नेपालीहरु विदेशीने परम्पराको सायद जेठो ईतिहास हुन सक्छ, लाहुरेहरुको ईतिहास । यो ईतिहास स्वईच्छाले जन्मिएको हैन, राज्य सत्ताले जन्माएको हो । यस्तो ईतिहास र घट्ना संसारमा नहुन सक्छ ।
एउटा देशको नागरिक कुनै अर्को देशको रक्षार्थ निम्ति लड्ने सायद लाहुरेहरु नै हुन् । आदिवासी जनजाती र केहि खस र छेत्रीका लक्का जवानहरुले वेलायती सेनामा सेवा गरेको २०२ बर्ष पुरा भईसक्यो । उनीहरुलाई भर्ती पठाए वापत नेपाल सरकारले रोयल्टी पाउँछ भन्ने सम्म सुनियो । तर यसको बिषयमा राज्य अनुत्तरित छ ।
हजारौ संख्याले वीरगती पाए, युद्ध भुमीमै । त्यतिकै संख्यामा हराए र विभिन्न देशहरुमा विस्थापित भए । युद्धमा हराएकाहरु धेरै जसो बर्मा, ईटाली, फिजी जस्ता देशहरुमा विस्थपित हुन पुगे । उनीहरुको संख्यालाई गणितिय हिसावमा उतार्ने हो भने झण्डै एक करोड भन्दा धेरै हुन्थे नेपाली माटोमा यति वेला ।
उनीहरु युद्वमा नमरेका र नहराएका भए उनीहरुका सन्तानहरु यतिवेला वेला देशको विभिन्न निकायहरुमा हुन्थे । कार्यपालीका, न्यायपालीका, ब्यावस्थापिका सबै ठाउँमा हुन्थे । नेता देखि मन्त्रि सम्म हुन्थे । पियनदेखि सचिव सम्म हुन्थे । स्कूलमा घण्टी वजाउने पियनदेखि प्रोफेसर र चौकीदार हुन्थे । फटाहा डन देखि बुद्धिमानहरु पनि पक्कै हुन्थे ।
पहिले पुर्खाहरुलाई जब्बरजस्त भर्ती पठाईयो । पुर्वी नेपालतिर पगरी, सुब्बा र मुखिया लगाएर हुकुमको भरमा भर्ती पठाईन्थो । पश्चिम नेपालतिर मुखिया र कटुवाल लागएर भर्ती लगाईन्थ्यो ।
त्यसपछि गोर्खाभर्ती एउटा संस्कार बन्यो । अनि वेलायती सेनामा आफ्नै स्वईच्छाले भर्ती जान थाले, जवानहरु । लाहुरे रहरमा परिणत भो त्यसपछि । गोर्खा भर्ती बन्यो, आय आर्जन गर्ने राम्रो ठाउँ ।
अहिले आएर नेपालीहरुको लागि सबै भन्दा राम्रो पैसा कमाउने र सरल जीवन जीउने माध्यम बन्यो गोर्खा भर्ति । यतिवेला गोरा बराबर मासिक तलब सुविधा पाउन थालेपछि गैर आदिवासी जनजातीहरु पनि धमाधम भर्ती लाग्ने संस्कार बनिसकेको छ ।
आदिवासी लाहुरेहरु वेलायत र नेपालमा अनागारिक जस्तो भएका छन् । नेपालमा छोरो पुस्ता समानताको लडाई लडिरहेको छ भने बेलायतमा बाउ र काका पुस्ता समान पेन्सन र क्षतीपुर्तीको लडाई लडिरहेको छ, किन ? प्रश्न त उठ्छ नै राज्य सत्तासंग ।
देशकोलागि लाहुरेले दिएको योगदानको विषयमा चर्चा गरौ ।
१. राजनैतिक
राणा शासनको विरुद्वमा भोजपुर जील्लावाट भु.पु लाहुरेहरु नारदमुनि थुलुङ्ग, राम प्रसाद राई र जसमान राई आदीले हतियार उठाएका थिए । पल्टनमा हुँदै राणको विरुद्धमा लड्ने योजना बनाएको बताउँछन्, ९९ बर्षीय जसमान राई । वेलायतबाट ईण्डिया स्वतन्त्र भएपछि, ६ महिना लामो योजनाका साथ राणाको विरुद्धमा हतियार उठाएका थिए । भोजपुरमा प्रत्येक शनिबार हटिया लाग्ने गर्थ्यो र अहिले पनि लाग्ने गर्छ । भु.पु. लाहुरेहरु कोहि साग ब्यापारी बने । कोहि अम्बक ब्यापारी, कोहि सुर्ती यापारी, कोहि सुगुरको पाठा ब्यापारी भएर हटियामा छरिएका थिए ।
जसमान राई भन्छन्, नारदमुनि थुलुङ्गको नेतृत्वमा टुडिखेलमा नाचगान देखाउँन शुरु भो । सबै भने जसो बजारका मान्छे र पुलीसहरु नाच गान हेर्नतिर लागे । धनकुटाबाट हतियार साहित आएका प्रहहरीहरु माल अड्डामा हतियार विसाएर खाना खान गएछ । त्यहि मौकामा भोजपुरको मालअड्डा हतियारहरु सहित कब्जा जमायौ । त्यो दिन थियो, २००७ साल मंसिर २४ गते शनिवार ।
त्यसपछि उनीहरुले ओखलढुङ्गा, संखुवासभा, चरीकोट, धनकुटा आदी ठाउँहरुमा राणाहरुलाई परास्त पारे । भोपुरवाट विरगंज, विराटनगर जस्ता ठाउँहरुमा किराती सेनाहरु राणा शाषण अन्त्य गर्नको लागि पठाएका थिए ।
२. शिक्षा र विकास
विकासको लागि लाहुरेहरुले देशमा महत्वपुर्ण योगदानहरु दिएका छन् । राणा शाशनको समयमा उनीहरुले गाउँहरुमा स्कूलहरुको स्थापना गरेका छन् । दोस्रो महायुद्वको समाप्तपछि १९४७ मा भारत स्वातन्त्र भयो । गोर्खाहरुको कटौति गरी राखेको पैसा फिर्ता दिने निर्णय गर्यो । वेलायतले । ईण्डियाका तत्कालीन प्रधानसेनापति र नेपालका तत्कालीन प्रधानसेनापति बबर शमसेर जबरालाई पैसा छोडेको जानकारी गरायो, वेलायतले ।
ईण्डियाका तत्कालीन प्रधान सेनापतिले नेपालको तत्कालीन प्रधान सेनापति बबर शम्सेरलाई उक्त रकम हस्तान्तरण गरेका थिए । वि.स. २००५ साल कार्तिकमा प्रधान सेनापति ववर शम्सेरले भु.पु. गोर्खा अफिसरहरुलाई काठमाण्डौ वोलाएका थिए । बैठकमा ववर शम्सेरले सोधेका थिए, यो पैसा तिमीहरुले के गर्छौ । तीन महिना लामो छलफलपछि भु.पु. लाहुरेहरुले उक्त रकमलाई गाउँहरुमा स्कूल र स्वास्थ चौकीहरु बनाउँने निर्णय गरे ।
धेरै जिल्लाहरुमा डिस्ट्रिक सोल्जर वोर्डको स्थापना भयो । अहिले वलफेर भनिन्छ । नेपाल सरकारले प्रत्येक डिस्ट्रिक सोल्जर वोर्डमा एक जना कर्माचारी खटाएको थियो । वोर्डको अध्यक्ष र उपध्याक्षमा भु.पु. लाहुरेहरुलाई नियुक्ति गरेको बताउँथे स्व। दिल कर्ण राई र बुद्धि बखत राई । वैठकमा पुर्वी नेपालवाट भु.पु.क्याप्टेन कमान सिंह, सरदार वहादुर लिम्वु, चैनपुरवाट जगत वहादुर याख्खा, भोजपुर निवासी सरदारवहादुर हर्क राज राई । उनले पहिलो विश्वयुद्वमा सरदार बहादुर पदक पाएका थिए । र सरदार बहादुर मानसेर राईको उपस्थिति रहेको थियो ।
त्यसैगरि नेपालको पश्चिमबाट छैठौं गोर्खा राईफलका अनररी क्याप्टेन रडक सिंह गुरुङ्ग, चारऔं गोर्खा राईफलका अनर री क्याप्टेन नर वहादुर गुरुङ्ग, (उनी पछि मन्त्री पनि भएका थिए ) लगायत भु.पु. लाहुरेहरु बैंठकमा उपस्थित थिए ।
उनीहरुले स्कूल स्थापना गर्न एक जना प्रतिनिधि तोकी ठाउँ ठाउँमा पठाएका थिए । भोजपुर जिल्ला टेम्के मैयुङ्ग गाउँपालीका वर्ड नम्बर १ तिम्मामा चहक मान राईलाई खटाएका थिए । सानो दुङ्गमामा भु.पु सुबदार जित वीर राईको उपस्थिती रहेको बताउँथे, स्वार्गिय बुद्धि बखत राई । जुन समय नेपालमा सरकारी स्कूलहरुको निर्माण भएको थिएन । त्यो वेला स्कूलहरुको स्थापना गरेका हुन लाहुरेहरुले । सेवारत लाहरेुहरुले बर्षमा एक दिनको तलव गोर्खा वेयलफेयर ट्रष्टलाई दिने गरेका छन् । उक्त रकमबाट वेलफेयरले स्कूल, हेल् थपोष्टहरु निर्माण गर्छ नेपालमा । खानेपानी अभाव भएका ठाउँहरुमा खानेपानी पु्याउने गरेका छन् । डि.एफ.आई.डि.को नाममा प्रत्येक बर्ष वेलायत सरकारले नेपाललाई आर्थिक अनुदान प्रदान गर्दछ । जुन अनुदान लाहुरेसंग सरोकार राख्छ ।
३. संचार
नेपालमा रेडियोको स्थापना भोजपुरमा भु।पु लाहुरे नारदमुनि थुलुङ्गको नेतृवमा भएको थियो । रेडियो अप्रेटरको नाम हो, कुबेरमान राई । रेडियो अपरेट गर्ने काम गरेपछि कुबेरमान राई अप्रेटरमा परिणत भएको थिए । सबैले उनलाई अप्रेटर नै भन्थे । उनको नाम नै अप्रेटर हुन पुग्यो । उनी गोर्खा सिंगनलबाट टेक्निसियनमा अवकाश भएका थिए । तर भोजपुरमा स्थापना गरिएको रेडियो स्टुडियोलाई विराटनगर सारिएको थियो । रेडियोमा पहिलो बोल्ने व्यक्ति नारदमुनि थुलुङ्ग थिए, तर उनको नाम गुमनाम रहेको छ ।
४. साहित्य र संगीतमा
नेपाली साहित्य, संगीत र संचार क्षेत्रमा पनि उति नै उल्लेखनीय योगदान दिएका छन् लाहुरेले । नेपाली भाषामा पहिलो फोनिन् कार्यक्रम चलाउने भु।पु लाहुरे किशोर गुरुङ्ग हुन् । उनी विएफविएस गोर्खा रेडियोमा लामो समय काम गरे । हङ्गकङ्गमा फोनिन कार्यक्रम चलाउँथे । पाण्डव सुनुवार कोरियाबाट हङ्गकङ्ग पुग्दा उनले फोनिन कार्यक्रम चलाएको देखे ।
अनि पो त्यसपछि, नेपालमा पाण्डव सुनुवारले फोनिन कार्यक्रमको शुरुवात गरेका हुन् । पहिलो नेपाली गायक मास्टर मित्र सेन थापा मगर हुन् । उनले रत्नदासले भन्दा पहिले ईण्डियामा ग्रामोफोन डिक्स्मा गीत रेकर्ड गरेको ईतिहास पाईन्छ । नेपाली पप गायनको प्रवर्तक नोरदेन तेन्जिङ्ग हुन् । उनले भर्ती हुन अगावै दार्जीलीङ्गमा ब्लुस्टोन ब्याण्डमा ड्रम बजाउने र गीत पनि गाउँथे ।
५. अन्य योगदानहरु
लाहुरेहरु नेपाल फर्केपछि कतिले कम्पाण्डरको काम गरे । बच्चा जन्माउन नसकी कयौ छोरीचेलीहरुको अकालमा ज्यान जान्थे । गाउँघरमा धामी झाक्री भन्दा अर्को कुनै उपाय थिएन । पल्टनघरमा सिकेको सिपलाई सदुपयोग गर्दै उनीहरुले छोरीचेली र नवजात शिशुहरुको ज्यान बचाए । उनीहले त्यो बेला पारा मेडिकको काम गरेका थिए । धरान, पोखरा आदि ठाउँहरुलाई नयाँ शहर बनाउनमा महत्वपुर्ण योगदान दिएका छन् लाहुरेहरुले । नेपालीपत्र