भोजपुर । स्थानीय तहको चुनावमा भोजपुरमा १ हजार ३ सय ५२ जनाको उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनयन दर्तामा १ हजार ३ सय ५२ जनाले उम्मेद्वारी दर्ता गराएको हो । उम्मेद्वारीमा दर्तामा ८ सय ९ जना पुरुष र पाँच सय ४२ जना महिला रहेका छन् । जिल्लामा सबैभन्दा धेरै षडानन्द नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै पौवादुङमा गाउँपालिकामा सबैभन्दा कम उम्मेदवारी परेको छ । १४ वटा वडा रहेको षडानन्द नगरपालिकामा २ सय ५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । ७२ जना जनप्रतिनिधि चयन हुनेछन् । त्यस्तै ६ वटा वडा रहेको पौवादुङ्मा गाउँपालिकामा एक सय जनाको उम्मेदवारी मनोनयन भएको छ । यहाँ ३२ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।
१२ वटा वडा रहेको भोजपुर नगरपालिकामा दुई सय पाँच जनाको मनोनयन दर्ता भएको छ । ६ वडा रहेको साल्पा सिलिछो गाउँपालिकमा एक सय १३, सात वडा रहेको अरुण गाउँपालिकामा एक सय २८ जनाको मनोनयन दर्ता भएको छ ।
त्यस्तै १० वडा रहेको आमचोक गाउँपालिकामा एक सय ४९, नौ वटा वडा रहेको ट्याम्के मैयुङ गाउँपालिकामा एक सय ३८, नौ वडा रहेको हतुवागढीमा एक सय ३३, र आठ वटा वडा रहेको रामप्रसाद राई गाउँपालिकामा एक सय ३३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा ८१ वटा वडा छन् भने चार सय २३ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।