सूर्तिजन्य पदार्थको बजार अनुगमन सम्पन्न

भोजपुर । भोजपुर जिल्ला सदरमुकामस्थित किराना पसलहरुमा गैरकानुनी रुपमा सूर्तिजन्य पदार्थ बिक्रि वितरण भइरहेको पाइएको छ ।
सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला अनुगमन समिति, भोजपुरले आज गरेको बजार अनुगमन त्यस्तो पाइएको हो ।
सूर्ति नियन्त्रणका लागि जिल्लास्तरीय अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजार र सूचना अधिकारी राजु श्रेष्ठ, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख इश्वरी देवकोटा, स्वास्थ्य अधिकार सूर्ति नियन्त्रण जिल्ला सञ्जाल भोजपुरका संयोजक फविन्द्र प्रधान, भोजपुर बहुमुखी क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रिताल, सुरक्षा निकाय र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरु लगायत एक दर्जन बढि सहभागी अनुगमन टोलीले सो अनुगमन गरेको हो । भोजपुर सदरमुकामस्थित पोखरे बजारदेखि चारभञ्ज्याङ्ग, बीच बजार, बैंक रोड, डाँडागाउँ, लोकतान्त्रिक चोक, क्याम्पस गेट हुँदै जिल्ला अस्पतालको गेटसम्म करिब पाँच दर्जनबढि पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा गैरकानुनी रुपमा राखिएका सूर्तिजन्य पदार्थहरुलाई हटाउन, किराना पसल, होटल, कस्मेटिक पसल, हार्डवेयर पसलहरुमा नियम विपरित बेचविखन नगर्न, छुट्टै इजाजत पत्र लिएर मात्र बिक्रि वितरण गर्न सरकारले निर्णय गरी व्यवस्था गरेको बारे सम्झाउने कार्य गरिएको थियो । साथै नेपाल सरकार मन्त्री परिषद्ले गत माघ ६ गते गरेको निर्णयको हाते पर्चाहरु र नयाँ वर्षसंगै स्वास्थ्य मन्त्रालयले शुरुवात गरेको मेरो वर्ष २०७४ अभियान र ५ वटा प्रतिबद्धताहरु समेत वितरण गरिएको थियो ।
अनुगमनको क्रममा पसलमा म्याद सकिएका उपभोग्य सामग्रीहरु समेत फेला परेका थिए भने दर्ता नभई सञ्चालनमा रहेका पसलहरु समेत भेटिएका थिए । त्यस्तै अनुगमनको क्रममा किराना पसल, कस्मेटिक पसल, सब्जी पसलहरुबाट समेत गैर कानुनी रुपमा सूर्ति तथा मदिरा विक्रि वितरण भइरहेको पाइएको थियो । साथै कोष तथा लेखा नियन्त्रण कार्यालयले दर्ता प्रमाण पत्रहरु भए नभएको अनुगमन गरी अनिवार्य ग्राहकले देख्ने गरी प्रमाण पत्रहरु राख्न, नविकरण नगरेको भए तत्काल नविकरण गर्न समेत ब्यापारीहरुलाई आग्रह गर्नुभएको थियो । जिल्लास्तरीय अनुगमन समितिको गत वुधवार बसेको बैठकले सदरमुकामस्थित बजार पसलहरुमा सूर्ति नियन्त्रणका लागि अनुगमन गर्ने निर्णय गरेको थियो ।
सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ को दफा ११ को उपदफा (६) मा नेपाल सरकारले सूर्तिजन्य पदार्थ बिक्रि वितरण गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था गरेको छ । जिल्लास्तरमा ऐनको प्रावधानहरु कार्यान्वयन भए नभएकोबारे सहायक प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले अनुगमन गरी कानुन बमोजिम कारवाही गर्न सक्ने व्यवस्था समेत ऐनमा रहेको छ ।