बैतडीमा चुनाव सरेपछि निर्वाचन गतिविधिमा सुस्तता

बैतडी । सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ ।

प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख ३१ गते हुने भनेको प्रदेश नं ७ को निर्वाचन जेठ ३१ मा सारेपछि निर्वाचन गतिविधिमा सुस्तता आएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । “गाउँसहर निर्वाचनमय भइसकेको थियो”, उहाँले भन्नुभयो, “जेठ ३१ मा चुनाव सारेपछि निराशा छाएको छ ।”

जेठ ३१ मा निर्वाचन हुने भएपछि वैशाख १२ गतेदेखि दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागि रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले बताए। “वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ”,। भने “दुई चरणमा निर्वाचन हुने भएपछि चुनावी गतिविधिमा सुस्तता आएको छ ।”

पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दल दोस्रो चरणमा चुनाव हुने भएपछि चुनावी अभियानलाई विश्राम दिन थालेका छन् । बैतडीमा दोस्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेदवार छनौटको कसरतमा लागिरहेका दल अब बिस्तारै उम्मेदवार छान्ने मनस्थितिमा पुगेका छन् । जेठ ३१ मा चुनाव हुने भएपछि उम्मेदवार छनौट प्रक्रिया बिस्तारै थाल्ने नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताए ।

यस्तै, राप्रपाले पनि उम्मेदार छनौट कार्यलाई बिस्तारै गर्ने जनाएको छ । पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोस्रो चरणका लागि बिस्तारै उम्मेदवारको टुङ्गो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताए ।

नेकपा ९माओवादी केन्द्र०का जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले सरकारले चुनावको मिति सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताए ।

जिल्लाका १० ओटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको नेकपा (एमाले) र माओवादी केन्द्रले पनि चुनावी गतिविधिमा सुस्तता आएको बताउनुभयो । आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरे पनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशङ्का जन्माएको एमाले बैतडीका सचिव लीलाधर भट्टले बताए ।

सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासि घटेको दोगडाकेदार–३ श्रीकोटका वीर सिंह भाटको भनाइ रहेको छ ।