कविता महोत्सवमा भोजपुरे सुबास राई ‘क्याप्टेन’ को फरक द्वितीय


भोजपुर । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव– २०७४ मा भोजपुरका सुबास राई ‘क्याप्टेन’ को ‘फरक’ शिर्षकको कविता द्वितीय भएको छ । यसैगरी खोटाङका चन्द्र रानाहँछाको ‘आँधीको यात्रा’ शीर्षक कविता प्रथम भएका छन् भने दाङका दीपेन्द्र उपाध्याय (लोकतन्त्रं), काभ्रेपलाञ्चोककी उर्मिला कोइराला (उज्यालोको आत्मकथा) र काठमाडौँकी अमृता स्मृति (फूलहरु जान्दैनन् युद्ध गर्न) तृतीय भएका छन् ।

विजेतालाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २०–२० हजार नगदसहित सम्मानपत्र राष्ट्रपतिको हातबाट प्रदान गरिनेछ । महोत्सवमा देशभरबाट ३२ प्रतियोगी तथा २० अप्रतियोगी कवि सहभागी थिए । देशका विभिन्न जिल्लाबाट २२९ कविता प्रतियोगिताका लागि प्राप्त भएको महोत्सवका संयोजक प्राज्ञ डा अमर गिरीले जानकारी दिए । प्रज्ञा–प्रतिष्ठानबाट विसं २०२२ देखि आफ्नो जन्मोत्सवका दिन कविता महोत्सव गरिँदै आएको छ ।

महोत्सवमा रेशम विरही, अशेष मल्ल, बेन्जु शर्मा, कृष्ण प्रसाईं, गोपाल अश्क, रमेश पौडेल, विमला तुम्खेवा, निलम कार्की ‘निहारिका’, सुरेश हाँचेकाली पूर्ण इन्फादा, हरिमाया भेटवाललगायत अतिथि कवि र असिम सागर, सुनिता खनाल, एपी सुमन, राधिका पन्त देवकोटा, मेनका चापागाईं ‘मेनु’ लगायत प्रतियोगी कविले राष्ट्रप्रेम, नारीशक्ति, साम्राज्यवाद र युद्धको विरोध, सम्पन्न र विपन्नको खाडल, वैदेशिक रोजगारीको पीडा, लोकतन्त्रको रक्षा, भूकम्प सुरक्षाबाट लगायत विषयमा आफ्ना अभिव्यक्ति दिएका थिए । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले कविहरुले आफ्ना सिर्जनामार्फत देशको विविध वस्तुस्थिति झल्काएको बताए ।