चितवनः पुनःमतदान सकिएपछि रेणु दाहाल भरतपुरको मेयर हुनेमा विश्वस्त छिन् । उनले समर्थकहरुलाई आश्वस्त पार्दै ‘पहिलेको भन्दा धेरै सुधार’ भएको बताइन् ।
दाहालजस्तै उपमेयर पदका उमेद्वार पार्वती शाह पनि आफ्नो पक्षमा मत बढी खसेकोमा विश्वस्त छिन् । शाहले भनिन्, ‘सबै कांग्रेसले रेणु दाहाललाई मत दिएका छन्, अब दिदीबहिनी भएर महानगरको विकास गर्ने हो ।’
हुनपनि, कांग्रेस नेतृ शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल यो दुई महिनाको अवधिमा १९ नम्बर वडाका प्रत्येक घर पुगेकी छन् । ‘पहिले कांग्रेस समर्थकहरुले रेणुलाई भोट हाल्ने अवस्था थिएन तर, दुई महिनाको अवधिमा त्यो अवस्था सुधार भएको छ’, शाहले भनिन् ।
भरतपुरमा माओवादी केन्द्रबाट दाहाल मेयर र कांग्रेसबाट शाह उपमेयरका उमेद्वार छन् । तर, कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानललाई नेकपा एमालेका उमेद्वार देवी ज्ञवालीले पछि पारेपछि माओवादीले मतपत्र च्यातेका थिए ।
मतपत्र च्यातेलगत्तै दाहाल र शाह भोट माग्न हिड्न थालिन् । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘शुरु–शुरुमा रेणुलाई जय नेपाल सिकाउँदैमा हैरान भइयो ।’ कांग्रेस कार्यकर्तालाई लालसलाम भनेर भोट माग्नु हुँदैन भनेर सिकाएपछि बल्ल रेणु जय नेपाल भन्न थालेको ती नेताले बताए ।
‘मतपत्र च्यातेपछि फेरि मतदान हुन्छ भन्नेमा पूर्ण विश्वास थियो, त्यसैले दुई महिनासम्म रेणुलाई जय नेपाल भन्न लगाएर घरघर लगियो’, ती नेता भन्छन् । कांग्रेसका शाहको जित सुनिश्चित भइसकेको छ ।
उनले एमालेका उमेद्वार दिव्या शर्मालाई निकै मतान्तरले पछि पारेकी छन् । १९ र २० नम्बरको सबै मतले पनि शाहलाई जित्ने अवस्था छैन । तर, मेयरमा भने मतपत्र च्यात्नुअघिसम्म एमालेका ज्ञवाली ७८४ मतले अगाडि थिए । जबकी, यो परिणामले ज्ञवालीको जित निश्चितजस्तै भइसकेको अनुमान थियो ।
यसपछि, माओवादी केन्द्रका प्रतिनीधिले मतपत्र च्याते । निर्वाचन आयोगले पुनःमतदानको निर्णय लियो । तर, सर्वोच्चमा रीट दायर भएपछि यो निर्णय रोकिएको थियो । अन्ततः सर्वोच्चले समेत पुनःमतदानको निर्णय फैसला सुनाएपछि शुक्रबार भरतपुर १९ मा पुनःमतदान भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले समेत हसियाँ हथौडामा अनिवार्य भोट हाल्न ह्वीप जारी गरेकाले पनि चुनाव जित्नेमा रेणु विश्वस्त छन् ।
मतदानपछि एमालेका उमेद्वार ज्ञवालीले भने राज्यसत्ताले अन्याय गरेपनि आफूलाई जनताले न्याय दिएको बताएका छन् । पहिलेको भन्दा २७ मत कम खसेको भरतपुरमा पुनःमतदान सकिएलगत्तै गणनाको तयारी भइरहेको छ ।