विराटनगर । मोरङको एक उपमहानगरसहित ८ नगरपालिकामा चुनावी चर्चा व्यापक छ । सबै दलहरु चुनावी दौडमा छन् । तर माओवादी केन्द्र बाहेकले उम्मेद्वार टुङ्ग्याउन सकेका छैनन् । काठमाडौंपछिको सबैभन्दा बढी ९ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला हो, मोरङ । यहाँ एक उपमहानगरपालिका र ८ वटा नगरपालिका र ८ वटा गाउँपालिकासहित १७ स्थानीय तह छन् ।
मोरङमा स्थानीय चुनावमा कुल ५ लाख ६३ हजार ८ सय ५८ जना मतदाताले सहभागिता जनाउँदैछन् । जसमा पुरुष २ लाख ८५ हजार नौ सय ३३ जना रहेका छन् भने महिला २ लाख ७७ हजार नौ सय २५ रहेका छन् । यो तथ्यांकमा महिला भन्दा पुरुष आठ हजार ८ जना बढी रहेका छन् ।
१५९ वटा वडामा वडा अध्यक्षसहितका सदस्य निर्वाचित हुँदैछन् भने हरेक गाउँपालिका र नगरपालिकामा स्थानीय तह जनप्रतिनिधि छानिने छन् । देशकै धेरै मतदाता रहेको मोरङमा स्थानीय तह चुनावमा ८२९ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । दलित र अल्पसंख्यकबाट थप ३४ जना मनोनित गरेपछि जिल्लामा जनप्रतिनिधिहरुको संख्या ८६३ हुनेछ । मोरङ जिल्लाको एक उपमहानगरपालिकासहित ८ नगरपालिकाको मेयर र उपमेयरका लागि विभिन्न पार्टीमा रहेका जिल्ला तहका नेताहरु बढी आकांक्षी देखिएका छन् ।
मोरङ जिल्लामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सम्भावित उम्मेदवारको बढी चर्चा हुने गरेको छ । मोरङमा ३६ वटा दल दर्ता भएका छन् । यी सबै दलहरुले आफ्नो दलको प्रचार गरि रहेको भएपनि उम्मेदवारहरु अझै टुङग्याउन सकेका छैनन । एमालेले १२ गतेको समयसीमा निर्धारण गरेको छ भने कांग्रेसले बैशाख १५ गतेको लागि समयसीमा निर्धारण गरेको छ ।
विराटनगर उपमहानगारपालिका
पूर्वी नेपालकै व्यापारिक केन्द्रका रुपमा मानिने विराटनगर नेपालकै ऐतिहासिक राजनीतिक थलोको रुपमा चिनिन्छ । वि।स।२००८ सालमा बिराटनगर नगर पञ्चायतको रुपमा स्थापित भएको विराटनगर वि।सं। २०५२ सालमा उपमहानगरपालिकाको रुपमा स्थापित भयो । बिपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतले राजनीति सुरु गरेको थलो बिराटनगर हो ।
नयाँ संरचना अनुसार साविकको वैजनाथपुर गाविस र वुधनगरको १, ३ र ५ वडा समावेश गरी बिराटनगर उपमहागरपालिका नयाँ संरचना बनाईएको छ । ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको, कुल २ लाख १४ हजार ६ सय ६३ जनसंख्या रहेको विराटनगर उपमहानगरपालिकामा १ लाख १४ हजार १ सय ७६ मतदाता छन् । उपमहानगरलाई महानगर बनाउनको लागि यहाँका स्थानीयले पटक पटक माग गरेको भएपनि कांग्रेसका केही नेताहरुले महानगर बनाउन नदिएको भन्दै अहिले पनि नगर बासिन्दा असन्तुष्ट छन् ।
स्थानीय तह पुनर्संरचनासँगै मतदाताको संख्या पनि थपिएको छ । पार्टीहरुभित्रको गुटगत राजनीतिका कारण केन्द्रीय नेताको शक्ति देखाउने दरिलो थलो भनेर विराटनगरलाई लिइन्छ । केन्द्रीय नेताहरुको हस्तक्षेपदेखि जिल्ला नेतृत्वहरुको इच्छा बमोजिम फरक–फरक व्यक्तिको नाम मेयर तथा उपमेयउरको लागि चर्चामा छ ।
नेपाली कांग्रेसका तर्फबाट कांग्रेस मोरङका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फूलकुमार लालवानीको नाम बढी चर्चामा छ भने पछिल्लो समयमा सांसद अमृत अर्यालको नाम पनि एकाएक चर्चामा ल्याइएको छ । केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवाको दाहिने हातको रुपमा लिइएका अर्याल स्वयम आफू नउठेपनि फूलकुमार लालवानीलाई उहाँको साथ छ ।
भिन्न नेता कृष्ण सिटौलाको लविङ्गमा रहेका नगरका सभापति भीम पराजुली पनि उत्तिकै चर्चामा छन् । तर गुटगत रुपमा नागेश कोइराला दह्रो रहेको कांग्रेस भित्रैबाट चर्चा हुँदै आएको छ । तर भीम पराजुली भन्नुहुन्छ, ‘मलाई बाईपास गरेर जानसक्ने अबस्था छैन मेरो जित्नलाई दरिलो आधार छ ।’
उपमेयरमा पनि धेरैको व्यक्ति नै पिच्छे उम्मेद्वारीहरु आइरहेका छन् । सुनिता घिमिरे, प्रमिला थापा, रेखा पराजुली, विजेता अधिकारी, सुनकुमारी कार्की, बिन्दा कार्की, रीता पोख्रेल, जरिना खातुन्को नाम पनि चर्चामा छन् ।
एमालेमा आकांक्षी कमै देखिएका छन् । एमालेबाट मेयरमा एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मी र एमालेका नगर इञ्चार्ज सागर थापाको नाम चर्चा छ । बाबुराम कार्कीको नाम पनि चर्चामा ल्याइएको छ । उपमेयरमा शिल्पा कार्की, लीला रिजाल, बिमला घिमिरे र साबित्रा रेग्मीको नाम चर्चामा ल्याइएको छ ।
यसअघि २०५४ सालको मेयर उपमेयरसहित १३ वटा वडा जित हाँसिल गरेको एमाले यो पटकको चुनावमा १९ वटै वडा सहित मेयर र उपमेयरसहित सबै सदस्य जिताउने दाउमा छ । माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि भोगेन्द्र यादवको नाम सिफारिस गरिसकेको छ भने उपमेयरका लागि नमिता न्यौपानेको नाम सिफारिस गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका
सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट शिवप्रसाद ढकाल, भगवती पौडेल, लोकप्रसाद संग्रौला, गोपाल थापा, चैतन्य सिटौला,सुरेन्द्र बस्नेत, हरिनारायण चौधरीको नाम चर्चामा छ । त्यस्तै नेकपा एमालेबाट अर्जुन अधिकारी, केदार गुरागाई, राजकुमार ओझा, अजम्बर राई, धना तामाङको नाम मेयरका रूपमा चर्चामा छ । माओवादी केन्द्रबाट उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाई, र लता न्यौपानेको नाम चर्चामा छ । यसअघि यहाँ एमालेले जितेको हो ।
बेलबारी नगरपालिका
बेलबारीको मेयरमा नेपाली कांग्रेसबाट, महेन्द्र सुवेदी, राजकुमार लिम्बू, डिल्ली गिरी, नगेन्द्र कट्टेल र रुकमणि धिमालको नाम चर्चामा छ । कांग्रेसबाटै यज्ञ ढकाल पनि मेयरका आकांक्षी देखिनु भएको छ । एमालेबाट बेलबारीको मेयर पदका लागि डीपी राई, ज्ञानेन्द्र सुवेदी, इरान राई र राजकुमार बस्नेतको नाम चर्चामा छ । त्यस्तै, माओवादी केन्द्रबाट तिलक राइ र गीता तिमिल्सनाको नाम सिफारिस गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका
पथरी शनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसबाट गणेश खड्का, किरण थापा र माधव कोइराला, परशुराम कार्कीको नाम चर्चामा छ । एमालेबाट मेयरमा रामकुमार बस्नेत, मोहन तुम्वा, किशोर राई, मोहन न्यौपानेको नाम चर्चामा छ । त्यसैैगरी माओवादी केन्द्रबाट मेयरका रूपमा जहरमान लिम्बराधिका गौतम नाम चार्चामा छ ।
उर्लाबारी नगरपालिका
उर्लाबारीको मेयरमा नेपाली कांग्रेसबाट वीरबल थापाखड्ग फागो र जयधर्म आचार्यको नाम चर्चामा छ । कांग्रेसबाटै अर्का आकांक्षी भोलामान श्रेष्ठ पनि चर्चामा छन् । त्यसैगरी उर्लाबारीको मेयरमा नेकपा एमालेबाट भूपाल जिमी, मानबहादुर श्रेष्ठ, उमाकान्त गौतम, अग्नि भट्टराई, बिद्या चाम्लीङ र पुष्प ढकालको नाम चर्चामा छ । उर्लाबारीमा माओवादी केन्द्रबाट मेयरका रूपमा राजेन्द्र पौडेलमा मेयरमा नाम पक्का पक्की जस्तै छ । उपमेयरको रुपमा शिला भट्टराई पुजा ताजपुरियाको नाम चर्चामा छ ।
लेटाङ नगरपालिका
लेटाङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट ईश्वरी कोइराला, दीपकचन्द्र राई, शंकर राई र राजकुमार लामाको नाम चर्चामा छ । मेयरमा एमालेबाट भुपेन्द्र लावती, उपेन्द्र घिमिरे, भूमि मगर र शान्ति पाख्रिनको नाम चर्चामा छ । त्यसैगरी माओवादी केन्द्रबाट लेटाङको मेयरमा एक मात्र आकांक्षीका रूपमा गोपाल नेपालीलाई अघि सारेको छ । महिलाको नाम चर्चामै छैन ।
रंगेली नगरपालिका
रंगेली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा मोदराज घिमिरे, सुमन कुँवर, रामनारायण मण्डल, जगननाथ मण्डल र मंगलचन्द्र अग्रवालको नाम चर्चामा छ । एमालेबाट मनोज अग्रवाल, इर्जालाल राजवंशी, सन्तोष साह, दिनेश ठाकुर र मदन दाहालको नाम चर्चामा छ ।
माओवादी केन्द्रबाट दिलीप वडगियाको नाम चर्चामा छ । यस्तै आन्दोलनरत संयुक्त मेधसी मोर्चा आबद्ध दलको तर्फबाट पनि उमेद्वारको नाम चर्चामा छ । संघीय समाजवादी फोरमबाट पन्नलाल मण्डल र नेपाल सद्भावना पार्टीबाट शंकरप्रसाद साहको नाम चर्चामा छ ।
सुनवर्सी नगरपालिका
सुनवर्सी नगरपालिकामा कांग्रेसबाट कालीप्रसाद दास, रमानन्द साह, महेश्वर राजवंशीको नाम चर्चामा छ । एमालेबाट हसन इमान र कपिलेश्वर राजवंशीको नाम आएको छ । माओवादी केन्द्रबाट मुनालाल यादव, जयन्ता दासको नाम चर्चामा भएपनि उपमेयरमा महिलाको नाम आउन सकेको छैन । यस्तै राप्रपाबाट जविव मियाँ, मधेसी जनअधिकार फोरम लोकतान्त्रीकबाट महताफ आलमको नाम चर्चामा छ ।
रतुवामाई नगरपालिका
रतुवामाई नगरपालिकामा नेपाली कांग्रेसबाट रविन राई, नागेश्वरप्रसाद सिंह र खड्ग चुङ्वाङको नाम चर्चामा छ । यस्तै एमालेबाट टिकेन्द्र पोमु, मेघराज कट्टेल, विश्वनाथ राय, मालती सुब्बाको नाम चर्चामा छ । माओवादी केन्द्रबाट प्रकाश पौडेल मेयरका एक मात्र उम्मेद्वार छन् ।