९३०

गाउँपालिका
चौबिसेः १२,०८५
सागुरीगढीः १३,७७५
छथरजोरपाटीः १०,७३६
खाल्सा छिन्ताङ सहिदभूमिः१०,९२८

जिल्लामा मतदान केन्द्रः ११७
महालक्ष्मी नगरपालिकाः २१
चौबिसे गाउँपालिकाः २१
साँगुरीगढी गाउँपालिकाः २१
पाख्रिबास नगरपालिकाः १५
धनकुटा नगरपालिकाः १४
खाल्सा छिन्ताङ सहिदभूमिः १३
छथर जोरपाटीः१२