४० कटेसी रमाएका नेपाली कलाकार

काठमाडौं । यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् । दर्जनौँ सिनेमामा अभिनय गरेका पवनले सिनेमा ‘पिंजडा’ निर्माण गरेर निर्माताको रुपमा पनि आफूलाई चिनाएका छन् ।

एक पटक सिनेमा ‘दिदी बहिनी’को छायांकनको समयमा दुर्घटनामा परेर घाइते भएका मैनाली त्यस समयदेखि राम्रोसँग हिड्न र बोल्न सक्दैनन् । यहि कारण उनी केही समय अघि देखि एक बृद्धाआश्रममा बस्दै आएका थिए ।

लक्ष्मीसँग विवाह गरेपछि भने उनी कपनस्थित घर फर्किएका छन् । ५२ वर्षिय पवनले २२ वर्ष कान्छी लक्ष्मीसँग विवाह गरेका हुन् । पवनको मात्र होइन बढी उमेरमा विवाह गर्ने अन्य कलाकारहरु अरु पनि छन् ।

हरिवंश आचार्य

बाध्यताले गरेको भएपनि बुढेसकालमा विवाह गर्ने कलाकारमा पर्छन् हरिवंश आचार्य पनि । पहिलो श्रीमती मीराको निधन भएपछि कलाकार हरिवंश आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका हुन् । हरिवंश दोस्रो विवाह गर्ने समयमा ५४ वर्षका थिए । ५४ वर्षका उनले १० वर्ष कान्छी रमिला पाठकसँग २०६९ सालको असारमा विवाह गरेका हुन् । यी दुईको विवाहमा लमीको काम अभिनेत्री बसुन्धरा भुषालले गरेकी थिईन् । रमिला र हरि दुवैको दोस्रो विवाह हो । पहिलो विवाहबाट रमिलाका एक छोरा छन् भने हरिका दुई छोरा छन् । अहिले रमिलाका छोरा अस्ट्रेलियामा ईन्जिनियरिङ गरिरहेका छन् । त्यस्तै हरिवंशका दुईवटा छोरा मध्ये जेठा छोरा त्रिलोक अमेरिकाको गुगल कम्पनीमा कार्यरत छन् । कान्छा छोरा मोहित नेपालमै व्यवसाय गरेर बसेका छन् ।

मिथिला शर्मा

नेपाली सिनेमाकी दिग्गज अभिनेत्री हुन् मिथिला शर्मा । अहिले पनि उनको क्रेज उस्तै छ जबकी उनले अभिनय गर्न थालेकै दशकौँ भएको छ । अभिनयबाट सबैकी प्रिय बनेकी मिथिलाले पनि बुढेसकालमा विवाह गरिन् । ५० वर्षको उमेरमा ७४ वर्षका मोतीलाल बोहोरासँग उनले २०७१ सालमा विवाह गरेकी हुन् । मोतीलाल बोहोरा पूर्व प्रहरी महानिरीक्षक हुन् । पहिलो पत्नीको निधन भएको एक वर्ष पछि उनले मिथिलासँग लगनगाँठो कसेका थिए । मिथिलाले लामो समयसम्म नृत्यागंना र निर्देशक भएर नेपाल पुलिसमा काम गरेकी थिईन् । यहि क्रममा यी दुई नजिकिएको बताईन्छ ।

राजेश हमाल

अभिनेता राजेश हमालले पनि बुढेसकालमै विवाह गरे । नेपाली सिनेमाका महानायक उनले २०७१ साल जेठ १० गते मोडल मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् । २०७१ सालको जेठ २६ गते ५० वर्ष पुग्ने उनले १० गते विवाह गरेका हुन् । बुढेसकालमा विवाह गरेका हमाल पछिल्लो समय सन्तान नजन्माएका कारण चर्चामा छन् ।

शिव श्रेष्ठ

अभिनेता शिव श्रेष्ठले दुई पटक विवाह गरे । उनले पहिलो पटक २०२८ सालमा गंगादेवी श्रेष्ठसँग विवाह गरेका थिए । पहिलो दाम्पत्य जीवन असफल भएपछि उनले चितवनकी सृजना श्रेष्ठसँग दोस्रो विवाह गरे । पहिलो विवाहबाट चार छोरी र एक छोरा भएका शिव दोस्रो विवाहबाट पनि एक छोराका पिता बनेका छन् । तर उनलाई दोस्रो विवाहले पनि मन भरिएन । यहि कारण उनी दोस्रो श्रीमती हुँदाहुँदै भक्तपुरकी एक युवतीसँग प्रेममा परेका थिए । उनको यो प्रेमले नेपाली सिने जगतमा केही वर्ष अघिसम्म निकै तहल्का मच्चाएको थियो । बुढेसकालमा प्रेममा परेका शिवको दोस्रो विवाह पनि बुढेसकालमै भएको हो । दोस्रो विवाह गर्दा उनी ४५ देखि ५० को हाराहारीमा भएको बुझिन्छ ।

मनिषा कोइराला

अभिनेत्री मनिषा कोईरालाले पनि जीवनको चार दशक काटेपछि विवाह गरिन् तर त्यसलाई निरन्तरता दिन सकिनन् । बलिवुडकी नम्बर वान अभिनेत्रीको परिचय बनाएकी उनले ४० वर्षको उमेरमा नेपालका व्यापारी सम्राट दाहालसँग सन् २०१० मा विवाह गरेकी हुन् । २०१० मा भएको उनीहरुको विवाह २०१२ मा सकियो । मनिषा र सम्राटको विवाह काठमाण्डौमै भएको थियो ।

छविराज ओझा

निर्माता छविराज ओझाले पनि जीवनको चार दशकमा १८ वर्ष कान्छी रेखा थापासँग विवाह गरेका थिए । विवाहको दश वर्षमा यी दुई एकअर्कासँग अलग भए । छवि रेखासँग विवाह गर्ने समयमा ४० कटिसकेका थिए । अहिले ५५ लाग्दा पनि उनको जवानी भने उस्तै छ । तन बुढो भएपनि उनको मन बुढो भएको छैन । त्यसैले त आफूभन्दा आधा उमेर कान्छी अभिनेत्री शिल्पा पोखरेलसँग लगनगाँठो कस्ने सोचमा छन् ।  forseenetwork .com को सहकार्य