ज्ञानेन्द्रबहादुर कार्की देउवा सरकारका अर्थमन्त्री

काठमाडौं । शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा लगाएका छन् । पार्टीभित्र देउवाका अत्यन्तै निकट मानिने कार्कीलाई देउवाले अर्थमन्त्री बनाएका हुन् ।
नवनियुक्त अर्थमन्त्री कार्की राष्ट्रपति विद्यादेबी भण्डारीका मामाका छोरा हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भर्खरैमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
देउवापछि दुई उपप्रधानमन्त्री बिजय गच्छेदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुले पनि राष्ट्रपतिबाट सपथग्रहण लिएका छन् ।
कांग्रेसले अहिलेसम्म अर्थशास्त्रका ज्ञातालाई मात्रै अर्थन्त्रालयको जिम्मेवारी दिँदै आएको थियो । तर, यसपटक भने देउवाले त्यो परम्परालाई तोडेर आफू निकट कार्कीलाई अर्थमन्त्री बनाएका हुन् ।
पछिल्ला वर्षहरुमा प्रधानमन्त्रीले आफू निकटका व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने प्रवृत्ति स्थापित हुँदैछ ।
यसअघि केपी ओलीले पनि अर्थमन्त्रालयको जिम्मेवारी आफूनिटक विष्णु पौडेललाई दिएका थिए । प्रधानमन्त्री देउवाले काँग्रेस नेता महेश आचार्यलाई अर्थमन्त्री बनाउन चाहेका भएपनि पौडेल समुहले असहयोग गरेपछि कार्कीलाई अर्थमन्त्रालयको जिम्मा दिइएको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय कार्कीले देउवालाई साथ दिदै आएका थिए ।
काँग्रेस विभाजनको समयमा देउवा पक्षमा रहेका कार्की पूर्वान्चलमा देउवा पक्षको बर्जस्व बढाउन विशेष रुपमा सक्रिय थिए । नवनियुक्त अर्थमन्त्री कार्की राष्ट्रपति विद्यादेबी भण्डारीका मामाका छोरा हुन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको सभापति बनेका कार्की बहुदल आएपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दा उनी भट्टराईका स्वकीय सचिब थिए ।

त्यसपछि पहिलोपटक शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा उनी प्रधानमन्त्रीको प्रमुख सल्लाहकार थिए । ०६२र६३ को जनआन्दोलनपछिको मन्त्रिपरिषदमा कार्की जलस्रोतमन्त्री बनेका थिए ।