भोजपुर । जिल्लाको उत्तरी दिंलामा शिक्षाको ज्योति आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढसयबर्ष अगाडि स्थापना गरेको षडानन्द–सिताराम गुठी संरक्षणको अभावले हराउदै गुमनाम बन्दै गएको छ । गुठीको गुरुकुल पाठशाला, सयौ रोपनी जग्गा, अचल सम्पति र भौतिक संरचना कति छन् भन्नेसम्म वेखबर रहेका छन् । देशमा चलेको एक दशक लामो द्धन्द्धले प्रभावित बनाएको गुठी शान्ति स्थापना भएको दशक वितिसक्द समेत गुठी झनै अव्यवस्थित बन्दै गएको छ ।
दिंलामा १९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा स्थापना गरेको १८ सय रोपनी जग्गा र खेतीयोग्य जमिन अहिले आएर अतिक्रमण हुदै गएको छ । सार्वजानिक सम्पती व्यक्तिगत प्रयोजनका लागि अप्रत्यक्ष रुपमा अधिकरणमा पर्दै गएको छ । गुठीको जग्गामा दिङ्गलाबजार दिनदिनै फैलदै गएको छ । ढलानका स्थायी घर आफुखुसी धमाधम बन्दै गएका छन् । गुठीको सार्वजानिक जग्गा हडप्न नपाइने भएपनि पछिल्लो समय राजनीतिक आडमा जग्गाको दुरुपयोग हुन थालेको स्थानीयवासी बताउँछन् । सञ्चालक समितिले भने जग्गा व्यक्तिगत प्रयोजनमा दुरुपयोग नभएको दावी गरेको छ । ‘दिङ्गला बजारका प्राय घर व्यक्तिगत जग्गामा बनेका छन्, केही घर गुठीको जग्गामा बनाएका भएपनि वार्षिक भाडा लिने गरेका छौ । उनीहरुको स्थायी घर हुदै होइनन्,’ समिति अध्यक्ष किशोर किरातले बताए । अध्यक्षले दुरुपयोग नभएको दावी गरेपनि १८ सय रोपनी जग्गाको ११ सय ७५ रोपनी मात्र आफुसंग रेकर्डमा रहेको किरातले बताएका छन् । दिङ्गलाबजार विस्तार भएको क्षेत्रमा गुठी जग्गा पर्ने स्थानका २३ वटा घडेरीमा स्थानीयले भोगचलन गर्दै आएको समेत किराँती आफैले कुरा खोलेका छन् ।
गुठिपरिषरमा षडानन्दले रोपेका रुद्राक्षका दानाबाट बार्षिक हुने लाखौ कमाई हुने र गुठी संरक्षण र समग्र मन्दिरको विकास एवं विस्तारमा ठुलो टेवा मिल्ने भएपनि रुद्राक्षको सञ्चालक समितिले निगरानी राख्न नसक्दा उत्पादनको अनुपातमा कम आम्दानी हुने गरेको स्थानीयहरुको गुनासो रहेकोछ । ‘गुठीको आयव्याय कति छ वैंकमा जम्मा भएको छैन आम्दनी भएको पनि प्रतिव्यक्ति ५० देखि १ लाख सम्मा व्यक्तिले नै राखेको छ, मनोमानी तरिकाले हिनामिना गरेको छ, राजाकालिन समयमा गुठी स्थापना हुदै कसरी व्यवस्थित गरेर लैजाने सारा लिखित व्यवस्था मसंग प्रमाण छ, जव जनताको हातमा गुठी पुग्योे त्यसपछि के गर्ने कसो गर्ने भयो्, त्यस कारण पनि समस्या भएको छ,’स्थानीय तोयानाथ गौतमले बताए । गुठीको नाममा रहेको जग्गा गुपचुप अधिकरणले थप संकटमा पर्दै गएको छ । समितिमा दिलकुमार राई अध्यक्ष हुदाँ गुठीको जग्गामा घर बनाउन रोक लगाइएको भएपनि किशोर किरात अध्यक्ष भएपछि धमाधम घर बन्न थालेका उनीहरुको आरोप छ । उनले रसिद काटेरै गुठीको जग्गाभित्र घर बनाउने अधिकार दिएका बताइएको छ । रसिद दिएर घर बनाउँदा जग्गाको धनीपूर्जा दिए सरह हुने शर्त छ । तर किरातले भने बार्षिक भाडा उठाउने शर्तमा अस्थायी मात्र घर बनाउन दिएको दावी गरेका छन् ।
१ सय ८२ वर्षअघि जन्मेका आवाल ब्रम्हचारी षडानन्दले सन् १८७९ मा देशकै पहिलो संस्कृत पाठशाला खोली शिक्षाको प्रचार सुरु गरेका थिए । संस्कृत पाठशालामा तत्कालिन समयमा भुटान, सिक्किम र पश्चिमी नेपालका विद्यार्थी समेत गुरुकुल शिक्षा आर्जन गर्न आउथे । उनले राणा शासनका समयमा व्याप्त सती प्रथा र जातिय भेद विरुद्ध आवाज उठाएका थिए । दिङ्गलामा मठ मन्दिर, बगैचा, गुठीको स्थापना, हाटबजारको व्यबस्था गरेका थिए । उनैले स्थापना गरेको गुठी परिसरमा रामचन्द्र, नर्मदेश्वर, शिवालय र पशुपतिका ४ वटा मन्दिर जीर्ण अवस्थामा छन् । बगैचामा १ सय ८ प्रजातीका बोटविरुवा रहेको मान्यता रहदै आएको छ । मुख्य आम्दानी स्रोत मानिने रुद्राक्ष दाना पहिलोपटक षडानन्दले नै रोपकेको र उनैको पालादेखी बहुमुल्य रुपैयामा किनबेच हुन थालेको मानिन्छ । भारतको बनारसका जोगीहरु पनि रुद्राक्ष किन्न धरान धनकुटाको बाटो हुँदै दिङ्गला आउने गरेकाले उनैको पालादेखि भोजपुर व्यापारिक जिल्लाका रुपमा परचित हुदै आएको भनाइ छ ।
उनै समाज सुधारक षडानन्दको योगदानमाथि सञ्चालक समितिले बेवास्ता गरेर उनको कदमप्रति कुठाराघात गरिरहेको सर्वसाधारणको गुनासो छ । सरसफाई र संरक्षणको अभावले कुरुप बन्दै गएको छ । बजारबासीको फोहोरमैला थुपार्ने डम्पिन साइडका रुपमा प्रयोग गर्ने गरेकाले दुर्गन्धित र अशोभनिय बढ्दै गएको छ । बजारमा रहेको रानीपोखरी ढलनिकास गर्ने भकारी जस्तै बनेको छ ।
यता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले भने यस विषयमा कुनै जानकारी नआएकोे र जानकारीको लागि इलाका प्रशासन कार्यालयमा प्रतिवेदन माग गरेको जनाएको छ । प्रतिवेदन आएपछि मात्र जानकारी गराउने र अव षडानन्द नगरपालिकाले गुठीको विषयमा निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी चेम्जोङ्गले बताइन ।