बजार खोज्दै भोजपुरे खुकुरी

भोजपुर । जिल्लामा लघु जलविद्युत् आयोजनाबाट हालसम्म ४ सय ३० दशमलव ६ किलोवाट विद्युत् उत्पादन भएको छ । जिल्लाका विभिन्न ठाउँमा वैकल्पिक ऊर्जा, जिल्ला समन्वय समिति र स्थानीय लगानी सोबराबरको विद्युत् उत्पादन भएको ऊर्जा अधिकृत विपुल खतिवडा बताउँछन् । त्यस्तै, निर्माणधीन चारवटा योजनाबाट १ सय ६८ किलोवाट विद्युत् थपिने अधिकृत खतिवडाको भनाइ छ ।

जिल्लाका गंगा खोला, बेहेरे खोला, फेदी खोला, सावा खोलालगायत २ दर्जन बढी खोलामा लघु जलविद्युत् सञ्चालन भइरहेका छन् । लघु जलविद्युत् आयोजनाबाट जिल्लाका ४ हजार २ सय २४ परिवार प्रत्यक्ष लाभान्वित भएको जिल्ला समन्वय समितिको ऊर्जा शाखाले जनाएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानबाट जिल्लाका ८ हजार ७ सय २१ परिवारले सोलार जडान गरेको कार्यालयले जनाएको छ । हालसम्म भोजपुरमा ५० प्रतिशत मानिस विद्युत्को पहुँचमा रहेको ऊर्जा शाखाको भनाइ छ । त्यस्तै, केन्द्रीय प्रसारण लाइनबाट भोजपुरका ५ हजार ४ सय १७ घरपरिवारले विद्युत् उपभोग गरिरहेका छन् ।

सम्पूर्ण खोलाको अनुमानित विद्युत् उत्पादन क्षमता २ सय मेगावाट छ । यी सबै खोलाबाट विद्युत् उत्पादन गरेर बिक्री वितरण गर्ने हो भने जिल्लाले वार्षिक रूपमा ३ अर्ब ६० करोड आम्दानी गर्नेछ

विद्युत् उत्पादन सम्भावना

भोजपुरमा रहेका सम्पूर्ण खोलाको अनुमानित विद्युत् उत्पादन क्षमता २ सय मेगावाट छ । यी सबै खोलाबाट विद्युत् उत्पादन गरेर बिक्री वितरण गर्ने हो भने जिल्लाले वार्षिक रूपमा ३ अर्ब ६० करोड आम्दानी गर्नेछ ।

जिल्लाको पिखुवा खोला, बेहेरे खोला, हिंखुवा खोला, चिर्खुवा खोला, श्याम खोला, खुँगे खोलालगायत ३ दर्जन बढी खोलाबाट प्रशस्त मात्रा विद्युत् उत्पादन गर्न सकिने एक तथ्यांकले देखाएको छ भने कतिपय खोलाहरूको अझै सर्भे हुन बाँकी रहेको छ ।

उद्योगका सम्भावना

ठूला खालका उद्योगधन्दा हालसम्म सञ्चालनमा नआए पनि मझौला, साना तथा घरेलु उद्योग भने प्रशस्त सञ्चालनमा छन् । भोजपुरमा घरेलु कागज बनाउने ४ वटा साना उद्योग सञ्चालनमा छन् । त्यस्तै, केउरेनीपानी, साङपाङ, देउराली, तिम्मा, गोगने लगायतका ठाउँका हाते कागज बनाउने उद्योग सञ्चालनमा रहेका छन् । तिनलाई प्रविधियुक्त बनाई बजारका लागि सहजीकरण मात्रै गरिदिने हो भने भोजपुरका पौरखी स्वावलम्बी बन्न सक्छन् ।

भुल्केमा गौरीशंकर जुस उद्योग, गोगनमो हाते आरन उद्योग, बासीखोरामा सलाई उद्योग, रानीवासमा अचार उद्योग, हसनपुरमा बिस्कुट उद्योगलगायत विभिन्न खाले साना उद्योगलाई टिकाइराख्न स्थानीय जनप्रतिनिधिबाट विशेष योजना चाहिएको छ ।

कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको देखिन्छ । चलेका उद्योगबाट करिब ५ हजारले रोजगारी पाएका छन् भने यी उद्योगले वार्षिक करिब १ अर्ब आम्दानी गर्ने गरेको घरेलु तथा विकास समितिले जनाएको छ । घरेलु तथा साना उद्योगको तथ्यांकअनुसार जिल्लाभर १२ सयको हारहारीमा साना घरेलु उद्योग सञ्चालनमा रहेका छन् ।

समस्या उत्तिकै

भोजपुरका उद्योगमा समस्याका रूपमा मुख्य गरी दक्ष जनशक्ति, कच्चा पदार्थ र बजारीकरण देखिएको छ । कतिपय उद्योगले आफ्न उत्पादित साम्रगी बिक्री गर्न उचित बजार पाएका छैनन् भने कति कच्चा पदार्थ अभावका कारण उत्पादन नै गर्न सकिरहेका छैनन् ।

त्यस्तै, दक्ष जनशक्तिको अभाव छ । पछिल्लो समय युवाहरूको विदेशप्रतिको मोहले पनि उद्योगलाई समस्या भएको छ । भोजपुरे खुकुरी उद्योगमार्फत उत्पादन भएका खुकुरी देश विदेशमा निकै प्रख्यात छ । तर पछिल्लो समयमा कच्चा पदार्थ, दक्ष कालीगढ लगायतका कारण यस्ता उद्योग पनि सञ्चालनमा समस्या हुने गरेको सञ्चालकहरूको भनाइ छ ।

विशेष गरेर भोजपुर टक्सारका सञ्चालनमा रहेका धातु उद्योग पछिल्लो समयमा फस्टाएको देखिँदैन । यसको कारण पनि कच्चा पदार्थको अभाव, वैदेशिक रोजगारको प्रभाव, अन्य स्रोतसाधनको अभाव हो । यस्ता उद्योग र खानीलाई प्राथमिकतामा राखेर विशेष संरक्षणसहितको प्रचारप्रसार गर्न सके जिल्ला आत्मनिर्भर बन्ने देखिन्छ । राजधनी