भोजपुर । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति असार १४ गतेलाई तोकेसगैं भोजपुरका अधिकाशं क्षेत्रमा चुनावी माहोल तातिएको छ । भोजपुरको २ नगरपालिका र ७ गाउँपालिकाको मेयर , उप-मेयर र प्रमुख र उप- प्रमुख साथै सबै वडाको सदस्यहरुको छिनोफानो लगाएर एमालेले भोजपुरमा चुनावी सभाका कार्यक्रमहरु गर्दै आईरहेको छ । भोजपुर नगरपालिकाको १२ वटा वडाहरुमा लगातार चुनावी सभाहरु सम्पन्न भइरहेको छ ।
आज पनि साविकको बोखिम गा.वि.स. अर्थात भोजपुर नगरपालिका वाड न: ५ मा चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रम अलि ढिलो समयदेखि सुरु भएको भएतापनि निकै भव्यरुपमा पञ्चकन्या माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको हो । सयौंको संख्यामा उपस्थित जनताका विच भएको कार्यक्रममा नेकपा एमाले नगर कमिटी सदस्य तथा भोजपुर नगरपालिका वाड न: ५ का वडाध्यक्ष उम्मेदवार जस बहादुर राईको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सांसद जयन्ती राईको प्रमुख अातिथ्यमा भएको थियो भने विशेष अतिथिका रुपमा नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य हरिबहादुर राई हुनुहुन्थ्यो । कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर पदका प्रत्यासी गणेश श्रेष्ठ , उप -मेयर पदका उम्मेदवार ममिता राई, अनेरास्ववियु केन्द्रीय सचिव तथा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मकर खड्का , नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य गञ्जधन राई, नेकपा एमाले जिल्ला कमिटी सदस्य गणेश प्रधान, नेकपा एमाले जिल्ला कमिटी सदस्य विपिन शाक्य, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य राजन राई, स्ववियु सभापति प्रकाश सिं राई, युवा संघ भोजपुरका सचिव बिमल रणपहेली लगायतका नेताहरू अतिथिका रुपमा हुनुहुन्थ्यो । साथै युवा नेताहरु , विभिन्न भातृ संगठनका प्रतिनिधि र विभिन्न व्यक्तिहरु अतिथिको रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रमलाई प्रमुख अतिथि जयन्ती राईले व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले भोजपुर नगरपालिका वाड न:५ को स्थानीय घोषणा पत्र वडाध्यक्ष उम्मेदवार जसबहादुर राईले सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा सबै अतिथिहरुले मन्तव्य राख्दै स्थानीय तहको निर्वाचनको महत्त्वका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा डाईमण्ड डान्स एण्ड ड्रामा क्रु भोजपुरका कलाकारहरुले दमदार प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष उम्मेदवार जसबहादुर राईले भने – “हामीलाई जिताउनुस हामी यहाँका जनताको हित , समाजलाई विकास गराउनको निम्ति ५ वर्ष सम्म हामी तपाईंहरुको सिपाही भएर खटिने छौ ।” कार्यक्रमलाई भोजपुर नगरपालिका वाड न:५ वडा कमिटीका सह-संयोजक सरस्वती तामाङले सञ्चालन गर्नुभएको थियो ।