भोजपुर । तीन बालबालिकाको सामूहिक हत्या भएको एक महिना नाघे पनि अनुसन्धान टुंगिएको छैन। अरुण गाउँपालिका–३, प्याउलीमा दुई छिमेकी घरका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १० गते साँझ रहस्यमय ढंगले हराएका थिए। त्यसको दुई दिनपछि उनीहरूको शव स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा फेला परेको थियो।
गाउँपालिकाको सदरमुकामसमेत भएकाले प्याउलीमा त्यतिबेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेका थिए। नेपाली सेना बसेको रेडक्रस भवन आसपास खेल्न गएका अवस्थामा बालबालिका हराएका थिए। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टमका क्रममा तीनैजनाको मुखमा केही चुइगमलाई मुठो पारेर खाँदिएको अवस्थामा फेला पारिएको थियो।
त्यसको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन। ‘घटना आज थाहा होला, भोलि थाहा होला भनेर कुरेको एक महिना बित्यो, टुंगो लाग्ने छाँटकाँट छैन,’ पीडित परिवारका चेतनाथ फुयालले भने, ‘अनुसन्धान हुँदै छ, हुँदै छ भन्छन्, कति कुरांैरु अहिलेसम्म केही न केही त पत्ता लाग्नुपर्ने हो नि, अब त आसै लाग्न छाड्यो।’ उनी सुष्मा र प्रदीपका बुवा हुन्।
घटना भएदेखि प्रहरी अनुसन्धानमा निरन्तर खटिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी काजीकुमार आचार्यले बताए। पीडित परिवार र प्याउलीवासीलाई भने त्यसमा पत्यार लाग्न छाडेको छ।
‘खै, अनुसन्धान के अनुसन्धान भनाै, गावैं बसाइँ सर्ने तयारीमा छ, ज्यानलाई धरापमा राखेर यस्तो डरमर्दो ठाउँमा बसेर पनि के गरौंरु’ स्थानीय बद्री खनालले भने, ‘सम्साँझै झ्यालढोका बन्द गरेर कति दिन सुरक्षित होइएला ररु’ दिनदिनै रहस्यमय बन्दै गएको घटनाले मानसिक रूपमा आतंक बढाउँदै गएको उनले बताए।
विद्यालय बर्खे बिदा सकिएर सञ्चालन हुन थालेका छन्। बालबालिकामाथि भएको हत्याले विद्यार्थी विद्यालय जान नसक्ने अवस्थामा छन्। मुठी खाएर मुरी उब्जाउने बेला आफ्नो ज्यानै के होला भन्ने सुनिश्चित नभएकाले स्थानीय बासिन्दा मेलापात जान सकेका छैनन्। उनीहरू आफ्नै मकैबारीमा पसेर मेलापात गर्न सकेका छैनन्। ओल्लो–पल्लोघर जाँदा पटक–पटक पछाडि फर्कन्छन्। जुनेली रातमा आफ्नै छायासँग डराउँछन्।
घटना रहस्यमै रहेपछि स्थानीय राजकुमार खत्रीको संयोजकत्वमा २० सदस्यीय संघर्ष समिति बनेको छ। समितिको अगुवाइमा स्थानीय बासिन्दाले गएको शनिबार मुख्य सडक भोजपुर–लेगुवा नारदमुनि थुलुङ राजमार्गमा अरुण गाउँपालिकावासीलाई सुरक्षाको ग्यारेन्टी गर्न‘पर्ने, तत्काल विस्थापित हुनबाट रोक्नुपर्ने, हत्यारा चाँडो पत्ता लाग्नुपर्ने, मृतकलाई सहिद घोषण गर्न‘पर्नेलगायत माग राख्दै ६ घण्टा चक्काजाम गरे। मंगलबार सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज ठप्प पारे।
चाँडो र प्रभावकारी अनुसन्धान हुनुपर्ने माग राख्दै आफ्नो पहुँच पुगेका विभिन्न न्यायिक निकायमा पीडित परिवार पुगेका छन्। तर अनुसन्धान टुंगो लाग्ने गरी हालसम्म सान्त्वना दिन नसकेको पीडित परिवारका रवीन्द्र सापकोटाले बताए। उनी मृतक रञ्जीवका बुवा हुन्। घटनालाई लिएर मृतकका आफन्त गृहमन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री कार्यालय, मानव अधिकार तथा बालबालिकाका क्षेत्रमा काम गर्ने सबै निकायमा पुगेका छन्। जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मीको घटनाको ढिलासुस्तीप्रति ध्यानाकर्षण बढेको छ। अनुसन्धानमा खटेका सरकारी निकायको सुस्तताले घटना रहस्य लम्बिँदै गएको महिला तथा बालअधिकारकर्मी सविना राईको भनाइ छ। ‘चाहे वयस्क होस् या बालबालिका, कसैलाई निर्मतापूर्वक मार्न पाइँदैन, चुनावकै बेला जसरी अबोध बालिकाहरू मारिए, घटना जसरी रहस्यमै गुपचुप गराउन खोजिएको छ, हामी अधिकारकर्मी खेद प्रकट गर्दछौं, दोषी चाँडो पत्ता लाग्नुपर्छ र पीडितले न्याय पाउनुपर्छ,’ उनले भनिन्।
अरुण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गजेन्द्रबहादुर कार्कीले घटना अनुसन्धानमा खटिएको टोलीले पत्ता लगाउने अवस्था नदेखेको भन्दै केन्द्रीय तहबाटै अनुसन्धान हुनुपर्ने बताए। ‘घटनाको वास्तविकता जसरी भए पनि पत्ता लाग्नुपर्छ, केन्द्रीय तहकै अनुसन्धान टोली खटिनुपर्छ। यहाँका सबै डराएका छन्। हामी नवनिर्वाचित जनप्रतिनिधिलाई पनि काम गर्ने वातावरण बन्न सकेको छैन,’ उनले भने। जिल्लास्थित अधिकारवादी संघसंस्थाहरूले पनि घटना राज्यका लागि सुरक्षा चुनौती भएको उल्लेख गर्दै तथ्य तत्काल बाहिर ल्याउन माग गरेका छन्।
सांसद कुमारीलक्ष्मी राईले ‘अनुसन्धानका लागि ल्याएको प्रहरीको कुकुर नेपाली सेनाको बिटमा पस्न लागेपछि तानिएको’ संसद्मा अभिव्यक्ति दिइन्। संघर्ष समितिले समेत अनुसन्धानका लागि ल्याएको कुकुर आफूहरूले देख्ने गरी अनुसन्धानमा खटाएको नपाएको बताएका छन्।
घटनाका सन्दर्भमा पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी रमेशराज भट्टराईले सांसदले कुन आधारमा बोलेको र सञ्चारमाध्यमले कसरी लेखे उनीहरूले नै जान्ने बताएका छन्। ‘घटनाको अनुसन्धान कसैको पक्षमा गर्नेरनगर्ने हुँदैन, वास्तविकता पत्ता लगाउने हो, अनुसन्धान टोली निरन्तर खटेको छ,’ उनले भने। उनले केन्द्रीय अनुसन्धान टोली पनि घटनास्थल जाँदै गरेको जानकारी दिए।
प्रहरीकै कुरा बाझ्छ
घटनालगत्तै अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तरकुमार कार्की घटनाको अनुसन्धान गर्न विराटनगरबाट पुगेका थिए। उनलाई अनुसन्धानको प्रगतिबारे सोध्दा आफूलाई होइन अनुसन्धान अधिकृतलाई सोध्न भने। ‘डाक्टरको रिपोर्ट आइसकेको छ। संसद्मा सांसदले जे पायो त्यही बोल्दै हिँड्छन्, पत्रकारले त्यही लेख्छन्,’ उनले भने, ‘हाम्रो देश यस्तै छ।’ उनले डाक्टरको रिपोर्ट मृतकका बुवालाई भनिसकेको बताए। ‘उतै सोध्नुहोस्,’ उनले टेलिफोनमा भने। हामीलाई भन्नु हुँदैन ररु भन्ने प्रश्नमा उनले भने, ‘रिपोर्ट मसँग छैन, थाहा छैन।’
अनुसन्धान अधिकृत इन्स्पेक्टर गीतनारायण चौधरीले भने पोस्टमार्टम रिपोर्ट आइसकेको, भिसेराको आउन बाँकी रहेको टेलिफोनमा जानकारी दिए। पोस्टमार्टमको रिपोर्ट पनि सार्वजनिक गर्न नमिल्ने बताए। आफू मंगलबारदेखि ‘लामो समयका लागि’ बिदामा घर ९सुनसरी० गएको जानकारी दिँदै उनले भने, ‘अनुसन्धान भइरहेको छ।’ अनुसन्धान अधिकृत नै बिदामा जिल्लाबाहिर लामो समय बिदामा गएपछि कसरी अनुसन्धान अघि बढ्छरु भन्ने प्रश्नमा उनले भने, ‘म यताबाटै मिलाउँछु, उताबाट काम भइरहन्छ।’ उक्त क्षेत्रमा पर्ने तिवारीभन्ज्याङस्थित चौकीका इञ्चार्ज इन्स्पेक्टर छेतिन्दो भोटेले पनि जानकारीका लागि अनुसन्धान अधिकृतलाई नै देखाए। जिल्ला प्रहरी प्रमुख डीएसपी आचार्यले थपे, ‘अनुसन्धानलाई ढिलाइ गरेर झनै रहस्यमय बनाउँदै लगेको पक्कै होइन, हामीले सकेको खटिराखेका छौं, टोली खटेका छन्।’ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले घटनाबारे पत्ता लगाउन सक्दो सुरक्षा संयन्त्र प्रयोग गरिएको बताइन्। स्रोतः कान्तिपुर दैनिक