भाेजपुर । नेपाली जनताको लामो चाहना अनुरुप संविधानसभाको निर्वाचन र संविधानसभाबाट जनप्रतिनिधिहरुको सहभागीतामा निमार्ण भएको संविधान अनुसार राज्यको पुनःसंरचना भयो । संविधानको मुलमर्म अनुसार नै राज्य पुनःसंरचना आयोगले स्थानीय तह पुनःसंरचनाकोे प्रतिवेदन बुझाएको केही दिनमा सरकारले राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा गएको थियो । स्थानीय तह पुनसंरचना अनुसार स्थानीय तहमा कार्यालय व्यवस्थापन लगायत अन्य कामहरु अगाडी बढिसकेको छ । संविधानको भावनाअनुसार स्थानीय तह कार्यान्वयन हुनका लागि निर्वाचनको अपरिहार्यता हुन्छ ।
सरकारले पनि दुई चरणमा स्थानीय तह निर्वाचनको घोषणा गरिसकेको छ । तोकिएको समयमा निर्वाचन हुन्छ या हुदैन भन्ने शंका पैदा भएपनि यसबर्ष भित्र निर्वाचन गुर्नपर्ने बाध्यता छ । यसवर्ष भित्र निर्वाचन नगरिए संवैधानिक जटिलता आउन सक्छ । त्यसकारणले संसदमा प्रतिनिधि गर्ने दलहरुलाई तीन तहको निर्वाचन गराउन बाध्यता छ ।
राज्य पुनःसंरचना अनुसार अधिकारहरु समेत स्थानीय तहमा जाने भएपछि यसपटकको स्थानीय तहको निर्वाचनलाई निकै महत्वपूर्ण साथ हेरिएको छ । जिल्लामा हुदै आएको अधिकारहरु स्थानीय तहमा जादैछ । अधिकारसम्पन्न स्थानीय तह निमार्ण भएपछि राजनीतिक प्रभाव जमाउनका लागि यसपटकको निर्वाचनमा राजनीतिक दलहरु कम्मर कसेर लागेका छन । स्थानीय तहको निर्वाचनले प्रदेश र केन्द्रको निर्वाचनलाई समेत प्रभाव पार्न भएकाले जिल्लाको क्रियाशिल दलहरु राजनीतिक हैसियत बढाउन रणनीतिक रुपमा लागेको छ ।
स्थानीय तह निर्वाचन जित्नका चुनावी एजेण्डा, सांगठानिक अवस्थासंगै उम्मेदवारको व्यक्तित्व र जातीय सन्तुलनले समेत प्रभाव पार्छ । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले अधिकांश उम्मेदवारहरु नयाँ र अघिल्लो स्थानीय निर्वाचनमा निर्वाचित भएका केही व्यक्तिहरुलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको व्यक्तित्व र जातीगत अवस्थालाई विश्लेषण गर्न थालिएको छ । प्रदेश र केन्द्रको भन्दा अलिक फरक पुष्ठभुमिमा हुने स्थानीय निर्वाचनमा नातागोता, जातीय सेन्टीमेन्टले समेत ठुलोे प्रभाव राख्ने देखिन्छ । केन्द्र र प्रदेशको निर्वाचनमा पार्टीको सांगठानिक र चुनावी एजेण्डाले प्रमुख महत्व राख्दछ भने स्थानीय तहको निर्वाचनले सामाजिक निस्कलङकीत व्यक्तित्व र जातीय सेन्टीमेन्टलाई प्रभाव पार्न सक्ने उम्मेदवार भए निर्वाचन जित्न सक्ने विष्लेषण गरिएको छ ।
उम्मेदवारको व्यक्तित्व, चुनावी एजेण्डा, जातीय सेन्टीमेन्ट दिन सक्ने र सांगठानिक अवस्था राम्रो भएका दलले जित्ने देखिन्छ । भोजपुरमा राई, क्षेत्री, ब्राह्मण, तामाङ, नेवार सबैभन्दा बढि जनसंख्या जातीको रुपमा देखिएको छ । समग्र जिल्ला बहुसंख्यक राईहरुको संख्या रहदै आएको भोजपुरमा स्थानीय तह पुनःसंरचनापछि विभाजित ९ वटा ईकाईहरुमा पनि राईको राई जातीको संख्या बढि रहेको छ । ७ वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको भोजपुरको अधिकांशमा राई जातीको संख्या बढि रहेको छ । राई पछि दोस्रो जातीमा क्षेत्री रहेको छ । क्षेत्रीसंगै केही इकाईमा ब्राह्मण, नेवार र तामाङ जाती दोस्रो जातीगत अवस्थामा रहेको पाइएको छ । जिल्लामा बहुसंख्यक राईहरुको बाहुल्यता रहको जिल्लामा ३८.४९ प्रतिशत राई रहेको छ । जिल्ला समन्वय समिति भोजपुरको सुचना तथा अभिलेख केन्द्र २०७२ को जातिगत तथ्याङ्कले भोजपुरमा राईहरुको संख्या ७७,७३४छ भने दोश्रोमा ३९,२९८ संख्या रहेको क्षेत्रीको बाहुल्यता छ ।
स्थानिय तहको निर्वाचनमा राजनीतिक दलका नेता कार्यकर्ताहरु जातीगत भोटका लागि यतिबेला गाउँगाउँमा जातीय सेन्टीमेन्ट बटुल्न खोजिरहेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु जातीय सेन्टीमेन्ट बटुल्नका लागि विभिन्न रणनीति अपनाउन थालेका छन् । जातीय सेन्टीमेन्ट बटुल्न नातासम्बन्ध, नातागोताको कुरा लिएर मनाउन थालिएको छ । गोप्य रुपमा सबै दलका नेता कार्यकर्ताहरुले भित्री रुपमा जातीय सेन्टीमेन्ट बटुल्न खोजेका छन । जातीय कुरा बाहिरी रुपमा धेरै उचाले त्यसको असर ठुलो पर्ने भएकाले गोप्य रुपमा लिन खोजिएको छ ।
जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकाहरुमध्ये भोजपुर नगरपालिकामा ६ हजार ९ सय ६८ राई, ६ हजार ४ सय १८ क्षेत्री, ५ हजार ९ सय ६३ नेवार, ४ हजार ७ सय ९१ तामाङ्ग, १ हजार १ सय १८ ब्राम्हण, ७ सय १४ शेर्पा, ४०३ गुरुङ्ग, १ सय ९६ मगर, ५ सय पाँच भुजेल र २ हजार ७२ दलितको संख्या रहेको छ । उत्तरी षडानन्द नगरपालिकामा ८ हजार ५ सय ५७ राई, ६ हजार ५ सय ९९ क्षेत्री, ६ हजार ३ सय चार तामाङ, २ हजार ८ सय २५ नेवार, २ हजार ४ सय ४९ ब्राम्हण, १ हजार ५ सय २१ मगर, ९ सय १८ शेर्पा, ५ सय ७० गुरुङ्ग, ५ सय ९ भुजेल र ३ हजार ९ सय आठ दलित रहेको छ ।
त्यस्तै गाउँपालिकाहरुमध्ये उत्तरी साल्पासिलिछो गाउँपालिकामा ७ हजार ७ सय ३० राई, २ हजार ५ सय २७ क्षेत्री, १ हजार ३४ तामाङ्ग, ६ सय ८३ शेर्पा, ३ सय ९ ब्राम्हण, २ सय ८८ गुरुङ्ग, १ सय ८१ मगर, १ सय ६१ नेवार, चार भुजेल र ८ सय ४० दलित संख्या रहेको छ । त्यस्तै पूर्वी अरुण गाउँपालिकामा ४ हजार ३ सय ६८ राई, ४ हजार ३ सय ९७ क्षेत्री, २ हजार ९ सय ९६ मगर, २ हजार ३ सय ३२ नेवार, १ हजार ४ सय २१ ब्राम्हण, १ हजार ३ सय ६२ तामाङ्ग, छ शेर्पा, तीन गुरुङ्ग, ७ सय ९१ भुजेल र १ हजार ८ सय १५ दलितको बसोबास रहेको छ । त्यसैगरि दक्षिणपूर्वी पौवादुम्मा गाउँपालिकामा ६ हजार ६ सय ३९ राई, ४ हजार ९ सय ७८ क्षेत्री, १ हजार ६ सय ८७ तामाङ, ७ सय ८२ नेवार, ४ सय ८९ ब्राम्हण, ३ सय ९४ मगर, २ सय २६ शेर्पा, ११ गुरुङ्ग , २ सय भुजेल र १ हजार ५ सय ५५ दलित रहेका छन् । त्यसैगरी दक्षिणी आमचोक गाउँपालिकामा ८ हजार ८ सय २५ राई, ४ हजार ३ सय ४४ क्षेत्री, २ हजार १ सय चार नेवार, २ हजार १३ मगर, ६ सय ३१ शेर्पा, ४ सय १० तामाङ्ग, १ सय ७० भुजेल, ८३ ब्राम्हण र १ हजार ८ सय १४ दलितको बसोबास रहेको देखिन्छ । त्यसैगरी दक्षिणी हतुवागढी गाउँपालिकामा सबैभन्दा धेरै किराँत राईबस्ती रहेको पहिलो गाउँपालिका हो । जहाँ १५ हजार २ सय ६६ राई, ३ हजार ८ सय ७२ क्षेत्री, ५ सय ९५ नेवार, ४ सय ५६ तामाङ्ग, २ सय ७१ मगर, २ सय ४७ भुजेल, ९२ ब्राम्हण र १ हजार ९ सय एक दलितको संख्या तथ्याङ्कले देखाएको छ । त्यस्तै दक्षिणपश्चिमी रामप्रसाद राई गाउँपालिकामा ९ हजार २ सय ६६ राई, ३ हजार ५ सय २६ क्षेत्री, २ हजार १ सय ९९ तामाङ्ग, १ हजार ५ सय ७७ मगर, १ हजार १ सय १३ ब्राम्हण, ४ सय ३८ भुुजेल, ४ सय २ नेवार र २ हजार ३ सय ५१ दलितहरु रहेका छन् । त्यस्तैपश्चिमी ट््याम्केमैयुम गाउँपालिकामा १० हजार १ सय १५ राई, २ हजार ६ सय ३७ क्षेत्री, २ हजार ४६ ब्राम्हण, १ हजार २ सय नौ नेवार, ६ सय ७६ तामाङ्ग, ५ सय भुजेल, २ सय ६६ मगर, २ सय ४४ शेर्पा, १ सय छ गुरुङ्ग र ३ हजार १ सय सात दलितको बसोबास रहेको छ ।