भोजपुर । स्थानीय तह निर्वाचन र मतगणनाको क्रममा पत्रकारहरुलाई सुचना संकलन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले माथिको आदेश भन्दै पत्रकारहरुलाई सूचना संकलन गर्नमा रोक लगाएको हो ।
दुई नगरपालिका र ७ गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेको भोजपुरमा हिजो राती १२ बजेदेखि मतगणना धमाधम भइरहेको छ । उक्त मतगणनाको समाचार संकलनका लागि मतगणनास्थलको आसपासमा समेत पत्रकारलाई जान रोक लगाइएको छ । सूचना संकलनका लागि पत्रकारहरु मतगणनास्थल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीहरुले रोकेर दुव्र्यव्यहार समेत गरेका छन । समाचार संकलनमा रोक लगाइएपछि प्रमुख जिल्ला अधिकारी गोमादेवी चोम्जुङ्गले माथिबाट नै प्रवेश रोक गर्नु भनेर निर्देशन आएकोले प्रवेश गर्न नमिल्ने बताए । फोटो खिच्न र प्रवेश गर्न त मिल्दै मिल्दैन त्यसैले बाहिर अरुबाट नै सूचना लिनुहोस प्रमुख जिल्ला अधिकारी चेम्जुङ्गले बताए ।
हिजो सम्पन्न भएको मतदान प्रक्रियामा पनि पत्रकारहरुलाई मतदान केन्द्रमा सुचना संकलन गर्न रोक लगाइएको थियो । पत्रकारहरुलाई समाचार संकलन गर्न पाउने कही कतै उल्लेख नभएको भन्दै रोक लगाइएको थियो । पत्रकारहरुलाई समाचार संकलन गर्नमा रोक लगाइएपछि पत्रकार महासंघ भोजपुर शाखा अध्यक्ष श्यामकृष्णा दाहाल आश्चर्यमा परेको बताए । अघिल्लो संविधानसभा होस या शाहीकालीन त्यो अवस्थामा समेत यति धेरै पत्रकारहरुमाथि हर्कत नदेखाइएको अध्यक्ष दाहालले बताए ।
मतगणनाको क्रममा पर्यवेक्षकहरुलाई समेत प्रवेशमा रोक लगाइएको छ । निष्पक्ष निर्वाचनको बाहिरबाट पर्यवेक्षण गरिरहेको पर्यवेक्षकहरुलाई समेत रोक लगाइएपछि पर्यवेक्षण गर्ने निकायहरु आश्चर्यमा परेका छन ।