मन्त्रीहरू र सेनाप्रमुखको राजीनामाको माग

अफगानिस्तान । अफगानिस्तानको बाल्ख प्रान्तमा रहेको एक सैनिक शिविरमा शुक्रबार भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा एक सय सैनिकको ज्यान गएपछि यहाँ आइतबार राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

आफ्ना आफन्तको अन्तिम संस्कार गरी सकेपछि आफन्त गुमाएर अत्यन्त क्रोधित भएका आफन्तजनले आइतबार मन्त्रीहरू र सेनाप्रमुखको राजीनामाको माग गरेका छन् ।

आफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा गत शुक्रबार भएको यस आतङ्ककारी आक्रमणमा परी ज्यान गुमाउने सैनिकको एकिन सङ्ख्या अझै पनि प्रष्ट भएको छैन । केही स्थानीय अधिकारीहरूले यस आक्रमणमा परी १३० सैनिकको मृत्यु भएको जानकारी दिएका छन् ।

तालिबानहरू सत्ताबाट हटेको १५ वर्ष पछाडि पनि सैनिक शिविर लक्षित यस्तो भीषण आक्रमण भएको बताइएको छ । अफगान गृह मन्त्रालयले दिएको तथ्याङ्क अनुसार यस आक्रमणमा परी कम्तीमा एक सय सैनिक मारिनुको साथै घाइते भएका छन् ।

प्रान्तीय राजधानी मजार ए शरिफनजिकै करिब पाँच घण्टासम्म जारी यस आतङ्ककारी आक्रमणमा मारिएका र घाइते सैनिकहरूको एकिन सङ्ख्या। काबुलले प्रष्ट पार्न सकेको छैन ।

प्रान्तीय परिषद्को प्रमुख मोहमद इब्राहिम खैरानदिसलगायत स्थानीय अधिकारीहरूले यस आक्रमणमा १३० जना मारिनुको साथै अन्य ६० घाइते भएको जानकारी दिएका छन् ।

सैनिकको पोशाक र आत्मघाती भेस्ट लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिङ्ग हलमा फैलिएर रहेका निःसशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।

सन् २०१४ को अन्त्यमा अमेरिकीआवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिबासँगको युद्धमा आफूहरू सो युद्धमा नजाने घोषणा गर्दै प्राय नेटो सैनिक त्यहाँबाट फर्किएपछि अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको आतङ्ककारी आक्रमण बढेको बताइन्छ ।

अमेरिकी निगरानीकर्ता सिगारका अनुसार सन् २०१६ मा अफगानिस्तानमा ६ हजार ८ सय सैनिक र प्रहरी तालिबानले गरेको विभिन्न आक्रमणमा मारिएका थिए ।