‘एमाले विरुद्ध गठबन्धन गर्नेहरुको सर्मनाक पराजय हुन्छ’

सरकारले फेरि अर्को अनपेक्षित घोषणा नगरे प्रदेश नम्बर एकमा १४ अषार २०७४ मा स्थानीय तहको निर्वाचन हुनेछ । प्रदेश नम्बर एकको अधिकांस जिल्लामा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रविच चुनावी तालमेल भएको छ । पूर्व पहाडी जिल्लामा यी दुई दलमात्रै होइन जिल्लामा क्रियाशिल सबै दलहरुले एमाले विरुद्ध गठबन्धन गरेका छन् । एमाले विरुद्ध सबै दल किन एक भए ? यसको कस्तो असर पर्ला रु नेकपा (एमाले) जिल्ला कमिटि भोजपुरका सचिव तथा निर्वाचन परिचालन कमिटी संयोजक, प्रतिबद्धता पत्र लेखन समितिका संयोजक शरणकुमार राईसँग गरेको कुराकानीको सम्पादित अंश:

निर्वाचन परिचालन कमिटिका संयोजक हुनुहुन्छ, कस्तो हुदैँछ तयारी ?
(निर्वाचनको तयारी उत्साहजनक रुपमा भइरहेको छ । दुई नगरपालिका र ७ गाउँपालिकामा उत्साहका साथी नेता तथा कार्यकर्ताहरु निर्वाचनमा खटिनुभएको छ । भोजपुर एमालेमय भएको छ । हामीले नेकपा एमाले जिल्ला कमिटि भोजपुरको तर्फबाट प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छौं । नगरपालिका र गाउँपालिका उम्मेदवारहरुले पनि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । सामग्रमा भोजपुर यतिबेला एमालेमय भएको छ । गाउँगाउँमा चुनावी सभाहरु सम्पन्न भइरहेका छन् । नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा खटिनुभएको छ ।

भोजपुर एमालेमय भयो त भन्नुभयो तर सबै दलहरु एमाले विरुद्ध एक भएका छन् । चुनाव जित्न कठिन भयो होइन र अब ?
– भोजपुरमा एमाले बाहेकका सबै दलहरुले चुनावी गठबन्धन गरेका छन् । अझ यसो भनौं सबै दलहरु एमाले विरुद्ध उभिएका छन् । तर, यो हाम्रो लागि कुनै नयाँ बिषय होइन । हामीलाई थाहा थियो की एमाले विरुद्ध सबै एक हुनेछन् । किनभने सबै हिसाबले भोजपुरमा एमाले उनीहरु भन्दा अघि छ । हिजो एमालेले जनताको निम्ती गरेका कामहरुले गर्दा सबै आत्तिएका छन् । यो उनीहरुको पराजित मानसिकताको उपज हो । एक्ला–एक्लै लड्दा चुनावमा सर्मनाक हार हुने देखेपछि उनीहरुले गठबन्धन गरेका हुन् । एमाले विरुद्ध सबै एक हुनु नै एमालेको विजयको सुरुवात हो । गठबन्धन गर्नेहरुको समर्नाक हार हुदैछ । भोजपुरको सबै स्थानीय तहमा एमालेको विजय सुनिश्चित भइसक्यो ।

एमाले विरुद्ध सबै दलहरु एक हुने अवस्था कसरी सृजना भयो ?
(यसको त सरल उत्तर छ नी, की एमालेको विचार र संगठनबाट उनीहरु डराएका छन् । आत्तिएका छन् । एमालेको विचार र सुसंगठित संगठन नै हो पहिलो कारण त । एमाले सधैंभरी जनताको घर दैलोमा पुगेको छ । जनताका सुखदुःखमा साथ दिएको छ । उनीहरु चुनावमा मात्रै गठबन्धन गरेर घर दैलोमा जादैछन् । केवल चुनावी स्वार्थका लागि भएको गठबन्धनलाई जनताले अस्वीकार गर्नेछन् ।

के हुन् तपाईहरुको विजयको आधार ?
(पहिलो त हाम्रो पार्टी नेकपा (एमाले)ले लिएको ऐजेन्डा नै हो । समृद्धि र स्वाभिमानको सन्दर्भमा एमालेले जुन नीति अख्यिार गरेको छ । यसले एमालेप्रति जनताको विश्वास र भरोषा बढेको छ । अर्को हाम्रा नेता तथा कार्यकर्ताहरुले स्थानीय तहमा गरेका कामहरु पनि हो । एमालेका नेता तथा कार्यकर्ताहरुल सधैं जनताको साथमा थिए । सधैं जनताको खुसदुःखमा साथ दिएका थिए । जनताको भरोषायोग्य नेताहरुलाई हामीले उम्मेदवार बनाएका छौं ।

अर्को हामीले भुल्न नहुने तथ्य के हो भने आज जसरी स्थानीय तहको निर्वाचन हुदैछ । यसको प्रमुख श्रेय एमालेलाई जान्छ । हामी सबैलाई थाहा छ, २०५५ सालमा एमालेकै नेतृत्वमा स्थानीय स्वायत्त शासन ऐन लागू भएको हो । ‘आफ्नो गाउँ आफै बनाउँ’, जेष्ठ नागरिक एवम् एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ता, नौ ‘स’ कार्यक्रम, रोजगार प्रबद्र्धन कार्यक्रमलगायतका कार्यक्रमको सूरुवात गरेको थियो ।

जनतादेखि धेरै टाढा काठमाडौंको सिंहदरबारलाई जनताको आँगनसम्म लैजानका लागि एमालेले लड्दै आएको तथ्य सबैलाई थाहा छ । एमालेकै अबिचलित अडान र संघर्षको कारण स्थानीय तहहरू शक्तिशाली, अधिकारसम्पन्न र संविधानको परिधिभित्र स्वायत्त भएका छन् । यस कारण पनि जनताले एमालेलाई रोज्नेछ । हाम्रो पार्टीले घोषणा गरेको छ, की अब गाउँ र नगरमा सामाजिक–आर्थिक रुपान्तरण र विकासको अभियान शुरु हुनेछ । स्थानीय तहहरू सामाजिक न्याय, समुन्नति र आधारभूत लोकतन्त्रका नमूना बन्नेछन् । निर्वाचनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउनेछ । यसको अगुवाई एमालेबाट मात्रै सम्भव छ ।

तपाई एमाले भोजपुरको प्रतिबद्धता पत्र मस्यौदा समितिको संयोजक पनि हुनुहुन्छ, के छन् तपाईहरुको चुनावी ऐजेन्डा ?
(हामीले आफ्नो घोषणपत्रमा समृद्धिका एजेण्डालाई प्राथमिकता दिएका छौं । नेपालको सबैजसो राजनीतिक परिर्वतनको आन्दोलनको अगुवाई गरेको भोजपुरहरुले अब समृद्धिको अगुवाई पनि गर्नेछ । जसरी इतिहासका कालखण्डहरुमा राजनीतिक परिर्वतनको सुरुवात भोजपुरबाट भयो, ठिक त्यसैगरी आर्थिक समृद्धिको सुरुवात पनि भोजपुरबाटै गर्ने हाम्रो अठोट छ । आगमी ५ बर्षमा हामी भोजपुरलाई मुलुककै समृद्ध जिल्लाको रुपमा स्थापित गर्न चहान्छौं ।

हामीले १२ वटा मुख्य बुँदाहरुमा एजेण्डाहरु समावेश गरेका छौं । नगर, गाउँ तथा वडा तहसम्म सामाजिक तथा आर्थिक रुपान्तरण अभियान सुरु हुनेछ । जिल्लाको सबै भागमा यातायात सेवा सुचारु हुने गरी सडक निमार्णसँगै स्तोरोन्ती, विजुली बत्ती घर घरमा लैजानेछौं । भोजपुरका हरेक परिवारका सदस्यहरु रोजगारीमा हुनेछन् । कम्तीमा ८ हजारलाई सिपमुलक तालिम दिनेछौं । कम्तीमा ५ हजारलाई रोजगार दिनेछौं ।

शिक्षा, खेलकुद तथा मानव संसाधन, स्वास्थ्य, पोषण तथा खाद्य,कृषि, सिँचाई, वन तथा पशु सेवा, धर्म, संस्कृति तथा पर्यटन, यातायात र खानेपानी, उर्जा र विद्युत्, पुर्वाधार विकास, आवास र शहरीकरण, सूचना तथा सञ्चार सेवा, सुरक्षा, तथा सुशासन लगायतका बिषयमा हाम्रा ५ बर्षे योजना र सपना छन् । ती योजना र सपनाको जगमा हामी भोजपुरलाई समृद्ध बनाउनेछौं ।