भक्तपुर । ‘आमा, बुबा हाम्रो नगरको विकास गर्न तपाईं कै गाउँको केटो म आएको छु, मलाई भोट दिनुस है ।’
बिहान ७ बजे नै नेपाली काँग्रेसबाट भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले हात जोडेर सिरुटारको उपयोगी चोकमा ज्येष्ठ नागरिकसँग भोट मागेका थिए ।
झन्डा र प्रचार सामग्री बोकेर टोलीसहित भोट माग्न आएका नेतालाई देखेर उत्साहित भएका मतदाताले भने —“हामी भोट दिन्छौ तपाईंहरु हामीलाई पानी दिनुस् ।”
उम्मेदवार कार्कीले गाउँमा पानी ल्याइदिने बचन दिए । टोलीमै उपप्रमुखकी उम्मेदवार कल्पना राजथलासहितको काँग्रेसको टोलीले भोट माग्दै सूर्यविनायक नगरपालिका १ सिरुटारको टोल÷टोल र घर÷घरमा पुग्दा मतदाता निकै उत्साहित भएका थिए ।
यता नेपाली काँग्रेस मध्यपुर थिमिका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले पनि घरदैलो अभियान सुरु गरे । मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीबाट घरदैलो अभियान सुरु गरेको हो ।
लोकन्थलीको द्वारेटोल, सरस्वतीनगर, सङ्गमनगर लगायतको क्षेत्रमा घर÷घरमा पुगेर प्रमुखका उम्मेदवार कवेँले भोट मागेका थिए । मध्यपुर थिमिको मुहार फेर्ने र विकास ल्याउने बाचा गर्दै भोट दिन आग्रह गरेका थिए ।
यता चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले पनि आजदेखि घरदैलो अभियान सुरु गरेको छ । सो दलका प्रमुखको उम्मेदवार रहनुभएका एमाले केन्द्रीय सदस्य सोम मिश्र र उपप्रमुख उम्मेदवार बिना बास्तोलाले घर÷घरमा पुगेर भोट मागेका छन् ।
मतदातासँग उम्मेदवार मिश्रले जिल्लामै पछाडि परेको चाँगुनारायण नगरपालिकामा विकासको लहर ल्याउने प्रतिबद्धता जनाए ।
उहाँले चाँगुनारायणका गाउँगाउँलाई सडक सञ्जालसँग जोड्ने, यस नगरक्षेत्रमा अझै पनि सडक पक्की हुन नसकेकाले निर्माण भएका सडकलाई पक्की बनाउने, खानेपानी र सिँचाइको व्यवस्था गर्ने, यातायातको पहुँच गाउँगाउँमा पु¥याउने प्रतिबद्धता जनाए ।
गाउँगाउँमा बाजागाजासहित झन्डा र प्रचार सामग्री बोकेर समर्थकको लहरमा नाचगान गर्दै घर÷घरमा पुगेर भोट मागे ।