खिम्तीमा बेपत्ता भएकाको अझै पत्तो लागेन

रामेछाप। रामेछापको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका तीनजनाको अझै पत्ता लागेको छैन । साविक खिम्ती र फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा पाँचजना बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये दुईजनाको शव आइतबार फेला परेको भए पनि अन्य तीनजनाको अझै पत्तो लाग्न सकेको छैन ।

मृत्यु हुनेमध्ये लिखु–६ की लालकुमारी खत्रीको शव घरमै र वाशु भनिने जयप्रकाश कार्कीको शव खिम्तीभन्दा करिब सात किमी दक्षिण तामाकोसी नदीको किनारमा फेला परेको थियो । घटनामा परी बेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घरसहित खिम्ती खोलाले बगाएकी सुमनकुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजी जारी छ । हराएकाहरुको जीवितै उद्धार हुने आशा कम हुँदै गएको प्रजिअ सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

घटनामा परी घाइते भएका सातजनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको काठमाडौँको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यसैबीच, जिल्ला दैवी प्रकोप उद्धार समितिले खिम्तीका बाढीपीडित चार घर परिवारलाई शनिबार राहत सामग्री वितरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, रामेछापका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार चार घरपरिवारलाई अन्न, ओढ्ने ओछ्याउने, त्रिपाल, भाँडाकुँडा तथा नुन तेललगायतका सामग्री वितरण गरिएको छ ।

पीडितलाई स्थानीयस्तरमा पनि केही राहत सामग्री वितरण गरिएको लिखु गाउँपालिकाका उपप्रमुख दीपशिखा दाहालले जानकारी दिनुभयो । रासस