छापामारदेखि अल्ट्रा म्याराथुनसम्म कसरी फड्को मारिन् मीराले ?

भोजपुर । जिल्लाको पूर्वीे सानोदुम्माको घोर्लेवनमा रहेका मीराका बाबुआमा भन्छन्– ‘हाम्रो दुस्खी जिन्दगी थियो, भरथेग मीराकै थियो, ऊ हिँडेपछि सहारा कोही थिएन’ ।

‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु ?’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।

अल्ट्रा म्याराथन धाविका मीरा राईकी आमा पम्फाले विगत सम्झिइन् । जतिबेला मीरा १४ वर्षकी थिइन्, देशमा सशस्त्र द्वन्द्व चर्कंदै थियो । गाउँको मानेडाँडा माविमा कक्षा ६ मा पढ्दै गरेकी मीरा तत्कालीन माओवादी निकट विद्यार्थी संगठनमा लागेर स्कुलबाटै हिँडिन् । हिँडेको दिन, साता, महिना र वर्ष बिते । एक÷दुई दिनमै फर्केर आउँछु भनेकी मीरा धेरै समय फर्केर आइनन् । ‘घरमा रुवाबासी थियो, कसैले छोरीलाई अपहरणकारीले लगेर मारिसके भन्थे, कसैले फर्केर आउँछे भन्थे,’ पम्फाले वेदना पोखिन्, ‘खोज्न जाऊँ त कहाँ ?’

सानी, पातली, दुब्ली चेहराकी मीरा सानोमा छरिती, फुर्तिली र साहसी थिइन् । ४५ मिनेट उकालो चढेर स्कुल पुग्थिन् । भारी बोकेर आफ्नो र भाइबहिनीको पढ्ने खर्च धान्थिन् । आधा घण्टा तलको जुकेपानीस्थित पँधेराबाट पानी ओसार्थिन् । ‘सानैदेखि एकछिन बस्दिनथी, एकैछिनमा स्कुल पढेर आउँथी, घाँस, सोत्तर, पानी सकीनसकी ल्याउँथी, भाइबहिनीको हेरचाह गर्थी,’ बुवा सुकाबहादुर राईले उनको बाल्यावस्था सुनाए ।

जिल्लाको पश्चिमी अति विकट गाउँ सानोदुम्मा–९ घोर्लेवनमा जन्मेकी मीरा छिमेकी जिल्ला धनकुटाबाट ७ वर्षकै उमेरदेखि नुन–चामलको भारी बोकेर घरमा ल्याउँथिन् । ‘गाउँको दुस्ख, त्यतिबेला एकदमै गाह्रो थियो, भाइबहिनी काखमा च्यापेर हतार–हतार काम गर्थें,’ ईकान्तिपुरकी एम्बेसडरसमेत रहेकी मीराले भनिन् । उनका कान्छा काका नेपाल आर्मीमा थिए । काकाजस्तै आत्मनिर्भर बन्ने सपना थियो उनको । पढाइलाई निरन्तरता दिने आधार थिएन । ‘बाबुआमा, भाइबहिनीलाई सुखी बनाउने, पढीगुनी ज्ञानी बन्ने सपनाले सब चिज छाडेर यता लागें,’ उनले भनिन् । घर छाडेको अढाई वर्षपछि सकुशल रहेको खबरसहित अचानक एउटा चिठी र फोटो आयो बाबुआमाको नाममा । ‘बाँचेकी नै छे भने एकदिन आउली भन्ने लाग्थ्यो, ढुक्क थिएनौं,’ आमाले सुनाइन् ।

चिठी पठाएको ६ महिनापछि छोरी नै घर आइपुगेपछि मात्रै उनका बाआमालाई पत्यार लाग्यो ।

उनी लडाकुको सिन्धुली शिविरमा बस्थिन् । २०६२र६३ मा संयुक्त राष्ट्रसंघीय मिसनले अयोग्य ठहराएपछि घर फर्किनन् । उतैबाट एसएलसी पास गरिन् । १८ महिने कृषि जेटिए पढिन् । घरको आर्थिक अवस्था कमजोर नै थियो । २०७० मा वैदेशिक रोजगारीका लागि मलेसिया जाने निधो गरेर काठमाडौं लागिन् । ‘विदेश जाने रहर थिएन, घरको आर्थिक समस्याले गर्दा, राम्रो कम्पनीका लागि अफर आएको भनेपछि जान लागेकी थिएँ,’ मीराले ३ वर्षअघिको घटना सम्झिइन् । काठमाडौं पुगेपछि बालाजु कराँते एकेडेमीका सञ्चालक धु्रवविक्रम मल्लसँगको भेटले नयाँ मोड लियो । मलेसिया जान लागिसकेको भिसा रद्द गरेर खेलकुदमा लागेकी उनले यतिबेला नाम र दाम कमाएकी छन् ।

भिसा रद्द गरेको ३ महिनापछि हिमालय आउटडोर फेस्टिभलमा पहिलो पटक प्रतिस्पर्धामा सहभागी भइन् । त्यो प्रतियोगिता फूलबारीगेटदेखि मकवानपुरको हात्तीवनसम्म ५० किलोमिटर दौड थियो । प्रतियोगिता जितेर प्रथम भइसक्दा पनि अल्ट्रा रेस के कस्तो हो भन्ने उनलाई थाहै थिएन । दोस्रोपल्ट मुस्ताङमा दौडेपछि मात्र त्यसबारे बल्ल बुझिन् । उनी अहिले विश्व अल्ट्रा रेसमा दोस्रो वरीयतामा छिन् । गत वर्ष फ्रान्समा आयोजित ८० किमिको विश्व म्याराथनमा पूर्वविजेतालाई पछि पार्दै पहिलो स्थान हात पारेपछि मीराको परिचय एकाएक फेरियो । नेसनल ज्योग्रोफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ ९एड्भेन्चर्स अफ द इयर–२०१७० को अवार्ड जितेपछि त यतिखेर उनी चर्चाको शिखरमै छिन् ।

मीराका दाजु पराण र भाउजू झापामा कुखुरा फार्म खोलेर बसेका छन् । झापा सुरुंगामा मीराकै लगानीमा घर बनाइसकेका छन् । भाइ प्रमोद झापामै डिप्लोमा गर्दै छन् । बहिनीहरू लक्ष्मी र फूलमाया धनकुटामा कृषि जेटीए पढदै छन् । बाआमा भोजपुर सानोदुम्मा गाउँमै बसेका छन् । केही वर्षपछि झापामै झर्ने तयारी उनीहरूको छ ।

‘विकट गाउँकी दुस्ख भोगेकी छोरी हो, आज चम्किलो तारा बनेकी छ, उनको संघर्ष बयान गरेर सकिन्न,’ स्थानीय सानोदुम्मा माविका प्रधानाध्यापक अर्ज‘न राईले भने ।

यतिखेर मीरा थप प्रतिस्पर्धाको तयारीमा छिन् । तर केही महिनाअघि खुट्टामा चोट लागेकाले उपचारमा लागेकी छन् । स्पेन, फ्रान्स, चीन, इटालीमा हुने दौडमा सहभागी हुने उनको योजना छ । २५ वर्षीया मीराले स्वास्थ्यले साथ दिएसम्म खेलमै जीवन बिताउने बताइन् । ‘दौडेर, प्रतिस्पर्धा गरेर म कहिल्यै थाक्दिनँ,’ उनले भनिन् । ट्रेल रनिङ नेपालको आयोजना र लोइड बेल्चरको निर्देशनमा उनको बारेमा ‘मीराज् फिल्म’ वृत्तचित्र बनेको छ । कान्तिपुर