जुम्लामा कान्तिका नेपालकै पहिलो नगर प्रमुख

जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेका छन् । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय भएको हो ।

खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । सेजुवाल निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिलाल महतले दुई हजार ६६ मत ल्याएका मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।

त्यसैगरी, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजय हुनुभएको छ । महत निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याएका थिए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेको थियो । नेकपा (एमाले)बाट उपप्रमुखको उम्मेदवारी दिएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गरेकोछ । रासस