काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असार १० गते भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीमा तीन बालबालिकाको हत्याको आशंका भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९ सिआइबी० ले गर्ने बताएका छन् ।
उक्त घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको भन्दै अर्थमन्त्री कार्कीले घटनाको थप सत्य तथ्य पत्ता लगाउनका लागि सिआईबीको विशेष टोली खटनाउन आफूले गृह सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिइसकेको बताए ।
भोजपुरे सेवा समाज काठमाडौँले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्याउलीमा भएको दुखद घटनाले भोजपुरेहरुलाई शोकाकुल बनाएकाले यसको चाँडो सत्य तथ्य अनुसन्धान गर्न निरन्तर कुराकानी भइरहेको जानकारी दिए ।
मन्त्री कार्कीले आफ्नो सम्पूर्ण दृष्टि आर्थिक समृद्धिमा केन्द्रित रहेको बताए । मन्त्री कार्कीले भने, “नेपालमा निर्यातको तुलनामा आयत निकै बढि छ । व्यपार घाटाको मुख्य जड नै यहिँ हो । त्यसैले निर्यात बढाउनका लागि हालसालै सार्वजनिक गरिएको मौद्रिक नीतिले पनि कृषिको उत्पादन र ऊर्जा क्षेत्रको उत्पादन, विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ । यसले पनि व्यापार घाटा सन्तुलन गर्न मद्दत गर्छ ।”
कार्कीले मुलुकलाई समृद्ध बनाउनका लागि उद्योग कलकारखानाको विकास, रोजगारीमा बृद्धि र ऊर्जा, कुषि र पर्यटन क्षेत्रको विकास नै महत्त्वपूर्ण कुरा रहेकाले सरकारको ध्यान यसैमा केन्द्रित भएको बताए ।
उनले लक्ष्य अनुसार कै आर्थिक बृद्धिदर हासिल गर्न यो सरकार सफल हुने विश्वास व्यक्त गरे । मन्त्री कार्कीले भोजपुरको विकासका लागि कुनै कसर बाँकि नराख्ने भन्दै पूर्व र उत्तरी क्षेत्रमा आफ्नै पहलमा विद्युतिकरण भएको र अब हतुवागढी घोरेटार लगायतका क्षेत्रमा पनि चाँडै विजुली बाल्ने उद्घोष गरे ।
उनले मध्यपहाडी लोकमार्ग अन्तर्गतको लेगुवा भोजपुर सडक खण्डमा गुणस्तरीय र व्यवस्थित रुपले कालोपत्रे गर्ने काम द्रुत गतिमा अघि बढाई नियमित रूपमा त्यसको प्रगति विवरण आफूलाई पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए ।
कार्कीले भोजपुरबाट संखुवासभा हुँदै तराई जोड्ने कनेक्टिभिटीको मुख्य माध्यमको रुपमा रहेको अरुण नदीमाथि लंसुवाघाटको पुल चाँडै निर्माण गर्नका लागि आफू निरन्तर गृहकार्यमा रहेको बताए ।
उनले समृद्ध भोजपुर नै आफ्नो चाहना रहेकाले यसमा सबैले आआफ्नो ठाउँबाट लागिपर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मन्त्री कार्की जलस्रोत मन्त्री हुँदा आफूले सचिवको भूमिकामा सँगै काम गर्ने अवसर पाएको भन्दै उहाँको कार्यशैलीका कारण सफल अर्थमन्त्रीको रुपमा इतिहासमा नाम लेखाउने बताए ।
कोइरालाले कार्कीले अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई खुल्ला प्रतिस्पर्धाबाट अघि बढाउन र माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई स्वदेशी लगानीमै उत्पादन गर्नका लागि खेलेको भूमिकालाई इतिहासले कदर गर्ने बताए ।
कार्यक्रममा समाजका अध्यक्ष पासङ दोर्जी शेर्पाले कार्कीले भोजपुरको विकासमा खेलेको भूमिकालाई शब्दले प्रशंशा गरेर साध्य नहुने बताए ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व अर्थमन्त्री शंकरप्रसाद कोईराला, अल्ट्रा धाविका मिरा राई, शिक्षासेवी गुरुप्रसाद राई लगायतलाई सम्मान गरिएको थियो । दैनिकनेपाल