षडानन्द नगर बनाउने सुरेन्द्र उदासका यस्ता छन योजना…

भोजपुर । २७ बर्षे शिक्षक जिवन, १८ बर्ष माध्यमिक विद्यालयको प्रधानाध्यपकको भूमिका, ४० सालदेखि एमालेको राजनीतिक जिवन– उनी हुन भोजपुर जिल्लास्थित षडानन्द नगरपालिकामा एमालेका मेयर उम्मेद्वार सुरेन्द्र कुमार उदास ।

उनको परिचय यत्ति मात्रै छैन, उनले आफ्नै पहलमा महोन्द्रोदय माध्यमिक विद्यालयलाई निमाबीबाट मावी सम्म बनाएका थिए । जसले षडानन्द आसपासका धेरै बालबालिकालाई घण्टौं हिडेर विद्यालय जानुपर्ने बाध्यताबाट मुक्त बनाएको थियो ।

‘मैले आफ्नो सबै उर्जा यहि क्षेत्रमा खर्चेको छु, मेरो पसिना यहिँ बगेको छ, अब नागरिकहरुले मूल्यांकन गर्ने समय आएको छ र सबैले सहयोगको वचन दिएका छन’, मेयर पदका उम्मेदवार सुन्दासले भने । उनलाई विद्यार्थी राजनीतिबाट भर्खरै विदा भएकी उर्जाशिल नेतृ मेरिका राईले उप मेयरमा साथ दिएकी छिन् ।

के के छन त नगर बनाउने योजना भन्ने प्रश्नको उदासले सहजै जवाफ दिए– ग्रामिण क्षेत्रमा आफ्नो गाउँ आफैं बनाऔं भन्ने नारासहित विकासको मुल फुटाउने एमाले नै हो, षडानन्दको विकासका लागि स्पष्ट खाका तयार पारेका छौं ।

राजनीति शास्त्रमा स्नातक गरेका उदासले एक दर्जन विकासका योजना फरर्र सुनाए । उनले लम्छुवा घाटको  अरुण नदिमा पुल बनाउने पहिलो प्राथमिकता देखि नगरका सबै वडा छुने गरि दिङला बजारमा चक्रपथ बनाउने योजना सुनाए ।

भोजपुरबाट काठमाडौं जान तराईकै बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै सिधै काठमाडौं आउन मिल्ने गरि दिङला बजार, तिनतले, चखेवा भज्याङबाट बाटो बनाउने पनि बताए ।

साउने डाँडाको पर्यटकिय सम्भाव्यताको उजागर गर्ने, पाँच बर्षे शिक्षाको गुरु योजना मार्फत सबै सामुदायीक विद्यालयमा कक्षा १ देखि ५ सम्म सबै बिषय अग्रेजी मै पढ्ने व्यवस्था मिलाउने पनि बताए । ‘गाउँमा एक्सरे मेसिन पनि छैन, अब दिङला बजारमा ५० बेडको सुबिधा सम्पन्न अस्पताल बनाउछौं ।’ उदासले अठोट कसे ।

उनले सिटिईभीटीसँग सम्बन्धन लिएर पाँच बर्षभित्रमा दिङला बजार, नेपाले डाडा र देउरालीमा ३ वटा प्राबिधिक शिक्षालय खोल्ने योजना पनि सुनाए । साविकको १० वटा गाबिस मिलेर बनेको षडानन्द नगरपालिकामा १४ वटा वडा छन । उदासले सबै वडाका सबै घरमा आफ्नो व्यक्तिगत पहुँच रहेको दावी पनि गरे । त्यसका अलवा एमालेको पार्टी संगठन र राष्ट्रिय राजनीतिमा एमालेले निर्वाह गरेको भूमिकाका कारण पनि आफ्नो जित सुनिश्चित भएको उनले दावी गरे ।