भोजपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत जिल्ला कृषि विकास कार्यालय भोजपुरले छिनामखुस्थित उद्यमशिल कृषि सहकारी संस्था लिमिटेडलाई ५० प्रतिशत अनुदानमा मालबाहक गाडी (मिनिट्रक) हस्तान्तरण गरेको छ ।
कृषि कार्यालयमार्फत विहिबार एक कार्यक्रमका बीच अलैँची विकास समितिले कृषि सामाग्री ढुवानीका निमित्त उक्त मालबाहक गाडी प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सहकारीलाई ट्रक औपचारिक हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा स्थानीय विकास अधिकारी सीता परियार, जिल्ला कृषि विकास कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, विभिन्न कार्यालयका कार्यालय प्रमुख, नागरिक समाज तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सहकारीले २३ लाखको लगानीमा अलैँची गोदाम घर निर्माण गरिरहेको छ । उक्त बजेट पनि परियोजना अन्र्तगत आएको हो । गोदामघरमा गाउँभरिका कृषकहरुले उत्पादन गरेको अलैची संकलन, बजार व्यवस्थापन तथा ढुवानीका ट्रक दिएको कृषिले जनाएको छ । यसैगरी गोदाम घरमा जम्मा गरेर उचित बजारीकरण गरिनेसहकारीका कोषाध्यक्ष एबम् उद्योग बाणिज्य संघ भोजपुरका सदस्य सुमन प्रधानले जानकारी दिए । ‘यहि सहकारी संस्थाको निर्माणधिन गोदाम घरमा गाउँकै अलैँचीका साथै विभिन्न कृषि उपज संकलन गरेर राखिनेछ र त्यसलाई त्यहि भण्डार गरि समयानुकुल बजार व्यवस्थापनमा लगानी तथा ढुवानी गरिनेछ,’ उनले भने,‘यसरी गाउँमै उत्पादन गरेको अलैँची धरान, ईटहरी, विर्तामोड हुँदै भारतसम्म पुग्ने गर्छ ।’
अलैची विस्तारका लागि छिनामखुमा साढे ३ सय रोपनी जग्गामा अलैँची लगाईएको छ । कृषिमा थप प्रोत्सहन दिन र गाउँका कृषकहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा थप्न यो सहकारी संस्थाको आगामी आर्थिक बर्षमा १ हजार रोपनी जग्गामा अलैँची खेती विस्तार गर्ने योजना रहेको पनि प्रधानले बताए ।‘हाल ३ सय ४ सय रोपनीको हाराहारीमा अलैँची लगाईएको भएपनि आउँदो बर्ष यसलाई बढाएर थप १ हजार रोपनीमा खेति विस्तार गर्ने योजना रहेको छ,’ उनले भने,‘यसको विस्तार संगसंगै कृषि उपजको ग्रेडिङ, लेबलिङ, प्याकेजिङको उद्देश्य पनि यस संस्थाले राखेको छ ।’