भोजपुरमा विश्व धुम्रपानरहित दिवसमा प्रभातफेरी

भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय, भोजपुर र स्वास्थ्य अधिकार सूर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल, भोजपुरको संयुक्त आयोजनामा आज विश्व धुम्रपानरहित दिवस भोजपुरमा विविध कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ ।
दिवसको अवसर पारेर भोजपुर सदरमुकामस्थित लोकतान्त्रिक चौकदेखि प्रभातफेरीको आयोजना गरिएको थियो । त्यस्तै मेरो वर्ष २०७४ अभियान अन्तरगत ५ प्रतिबद्धताप्रति ऐक्यबद्धताका लागि हस्ताक्षर अभियान पनि गरिएको छ ।
जिल्ला समन्वय समिति, भोजपुरका स्थानीय विकास अधिकारी सीता परियार, सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डे, जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार, महिला बालबालिका कार्यालय प्रमुख पुष्पलता उप्रेती, रणबम गुल्मका सेनानी लेखबहादुर कटुवाल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख इश्वरी प्रसाद देवकोटा, जनपथ एवं सशस्त्र प्रहरी बलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागीहरुले ५ प्रतिबद्धतामा ऐक्यबद्धता जनाई हस्ताक्षर गरेका थिए । त्यसपछि शुरु भएको प्रभातफेरी धुम्रपानविरुद्धका स्वास्थ्य सचेतनासम्बन्धी विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु बोकी माइकिङ्ग गर्दै डाँडागाऊँ, बीच बजार, बैंक रोड, टुँडिखेल, चारभञ्ज्याङ्ग भोटेपसल हुँदै पुनः जिल्ला विकास समितिको सभाहलमा आएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको अध्यक्षता तथा जिल्ला समन्वय समिति, भोजपुरका स्थानीय विकास अधिकारी सीता परियारको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दिवसको महत्वको बारेमा जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले प्रकाश पारेका थिए भने स्वास्थ्य अधिकार सूर्ति नियन्त्रणको लागि भोजपुर जिल्लामा भएका प्रयासहरुबारे धुम्रपानविरुद्धका अभियन्ता नोदनाथ त्रितालले प्रस्तुतीकरण गरेका थियो । कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख, उद्योग वाणिज्य संघका प्रमुख डम्बर श्रेष्ठ एवं धुम्रपानविरुद्धका अभियन्ता रामचन्द्र प्रधान लगायतले समेत दिवसको महत्वको बारेमा चर्चा गर्नुभएको जिल्ला स्वास्थ्य कार्यालय, भोजपुरका सूचना अधिकारी राजुकुमार श्रेष्ठले बताए । कार्यक्रममा एक सय जना भन्दा बढिको सहभागीता रहेको थियो ।