भोजपुर जिल्लाको एकमात्र महिला प्रमुख उम्मेदवार सिसिर

भोजपुर । स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरुले महिलालाई प्रमुख पदमा अटाएनन् । प्रमुख र उपप्रमुख मध्ये एकमा महिला अनिवार्य बताइए पनि क्षमता र दक्षता हुदाँहुदै पनि उप पदमै सीमित हुनुपरेको छ । संघिय संरचना अन्तर्गत समावेशी निर्वाचन भनिएपनि पुरुष प्रधान समाजमा महिलाले दोस्रो दर्जामा गनिनुपर्ने बाध्यता उम्मेदवारी चयनमा पनि देखियो ।

महिला पुरुष समानताको नारा उराल्नेले उम्मेदवारी चयनमा बायस गरेको भन्दै राजनीतिक दलहरुले आक्षेप खेप्दै आएका बेला नेपाली कांग्रेसले नाक जोगाउने प्रयास गरेको छ । कांग्रेसले पुर्वी पौवादुम्मा गाउँपालिकामा महिलालाई प्रमुख पदमा अघि सारेर पुरुषलाई उपप्रमुख दिएको छ । दुई नगरपालिका, ७ गाउँपालिका गरी ९ एकाइ रहेको जिल्लामा स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेका एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरमले कुनै तहमा महिलालाई प्रमुख पद दिएनन् ।

पौवादम्मामा कांगे्रसबाट प्रमुख पदमा उठेकी ३४ बर्षिय शिशिरा राई जिल्लाभरकै एक मात्र महिला उम्मेदवार हुन् । कांगे्रेसले नेतृत्व तहमा युवालाई नसमेट्ने गरेको भन्दै केन्द्रदेखि जिल्लासम्म दल भित्रै बेला बेलामा देखिने आपसी मुठभेठलाई चिर्दै राईले निर्विरोध प्रमुख पदमा उम्मेदवारी पाएको बताइन् ।
१२ औ केन्द्रीय महाधिवेशनबाट प्रतिनिधि र १३ औ बाट महासमिति सदस्य भएको तथा कांग्रेसकै भातृसंगठन नेपाल महिला संघ जिल्ला कार्यसमितिमा दुईपटक अध्यक्ष पदमा जिम्मेवारी सम्हालेको कारण पार्टीका लागि आफु अकाट्य भएको बताइन् । पौवादुङ्माको बास्तिम गाउँमा जन्मिएकी उनी बुवा पुर्णवहादुर राई र आमा भैमाया राईका सन्तान हुन् । भोजपुर नगरपालिकाको देउरालीमा एकबर्षअघि विदुर राईसंग विवाह गरेर आएकी भएपनि माइति गाउँबाटै अन्य दलका प्रतिस्पर्धिसंग लड्न प्रमुखमा उठेकी छन् । विद्यार्थीकालदेखि कांगे्रस सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध भएर हालसम्म निरन्तर कटिबद्ध भएर लागेकी छन् । राजनीतिक जिवनमा हालसम्म कुनै सार्वजानिक आक्षेप नलागेकी निष्ठावान नेतृ हुन् ।
प्रमुख पद पाएदेखि उनी चुनावी प्रचारप्रसार, घरदैलो र सभा सम्मेलनमा एजेण्डासहितको सम्बोधनमा व्यस्त रहदै आएकी छन् । उनका पतिको साथले पनि सहजता थपेको छ । उनका पति भोजपुर बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघमा आबद्ध राई पुर्व स्ववियु उपसभापति भएका जिम्मेवार राजनीतिक पृष्ठभुमि बोकेका व्यक्ति हुन् । पार्टीले सौहार्दताका साथ उम्मेदवारी दिएपनि घरपरिवार र माइती पक्षमा मानसिक, सामाजिक तथा आर्थिक तवरले सहयोग गरिरहेकोले चुनावी प्रचारप्रसारमा होमिन सहज भएको उनको तर्क छ । महिलाहरुले दोस्रो तहमा चित्त बुझाइ रहनुपरेका बेला आफुले प्रमुख पद पाएकामा उनी खुसी छन् । तर महिला भएकै कारण अनेक चुनौतीहरु आइपर्ने गरेका सुनाइन् ।

विवाहित भएपनि घरव्यवहारलाई थन्काएर माइतीगाउँ गएर चुनावमा लाग्न परिवारले प्रेरित गरेको त छ नै । अर्कातिर माइतीबाट उम्मेदवार उठेकै कारण अधिकांश मतदाताले विवाह गरेर अन्यत्र गएकाले के नै विकास निर्माण गर्छन् भन्ने अड्को थाप्छन् । ‘समाज सचेत बन्दै गएपनि बुझेर बुझ पचाउनेहरु धेरै छन्, महिलालाई अंकुश लाउन खोज्नेहरु छन्, यस्ता चुनौतीलाई चिरेर अन्य दलका पुरुष प्रतिस्पर्धिसंग लड्नलाई चुनावी प्रचारप्रसारमा दिनरात खटिराखेको छु,’ उनले बताइन् । महिला एक जनामात्रै प्रमुखमा उम्मेदवार उठेकाबेला जितेर इतिहास रच्ने लक्ष्य रहेको बताइन् ।

‘मलाई जिताएको खण्डमा पुरुष प्रतिनिधिहरुको तुलनामा नमुना काम गरेर देखाउनेछु, मेरो घर माइती छुट्टाुट्टै तहमा परेपनि मेरो राजनीतिक थलो यहि हो, मलाई कुनै लोभलालचा छैन, सृप विकास निर्माण र न्यायका भोका जनताको सेवा गर्नु छ,’ उनको भनाई छ । उनको लक्ष्य छ । खुसी लागेको छ गर्न सक्छु । नमुना बनाएर देखाउछु । उनी आफु महिला भएकाले थिचोमिचोमा परिरहेका महिलालाई उकास्ने मुद्दालाई मुख्य एजेण्डा बनाएकी छन् । विकास, निर्माणका एजेण्डालाई प्राथमिकतामा राखेर भोट मागिरहेको बताइन् । ‘पार्टीले विश्वास गरेर नेतृत्वदायी क्षमतालाई हेरेर प्रमुख पद दिएको छ, साख जोगाउनका लागि दिलोज्यान दिएर लागेको छु,’ उनले भनिन् ।