काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् ।
‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ,’ कांग्रेस नेता विश्वकर्माले भने ।
कार्की निलम्बित
कांग्रेस र माओवादी सांसदहरुले महाअभियोग दर्ता भएलगतै प्रधानमन्यायाधीश कार्की स्वतः निलम्बित भएकी छन् । महाअभियोग दर्ता भएको सूचना राष्ट्रपति कार्यालय र संवैधानिक अंगहरुमा पठाइएको छ ।
कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश हुन् । उनले गत २०७३ असार २७ गते कार्यभार सम्हालेकी थिइन् ।