भोजपुरको अधिकांश भागमा खानेपानीको संकट गहिरिदै

भोजपुर । सुख्खा खडेरी र बर्षात नहुदाँ जिल्लाको अधिकांश भागमा खानेपानीको संकट गहिरिएको छ । खानेपानीको मुहान सुक्न थालेपछि जिल्लाका केही गाउँहरुमा घरदेखि घन्टै टाढा खोला र नदीबाट खानेपानी ओसार्नु पर्ने बाध्यता बनेको छ ।
दूईवटा नगरपालिका ७ वटा गाउँपालिका रहेको भोजपुरमा अधिकांश क्षेत्रमा खानेपानी समस्या बढेको छ । कहिल्यै खानेपानीको मुहान नसुक्ने ठाउँमा समेत खानेपानी सुक्न थालेपछि मानिसहरु बसाईसराई सर्न थालेका छन । भोजपुर सदरमुकाममा समेत चार बर्षदेखि खानेपानीको समस्या देखिएको छ । प्रत्येकको घरमा धारामार्फत वितरण हुने सदरमुकाममा खानेपानी धारामा पानी आउन छाडेको छ । भएको मुहान सुकेपछि विहान र बेलुकीको समयमा पानी वितरण हुने भोजपुरमा खानेपानीको अभावले हाहाकार मच्चिएको छ ।
सरकारले सन् २०१७ सम्म सबै नेपालीलाई खानेपानी तथा सरसफाइ पु¥र्याउने लक्ष्य राखे पनि भोजपुरमा भने यो लक्ष्य पूरा नहुने देखिएको छ । गत बर्ष नै जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिले सिंगो जिल्लालाई खुल्लादिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेपनि पानीको अभावले गर्दा अभियानलाई प्रभावित भएको छ ।

जिल्लामा रहेको धेरै खानेपानी आयोजनाहरु सञ्चालित रहेपनि मुहान सुक्न थालेपछि उक्त आयोजनाहरु नै प्रभावहिन हुने अवस्थामा पुगेको छ । कृषि र पशुपालनका लागि राम्रो मानिएको भोजपुरको अधिकांश गाउँघरहरुमा पानीको मुहान सुक्दै गएपछि अघिल्लो बर्षदेखि ३० प्रतिशत खेत बाझै छ । प्राकृतिक कुवा र खोलाखोल्सीको जरुवा पानी पनि सुक्दै गएको छ । खानेपानी आभावकै कारण राष्ट्रपति विद्यादेवी भण्डारी जन्मनुभएको मानेभञ्ज्याङको आम्बोटे गाउँमा धेरै घरपरिवारले बसाइँ नै सरेको छ । विनाश कारी भुकम्प र खडेरीले जिल्लाको मानेभञ्ज्याङ एउटा सिंगो विगत ३ बर्ष देखि खानेपानीको संकटले जोखिममा
परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी जन्मुनभएको मानेभञ्याङ्गमा विगत दुईबर्षदेखि खानेपानीको मुहान सुकेपछि खानेपानी अभावले गाउँ नै जोखिममा पर्दै आएको छ । यसै गाउँको माटोमा जन्मनुभएका विद्यादेवी भण्डारी राष्ट्रपति हुदाँ गर्व गर्ने सर्वसाधारण यतिबेला खानेपानीको संकट आएपछि मानिसहरु गाउँ छोडने की बस्ने भन्ने दोधारमा छन ।
खानेपानी अभावकै कारणले डेढ सय घरपरिवार बसाई नै सरिसकेका छन । सदियौंदेखि सर्वसाधरणले उपभोग गर्दै आएको खानेपानीको मुहान प्राकृतिक कुवा र खोलाखोल्सीको जरुवा पानी पनि सुक्दै गएपछि ३ हजार घरधुरीको मानेभञ्ज्याङ्ग बस्तीमा मानवीय संकट उत्पन्न भएको छ । लामो समयदेखि खादै आएको खानेपानी मुहान पनि सुकेपछि मानवीय संकट उत्पन्न हुदै आएको मानेभञ्ज्याङका युवा तिलाचन तामाङले बताए ।

खानेपानी अभाव पूर्ति गर्नका लागि नेपाल सरकारले आयोजना सञ्चालन गर्ने तयारी गरेपनि काम अलपत्र परेका उनले बताए । पानीको अभावले गर्दा दैनिक रुपमा पानीको जोहो कसरी गर्ने भन्ने घरका महिलाहरुलाई सताउने गरेको छ । खानेपानी व्यवस्थापनका लागि महिलाहरु रातभरी सुत्ने नगरेको मानेभञ्ज्याङका इन्दिरा पाण्डेले बताइन । पानी लिनको लागि टाढा टाढा जानुपरेको र महिलाहरु दिन र रातभरी पानीको पालो बस्ने गरेका छन । भएको सबै मुहानहरु सुकेर गएपछि सिंगो गाउँको ३ वटा कुवामा पानीका लागि भिड लाग्ने गरेको छ ।

एक गाग्री पानीको थाप्नका लागि घण्टौ कुर्नुपर्ने बाध्यताले सर्व साधरणहरुका लागि पानी खोज्ने दिनदैनिकी बनेको छ । खानेपानीको अभावले पशुपंक्षी र चौपायाहरु झन ठुलो संकटमा परेको छ । खानेपानी अभावले सानो भएको धारामा महिलाहरुको भिड लाग्ने र थाप्नका लागि झगडा समेत हुने गरेको मानेभञ्ज्याङका समाजसेवी दीपक तामाङले बताए । खानेपानीको तत्काल संकट टार्नका लागि नजिकैमा स्रोत समेत नभएको तामाङले बताए ।
कृषि र पशुपालनबाट निर्भर रहदै आएका यस गाउँमा आवश्यक मात्रामा बर्षात नहुँदा र खडेरीले पानीको मुहान सुक्दै गएपछि खेतबारी बाझै हुदै आएको छ । खानेपानी आभावकै कारण बसाईसराईले बस्तीहरु रित्तो हुने अवस्थामा पुगेको छ भने महिलाहरुलाई खानेपानीको जोहो गर्न ठुलो सास्ती खेप्नुपरिरहेको छ । जिल्लाको पुर्वी जरायोटारमा खानेपानीको समस्या झनै ठुलो रहेको छ । खानेपानीको मुहान नहुदाँ सदियौंदेखि मानिसहरु घण्टौं समय खर्चेर अरुणबाट धमिलो पानी खादै आएको छ । पिउने पानीको अभावले जरायोटार धाउखानीस्थित अरुणगंगा निम्न माध्यमिक विद्यालयमा चैत्र र बैशाखमा महिनामा विद्यार्थीहरु विद्यालय नै नआउने गरेको विद्यालयका प्रधानाध्यापक विमला राईले बताउँछिन । पानीे नहुदाँ गर्मी समयमा काकाकुल हुने भएकाले विद्यार्थीहरु विद्यालय नआउने गरेको उनले बताइन । गर्मीले बालबालिकाहरुले पानीको प्यास मेटाउन नपाउदा बस्न कठिन र विरामी हुने गरेपछि बालबच्चालाई विद्यालय नपठाइने स्थानीय अभिभावक पुस्तक
राईले बताए । सुख्खा ठाउँ र भएको खानेपानीको मुहानसमेत सुक्दै गएपछि जरायोटार धाउखानी गाउँमा बसोबास गर्ने झण्डै ९० घरधुरीका स्थानीय वासिन्दाहरु खानेपानीका लागि घण्टौं समय खर्चन बाध्य छन । यहाँका मानिसहरु घण्टौं खर्चेर पिठँयूबाट बोकेर अरुण नदिको धमिलो खानेपानी पिउँदै आएका छन ।

दैनिक जसो अरुण नदिमा बग्ने धमिलो पानी खाएर स्थानीयहरुले दैनिक जीवन चलाउदै आएको छ । खानेपानी अभाव र नदीमा बग्ने धमिलो पानी जोहो गर्नकै लागि घरको एकजना दैनिक रुपमा पानी ओसार्ने काममा व्यस्त हुनुपर्र्ने बाध्यता
रहेको छ । विगत ४ बर्ष देखि सदरमुकाम बजारमा खानेपानी समस्या बर्षेनी बढ्दो छ । भुकम्प, सुख्खा खडेरी, जलवायु परिवर्तनले मुहान सुक्दै गएपछि आपुर्ती क्षमता घट्दै गएको छ । बढ्दो जनघनत्वलाई धान्न मुस्किल छ । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रभाव पारेको छ । खानेपानी अभाव दिनदिनै जटिल बन्दै गएको छ । यहाँका बासिन्दाहरु खानेपानी समस्याले गाँजेपछि एक घण्टा आधा घण्टा लगाएर खानेपानीको आपूर्ति टार्नलाई धाउदै आएको छ् । डाँडागाउँमा २ लाईन पाईपबाट खानेपानी वितरण गरिएको छ । हिउँद यामको अन्त्यमा बर्षात सुरु हुँदासम्म यहाँका उपभोक्ताहरुको समस्या टरेको देखिदैँन । अझै पनि साँझ र विहान खानेपानी थाप्नेको लर्को लाग्ने गरेको छ ।

पानी थाप्न आउँदा लाईन कुर्नु पर्ने, पालो कुरेर धारामा पानी एकछिन थाप्दा मरिजाने भएपछि पानी लिनलाई सातधारा नै धाउनुपर्ने भोजपुर ७, डाँडागाउँमा भाडामा बालबच्चा पढाउँदै आएकी सर्मिला राईले बताईन् । ‘खानेपानीले गर्दा सधैजसो नानीहरुलाई खाना बनाएर स्कूल पठाउन ढिला हुन्छ, धारामा पानीको पालो कुर्दाकुर्दा ढिला हुन्छ,’ उनले गुनासो गरिन् । सदरमुकाम र आसपासका क्षेत्रमा सिलिचुङ्ग खानेपानी तथा मुल उपभोक्ता समितिले विहान र बेलुका दुईपटक दुईपटक खानेपानी वितरण गर्दै आएपनि एक महिना यतादेखि दिनमा एकपटक मात्रै पानी वितरण गर्दै आएको छ ।

खानेपानी अभावले सदरमुकाममा बसोबास गर्ने विद्यार्थी, गृहिणीहरु सबैभन्दा बढि मर्कामा पर्दै आएका छन् । खानेपानीको मुहान सुक्न थालेपछि खानेपानी लिनलाई उनीहरु भोटेपसलको सातधारा, बसपार्कको तीन धारा, जनसेवा धारा, पोखरे बरबोटको हिटी धारामा सबेरै, दिउँसो, साँझ थुप्रिने गरेका छन । जिल्लाको खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि ३ बर्षयता साना सहरी खानेपानीले समेत प्रक्रिया थालेको छ । ८४ करोड लागतको लागु गर्न लागेको परियोजनाका लागी ट्याम्के मैयुम गाउँपालिका १, तिम्माको तीनभंगाले मुहान सर्भेक्षण भैसकेको समितिले जनाएको छ ।