खाँदबारीमा चल्यो टेम्पो, कहाँ–कहाँ चल्दैछ

संखुवासभा । जिल्लामा टेम्पो सञ्चालनपछि सर्वसाधारणलाई यातायात सहज भएको छ। तीन महिना अघिबाट सञ्चालनमा ल्याइएको टेम्पोले छोटो दूरीमा यात्रा गर्नेलाई सजिलो बनाएको हो।

टेम्पोको भाडादर पनि सस्तो छ। १ किलोमिटरसम्मका यात्रु ओसारपसार गर्ने गरेको छ। सस्तो भाडामा आवतजावत गर्न पाएपछि राहत मिलेको यात्रु बताउँछन्। टेम्पो भित्रिनुभन्दा अघि महँगो भाडा तिर्नुपरेको स्थानीयले बताए। पहिले सवारीलाई तिरेको भन्दा सस्तोमा यात्रा गर्न पाएको खाँदबारी ३ की अनिता राईले बताइन्।

खाँदबारी बजारबाट मानेभञ्ज्याङ पुग्न यातायातका साधन रिजर्भ गर्दा ट्याक्सीले एक हजारसम्म लिने गरेको थियो । उनले भनिन्, ‘तर टेम्पोले दुई सय पचासमा ल्याइदिन्छ। यसअघि एक ठाउँबाट अर्को ठाउँमा जान गाडी भरिनुपर्ने, नभए रिजर्भ गरेर जानुपर्ने थियो,’ राईले भनिन्, ‘सस्तो मूल्यमा टेम्पोमा जुनसुकै बेला जान सकिन्छ।’

एक ठाउँबाट अर्को ठाउँमा थोरै मूल्यमा सामान ढुवानी गर्न पनि सहज भएको खाँदबारीकी फूलमती गुरुङको भनाइ छ। बजार नजिकै गाउँ भएकाले कृषि उपज बजार लैजान पनि सजिलो भयो, उनले भनिन्, ‘सेकाहाबाट अढाइ सयमा तरकारीसहित बजार पुर्‍याइदिन्छ, बेलैमा पुर्‍याउने हुँदा बिक्री गर्न पनि सहज हुन्छ।’ फोनकै भरमा भनेकै समयमा तुरुन्तै आइपुग्ने भएकाले टेम्पोबाट फाइदा पुगेको उनले बताइन्।

तीन महिनाअघि दुई टेम्पो जिल्ला भित्रिएका थिए। अहिले १२ वटा सञ्चालनमा आएका छन्। स्थानीयको माग बढेकाले टेम्पोको संख्या बढाइएको चालक रमेश सापकोटाले बताए। ट्याक्सीभन्दा सस्तो भाडामा यात्रुको ओसारपसार गर्ने भएकाले टेम्पोको माग बढेको उनको भनाइ छ।

टेम्पोले सस्तो भाडामा खाँदबारीदेखि सेकाहा, मानेभञ्ज्याङ, तुम्लिङटार, चैनपुर पुर्‍याउँदै आएको छ। उनका अनुसार सवारी भाडामा एकरूपता कायम गरिएको छ।