विराटनगर । रोजगारीको क्रममा १३ वर्षदेखि अफ्रिकी मुलुक युगान्डामा रहेका एक नेपालीको हत्या भएको छ । भोजपुरको षडानन्द नगरपालिका साविकको केउरेनीपानी गाविस ९ का ३५ वर्षीय सीताराम बुढाथोकीको शनिबार हत्या भएको हो ।
युगान्डाको कमौली स्थित उखु बगानमा सुपरभाइजरका रुपमा कार्यरत बुढाथोकीको स्थानीय कामदारले आक्रमण गरेर हत्या गरेको भतिजा जलेस बुढाथोकीले बताए । उखु बगानमा कार्यरत मध्ये उहाँ एक मात्र नेपाली थिए ।
बुढाथोकी कार्यरत कम्पनीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सबै खर्च बेहोरेर शव नेपाल पठाउने प्रतिवद्धता जनाएको युगान्डामा कार्यरत गैरआवासिय नेपाली संघका अध्यक्ष रमेश कँडेललाई उद्रित गर्दै भतिता जलेसले बताए । उहाँका अनुासर कम्पनीले पनि घटनाका बारेमा आन्तरिक रुपमा छानविन सुरु गरिएको जनाएको छ ।
कँडेलले स्थानीय कामदारबीचको मनमुटावलाई साम्य पार्न खोज्दा उल्टै बुढाथोकीमाथि आक्रमण भएको प्रारम्भीक जानकारी प्राप्त भएको खवर आफन्तलाई दिनु भएको छ । हत्या गरेपछि उखु बगान नजिकै शव फ्यालिएको अवस्थामा फेला परेको थियो । जलेसका अनुसार कँडेलले युगान्डा सम्बन्धी मामला इजिप्टमा रहेको नेपाली नियोगले हेर्ने भएकाले बुढाथोकीको शव नेपाल फर्काउने र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर क्षतिपूर्तिका लागि पहल थालिने जानकारी दिए।
जलेसका अनुसार युगान्डाको राजधानी काम्पलाबाट गाडीमा यात्रा गर्दा चार घण्टा लाग्ने उखु बगानमा बुढाथोकी एक मात्र नेपाली कामदार थिए । त्यही बगान अन्तर्गको चिनी कारखानामा अन्य तीन जना नेपाली कामदार कार्यरत छन् । युगान्डामा झन्डै ७० जना नेपाली कामदार रहेको जानकारी युगान्डामा कार्यरत गैरआवासिय नेपाली संघले दिएको जलेसले बताए। संघले युगान्डामा आक्रमण गरेर नेपालीको हत्या गरिएको पहिलो घटना भएको जनाएको छ ।
परिवारले तत्काल बुढाथोकीको शव नेपाल ल्याउन र क्षतिपूर्तिका लागि पहल थाल्न सरकारसंग आग्रह गरेको छ । घटनापछि परिवारका सदस्य शोकमा डुबेका छन् । १४ वर्षदेखि युगान्डामा कार्यरत बुढाथोकी दुई वर्ष अघि नेपाल फर्केका थिएँ । विवाह गरेपछि श्रीमती जानुका बुढाथोकीलाई साथमै लिएर २०७२ सालको दशैं मानेर युगान्डा फर्केका थिए । उहाँकी युगान्डामै जन्मिएकी आठ महिनाकी छोरी पनि छन् । सीतारामको हत्यापछि युगान्डामा श्रीमती र छोरीको पनि विचल्ली भएको परिवारले जनाएको छ ।परिवारमा श्रीमती र छोरी बाहेक सीतारामका बुवा, आमा, दाजु र भाई रहेका छन् ।