उज्यालो सपना बोकेका युवाको पक्षमा

केही दिन अघि साहित्यकार उपेन्द्र सुब्बाले फेसबुकमा लेखे, ‘चुनावमा बाउलाई हराउन पान्थर जाउँ कि साथी (राजन मुकारुङ) जिताउन भोजपुर जाउँ ?’ साह्रै दोधार भो जिन्दगीमा ..।

साहित्यकार राजन मुकारुङले भोजपुरको टेम्के–मैयुङ गाउँपालिकाकाको प्रमुखमा उम्मेदवारी दिन लागेको समाचार आएपछि सुब्बाले यस्तो लेखेका थिए । समाचार र हल्लापछि नजिकका साथीभाई र पत्रकारहरुले मुकारुङको उम्मेदवारी बारेमा निकै चासो दिए । चर्चा चलाए । के साहित्कायर राजन मुकारुङ साँच्चै उठ्ने हुन् त ? भट्टी पसलदेखि काठमाडौंको भृकुटीमण्डपको चिया पसल तिर पनि चियागफमा सुनिन्थ्यो, हैट ! बुढाले उम्मेदवारी दिने नै हुन् त ? यस्तो चर्चा जारी नै थियो । यही चर्चाको बिचमा सबैको चासो र प्रश्नको उनले एकमुष्ठ उत्तर दिए । उनले लेखेका छन्,

मैले जहाँ दावी गरेँ:
टेम्के–मैयुङ गाउँपालिकाका यी दुई प्रतिष्पर्धीहरूलाई अग्रिम शुभकामना !
रामसिं राई, निरन्तर राजनीतिमा सक्रीय तर हालसम्म कुनै लाभको पद नलिएका अग्रज व्यक्तित्व हुन् ।
धुर्व राई, उज्यालो सपना बोकेका, जुझारू युवा नेता हुन् ।
दुवैबाट यो गाउँपालिकाको समृद्धि सम्भव छ । कम्तीमा गलत मान्छेहरू पाखा लागेका छन् ।

साहित्यकार मुकारुङको निकष्र्ष छ, ‘दुवैबाट यो गाउँपालिकाको समृद्धि सम्भव छ । कम्तीमा गलत मान्छेहरू पाखा लागेका छन् ।’ भोजपुरमा क्रियाशिल सबै पार्टीका साझा उम्मेदवार बनेका रामसिंह राई र एमालेबाट उम्मेदवार बनेका ध्रुव राईको बारेमा उनले आफ्नो निकष्र्ष पनि छोडेका छन् । रामसिंह राई र ध्रुव राईलाई नजिकबाट जसले चिन्छ । सायद, साहित्यकार मुकारुङको निकष्र्षमा सबै सहमत होलान् । यसमा म पनि सहमत छु ।

हो, रामसिं राई, निरन्तर राजनीतिमा सक्रिय अग्रज व्यक्तित्व हुन् । धुर्व राई, उज्यालो सपना बोकेका, जुझारू युवा नेता हुन् । साहित्यकार मुकारुङले यहाँनिर जनतालाई छनोटको अधिकार पनि छोडीदिएका छन्, ‘अग्रज व्यक्तित्वलाई भोट दिनुहुन्छ या उज्यालो सपना बोकेका, जुझारू युवा नेतालाई तपाईहरुको जिम्मा हो ।’

टेम्के–मैयुङका जनताले अग्रजलाई जिताउलान् या उज्यालो सपना बोकेका, जुझारू युवालाई जिम्मा देलान् ? त्यो त भबिष्यको गर्वमा छ । विगत रोज्लान् या उज्यालो भबिष्य खोज्लान् ? त्यो जनतालाई जिम्मा छोडिदिऊ । रामसिंह राईको बारेमा साहित्यकार मुकारुङले जे लेखेका छन् । त्यसमा मेरो पनि सतप्रतिशत सहमति छ । त्यतिभन्दा उनीमाथि सायदै न्याय होला । तर, युवाको नाताले युवाहरुको लागि ध्रुव राईको विगत अलिकति प्रस्तुत गर्न आवश्यक ठानेको छु ।

त्यो व्रिदोही ‘फुच्चे’
२०५८ तिर पूर्वमा पनि माओवादीको रापताप पूर्वमा पनि बेस्सरी फैलियो । संकटकालको समय । उतिबेला सुरक्षाको कारण जिल्लाभरीको एसएलसी परिक्षा जिल्ला सदरमुकाममा हुन्थ्यो । हामी भोजपुरको सबैभन्दा दुर्गम उत्तरी दोभाने गाविसबाट एसएलसी परिक्षा दिन भोजपुर पुगेका थियौं । भोजपुरको सबैभन्दा माओवादी प्रभावित क्षेत्र थियो हाम्रो । एमाले नभएकै कारण माओवादीको अनेक आतंक त सहेकै थियौं । त्यो भन्दा बढी माओवादीलाई घरमा राखेको कारण सेना र प्रहरीबाट पाएको भौतिक र मानसिक यातना सम्ँिझदा समेत यतिबेला पनि आङजिरिङ्ग हुन्छ ।

सदरमुकाममा पनि उस्तै जगजगी थियो, सेना र प्रहरीको । गाउँबाट आएका विद्यार्थीहरु सिधा गरी पनि सेना प्रहरीलाई हेर्न डराउँथ्यो । हाम्रो परिक्षा केन्द्र जनसेवा निमाविमा थियो । विद्योदय माविमा एकजना विद्यार्थी प्रहरीबाट कुटिएछ । एकैछिनमा सैयौंको संख्यामा विद्यार्थीहरुको जुलुस जिल्ला प्रहरी कार्यालय हुदैँ जिल्ला प्रशासन तर्फ अघि बढ्यो । प्रशासन अगाडि कोणसभा भयो । प्रहरी र सेनाको घेराबिच एउटा फुच्चे तर निकै जुझारु विद्यार्थी नेताले निकै खरो भाषण गरे । विद्यार्थी कुट्नेलाई तत्काल कारबाही नभए जे पनि हुनसक्ने चेतावनी दिए । त्यो समय यस्तो समय थियो की, प्रहरी र प्रशासनले अनेक बहनामा यातना दिन, बेपत्ता पार्न कुनै आइतबार बार्न प्रर्दन थियो । उनको भाषण सुनेर साथी रमेशले भन्यो, ‘हैट यिनलाई मृत्युदेखि डर लाग्दैन की क्या हो ?’ हो, तिनै खरो भाषण गर्ने विद्यार्थी नेता थिए, ध्रुव राई । उनी त्यतिबेला भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति थिए ।

जनआन्दोलनको नेता
भोजपुरमा सबैभन्दा अगाडि गणतन्त्र जीन्दवाद भनेर सडकमा निस्कने को हुन् ? भनेर सोध्यो भने सायद सबैले भन्छन्, ध्रुब राई । उनी जनआन्दोलनले जन्माएको नेता हो । उनी सँग जोडिएका अनेक किस्सा र घटनाहरु छन् । उनी एउटा आगोजस्तै उत्साह र सपना भएका यूवा हुन् । कहिलेकाही हामी भोजपुरे युवाहरु भेला भएको बेला उनको चर्चा गरेर भन्छौं, ‘क्रान्तिकारीता होस् त ध्रुब राईको जस्तो’ यिनि कैयन पटक प्रहरीसँग जुधेँका छन्, सैयौ पटक बिरोधीसँग भिडेका छन् ।

जतिबेला ज्ञानेन्द्रको शाही शासन चलिरहेको थियो, त्यो बेला मानिसहरु सिधा नजरले समेत भोजपुरको शाही सेना र प्रहरी कार्यालयतिर हेर्न डराउथ्योँ, त्यतिबेला उनी भोजपुरको सडकमा निस्केर राजा ज्ञानेन्द्र मुर्दावाद, गणतन्त्र जीन्दवाद भन्दै नारा लगाएर हिड्थे । कतिले त ‘ध्रुबे बौलायो, अब मारिन भए पनि भन्थ्थे ।’ उतिबेला ज्यानभन्दा गणतन्त्र प्यारो थियो उनलाई । राजाको स्वागतमा बनाइएका गेटहरु एक्लै भत्काइदिन्थे । गणतन्त्रको लागि प्रहरीसँग भिडेको, पार्टीको लागि बिरोधीसँग जुधेँका अनेक घटनाहरु छन् । ध्रुव जनआन्दोलनले जन्माएको युवा नेता हो ।

धुलोदेखि उठेको मान्छे
ध्रुव सामान्य किसान परिवारमा जन्मिएका नेता हुन् । उनी पैसा भएर शक्ति र सत्ताको लागि राजनीतिमा आएका होइनन् । यसो दुई चार दिन नेता भइदिउ न त भनेर राजनीतिमा आएका नेता पनि होइनन् । परिर्वतन र रुपान्तरणका लागि सानैदेखी राजनीतिमा होमिएका युवा नेता हुन् । उनी पदमा रहदा पनि लडिरहे । पदमा नहुदा पनि लड्न छोड्ेनन् । भन्छन्,‘परिर्वतन र रुपान्तरण बाहेक कहिल्यै अरु सपना देखिन मैले ।’

भोजपुर क्याम्पस हुदै त्रिभुवन विश्वविद्यालय कृर्तिपुरमा उच्च शिक्षा लिन आइपुग्दा समेत उनले दुःखका अनेकौं पहाड छिचोलेका छन् । उनलाई अभाव थाहा छ, थाहा छ भोक । तर, उनी कहिल्यै थाकेनन् । कृर्तिपुरमा पनि उनी स्ववियु सभापतिको सबैभन्दा बलियो दाबेदार थिए । तर, त्यो बर्ष चुनाव नभएको कारण अवसरबाट बञ्चित भए । कृर्तिपुरमा रहदा पनि उनी सधैं आन्दोलनको अग्रभागमा रहेँ ।

उज्यालो भबिष्यको पक्षमा
गणतान्त्रिक आन्दोलन र त्यसपछिका अभियानहरुमा ध्रुव सबैको साझा थिए । तर, यो निर्वाचनमा एक्लो जस्तो देखिएका छन् । सबै पार्टीहरु एकातिर छन्, ध्रुव एकातिर । तर, उनी कतिपनि आत्तिएका छैनन् । भन्छन्, ‘टेम्के–मैयुङ गाउँपालिकाका हरेक जनतासँगको सुखदुःखसँग जोडिदै आएको छु । मलाई उहाँहरुले नजिकबाट चिन्नुभएको छ । त्यसलै मैले धेरै भनिरहन नै प्रदैन ।’

त्यसो त पदमा नहुदा समेत उनले भोजपुर सदरमुकाम बसेर होस् या गाउँमा गएर जनताको काम निरन्तर गर्दै आएका छन् । एक पटक अबसर पाए साँच्चै नै गरेर देखाउने ठुलो सपना छ उनको । भन्छन्,‘टेम्के–मैयुङ गाउँपालिकाकालाई देशकै नमुना गाउँपालिका बनाउने मेरो ठुलो सपना छ ।’ सडक, विद्युत्, पर्यटन, शिक्षासँग जोडिएका योजनाको लामो फेहरिस्त छ उनीसँग । भन्छन्, ‘मेरो जीन्दगीको उर्बर समय राजनीतिक परिर्वतनको लागि लडेँ, बाँकी समय टेम्के–मैयुङ गाउँपालिकाको समृद्धिको लागि लगाउनेछु ।’

जनताका प्रिय
त्यसो त ध्रुव जनताकोबिचमा पनि प्रिय छन् । उनी गाउँको अतिथि होइनन् साथी हुन् । उनी गाउँमा नेता जस्तो भएर बस्दैनन् । भाईछोरा जस्तो भएर दुगुरिरहन्छन् । त्यस क्षेत्रका बासिन्दा भन्छन्,‘ध्रुव राई जस्तो प्रतिनिधि पाउनु असाध्यै राम्रो अबसर हो । कसैलाई बिमार भयो भने आफै बोकेर दुगुर्छन् । कसैलाई आपत पर्यो भने आफै गएर भिड्छन् । उनी नेता जस्तो होइन गाउँलेका साथी जस्तो लाग्छ ।’

उनी गाउँमा यतिधेरै सजिलो छन् की उनी मञ्चका नेता होइनन् । यसो दुई शब्द राखेर बेपत्ता हुने नेता होइनन् । स्थानीयबासी भन्छन्, ‘गाउँको सामान्य कामदेखि सदरमुकामा उनी सबै काममा उनले सघाउँछन् । यस्तो जनप्रतिनिधि पाउनु हाम्रो लागि निकै सुखद हुनेछ ।’ उनी यतिधेरै सजिला र सक्रिय छन् की, उनी नेता भनेर कहिल्यै बस्दैनन् । गाउँका कोही बिरामी भयो भने बोकेर सदरमुकामसम्म आइपुग्छन् । सदरमुकाममा कसैको निधन भयो भनेर लास बोकेर गाउँ पुग्छन् । उनीसँग समृद्धिको उज्यालो सपना मात्रै छैन, सेवा र समपर्णको गहिरो भावना समेत छ ।