भोजपुर । स्वास्थ्य अधिकार सूर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल भोजपुरले साप्ताहिक शनिवारे हटियामा धुम्रपानविरुद्धको जनचेतना अभियानलाई यो साता पनि निरन्तरता दिएको छ । अभियानका कारण हटियामा धुम्रपान गर्ने व्यक्तिहरुको संख्या गत हप्ताभन्दा न्यून रहेको अनुगमनको क्रममा पाइएको छ । अभियान अन्तरगत सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐन २०६८ कार्यान्वयनको लागि २०७३ माघ ६ गते मन्त्री परिषद्ले गरेका निर्णयहरु, मेरो वर्ष २०७४ अभियानका प्रतिबद्धताहरु, जिल्ला स्वास्थ्य कार्यालय, भोजपुर र सञ्जालले उत्पादन गरेको धुम्रपान विरुद्धको स्वास्थ्य सन्देश, धुम्रपान भनेको के हो? यसबाट के कस्ता असरहरु हुन्छन् ?
धुम्रपानको लत कसरी छोड्ने, धुम्रपानबाट कस्ता कस्ता रोगहरु लाग्छन्? र यसबाट बच्ने उपायहरु के हुन सक्छन्? भन्ने बारेको जानकारीमुलक सामग्री माइकिङ्ग गरिन्दै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सञ्जालमार्फत यो अभियानलाई हरेक हप्ता हटियामा निरन्तरता दिइने सञ्जाल संयोजक फविन्द्र प्रधानले बताए ।